0
कास्की जिल्लाको उत्तर–पश्चिममा अवस्थित दाङ्गसिङ्ग–मोहोरिया गाउँमा रहेको श्री उमा माध्यमिक विद्यालयलाई स्पेनको एक दातृ निकायले आर्थिक सहयोग गरेको छ । स्पेनको बास्क कन्ट्री स्थित पब्लोस डेल सुर नामक दात्रृ निकायले मिति २०७२ भाद्र ८ गते मंगलबार उक्त विद्यालयलाई दुई लाख ६० हजार रुपैयाँ नगद सहयोग गरेको हो । पब्लोस डेल सुर, स्पेनका तर्फबाट तिलबहादुर गुरुङ्ग (तिलक) ले उमा मा.वि.का प्रधानाध्यापक बुद्धिबहादुर गुरुङ्गलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गर्दै सहयोगी संस्थाको तर्पmबाट तिलबहादुर गुरुङ्गले उक्त सहयोग विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि गरिएको जानकारी दिए । साथै, उनले सहयोग रकमको पूर्ण रुपले सही सदुपयोग हुने विश्वास पनि व्यक्त गरे । विद्यालयका प्र.अ. बुद्धिबहादुर गुरुङ्गले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि सहयोगी संस्थाबाट विगतमा जस्तै अझ बढी सहयोगको अपेक्षा गरे । त्यस अवसरमा तत्कालिन परियोजना सम्पर्क व्यक्ति आशबहादुर गुरुङ्गको साथै स्थानीय समाजसेवी एवम् कम्युनिटी सपोर्ट ग्रुपका अध्यक्ष मनोज गुरुङ्ग समेत उपस्थिति रहेको थियो । समाजसेवी मनोज गुरुङ्गले जिल्ला शिक्षा कार्यालय, कास्कीको आर्थिक सहयोगमा उक्त विद्यालयमा भूकम्प प्रतिरोधात्मक ६ कोठे नयाँ भवन बन्न लागेको समेत जानकारी दिए । स्मरण रहोस्, विगत लामो समय देखि स्पेनमा बसोबास गर्दै आएका स्थानीय शिक्षासेवी तिलबहादुर गुरुङ्ग (तिलक) को पहलमा पब्लोस डेल सुरले यस भन्दा अघि पनि सो विद्यालयलाई जग्गा खरिद तथा पक्की भवन निर्माणका लागि एक करोड रुपैंयाँ भन्दा बढीको सहयोग गरिसकेको छ । यस बाहेक पब्लोस डेल सुरले सन् २००३ देखि दाङ्गसिङ्ग गा.वि.स.का विभिन्न विद्यालय हरुमा अध्ययनरत एक सय भन्दा बढी न्यून आयस्तर भएका जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।


Post a Comment

 
Top