0
गोल्डेन न्यूज संवाददाता 
नयाँ बन्ने संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चितताको माग राख्दै नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदले कडा अन्लोननको कार्यक्रम तयारी गरेको छ । जसअन्तर्गत परिषद्ले यहि भदौ ६ र ७ गते नेपाल बन्दको आव्हान गरेको छ । आदिवासी जनजाति महासंघ कास्कीद्वारा शुक्रवार पोखरामा पत्रकार सम्मेलन गरी पहिचान र सार्मथ्यको आधारमा राज्य पुनर्संरचना गरी यस क्षेत्रलाई तमुवान प्रदेश घोषणा गर्नुपर्ने, धर्म निरपेक्षता कायम हुनुपर्ने, समानुपातिक समावेशिता सुनिश्चितता सहितको संविधान निर्माणको मागसहित नेपाल बन्द आव्हान गरिएको जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्तीले जानकारी दिए । यसैगरी नेपाल सरकारले आदिवासी जनजातिसँग विगतमा गरेको २० र ९ बुँदे सहमति अनुसार संविधान निर्माण, नेपालले हस्ताक्षर गरेको अन्तराष्ट्रिय महासन्धिहरुको भावना अनुसार संविधान बनाउनु पर्ने, आदिवासी जनजाति आयोग गठन गर्नुपर्ने, तमुवानमा तमु लगायतका भाषाभाषीलाई कामकाजी भाषाको व्यवस्था गर्नुपर्ने लगायतको माग गर्दा पनि संविधान निर्माणको क्रममा बेवास्ता गरिएकाले बाध्यताबस नेपाल बन्द आव्हान गर्नुपरेको अध्यक्ष घर्तीले बताए । दुई दिने नेपाल बन्दका लागि शनिबार पोखराका लखनचोक, सीतलादेवी र बगर पिएन क्याप्पस गेटबाट मसाल जुलुस गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो भने । पोखराको अलवा आदिवासी जनजाति महासंघ लेखनाथ नगर समन्वय परिषद र हेम्जा समन्वय परिषदले पनि बन्दको आव्हान गर्दै मसाल जुलुस गर्ने तयारी भएको अध्यक्ष घर्तीको भनाई थियो । बन्दलाई सफल बनाउन कास्कीका आदिवासी जनजाति संघ संस्था, विभिन्न राजनीतिक पार्टीका जातिय मोर्चा संगठनहरु लगायत आदिवासी जनजाति अधिकारकर्मीहरु रहेको महासंघ कास्कीको अध्यक्ष पानबहादुर भुजेलको अध्यक्षतामा ५ सय १ सदस्यीय आन्दोलन समिति, ३१ सदस्यीय सचिवालय र १० सदस्यीय स्टेरिङ कमिटि क्रियाशील रहेको पत्रकार सम्मेलनमा बताइएको थियो । भदौ ६ र ७ गतेको बन्द बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म आयोजना गरिने र बन्दमा प्रेस, एम्बुलेन्स, पानी,  दूध, कुटनीतिक नियोग, पर्यटकको यातायातको साधनलाई छुट रहेको बताईएको छ ।  आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्तीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको संचालन सचिव पूर्ण लामाले गरेका थिए । यसैबीच बन्दलाई सफल बनाउन शुक्रवार नै तमु धिं नेपाल, नेपाल मगर संघ कास्की, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद कास्की र नेपाल तामाङ धेदुङ कास्कीको भिन्दा भिन्दै तयारी भेला सम्पन्न भएको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समिति तमुवानका प्रवक्ता दिपक तामाङले जानकारी दिए । यसैबीच पोखरा उद्योग वाणिज्य संघले सम्पूर्ण खाले बन्द र हड्तालका कार्यक्रमहरु फिर्ता लिन सरोकारवालाहरुसँग माग गरेको छ । संघका महासचिव रवीन्द्रबहादुर प्रजुद्वारा शुक्रबार जारी विज्ञप्तिमा प्रस्तावित क्षेत्र नम्बर ४ लाई लक्षित गरी भदौ ६ र ७ गते बन्द आह्वान गरिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै सो कार्यक्रम फिर्ता लिन माग समेत गरिएको छ । संविधान निर्माणको क्रममा देखिएको विमति र सिमाङ्कनलाई लिएर भएको बन्द र हड्तालका श्रृंखलाले नागरिकको दैनिक जीवन कष्टकर भएको उल्लेख गर्दै विज्ञप्तिमा बन्द र हड्तालको मार देश तथा निजी क्षेत्रले धान्नै कठिन भएको जनाइएको छ । पोखरा उद्योग बाणिज्य संघ समान अवसर र अधिकारको पक्षपाति हो । तर, अधिकार खोज्दा अर्काको अधिकारको ख्याल  गर्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । हामी बन्द र हड्तालको हैन, वार्ता, सहमति र सहकार्यका हिमायति हौं’m विज्ञप्तिमा भनिएको छ ‘जायज मागहरु राख्ने वैकल्पिक  बाटो हुँदाहुँदै  बन्द र आमहड्तालमा उत्रने परिपाटीको अन्त्य अहिलेको आवश्यकता हो ।’ भूकम्प पछिको पुनर्निर्माणको बेला भएका बन्द र हड्तालका कार्यक्रमहरु क्षम्य नभएको जनाउँदै विज्ञप्तिमा देशको अर्थतन्त्र र नागरिकको दैनिक जीवनप्रति गम्भीर हुन पनि आग्रह गरिएको छ ।


Post a Comment

 
Top