0
गोल्डेन न्यूज संवाददाता
बाग्लुङमा कवि तीर्थ श्रेष्ठका कविताहरु गुञ्जने भएका छन् । प्रभु बैंक र पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा भदौ पाँच गते कवि श्रेष्ठको एकल कविता वाचन हुने भएको हो ।  यसअघि जेठ महिनामै हुने एकल कविता वाचन भूकम्प तथा श्रेष्ठको पारिवारीक समस्याका कारण रोकिएको थियो । बाग्लुङ बजारमा भदौ पाँच गते विहान ११ बजे सुरु हुने श्रेष्ठको एकल कविता वाचनको तयारी अन्तिम चरणमा रहेको आयोजक प्रभु बैंकले जनाएको छ । नेपाली जनजीवनका आरोह(अवरोह र संवेदनालाई सरल र सरस ढंगले कवितामा उतार्ने कवि श्रेष्ठले एकल कविता वाचनमा झण्डै ३० वटा कविता सुनाउनेछन् । कविता मार्फत नै नेपाली साहित्यमा स्थापित पोखरेली कवि श्रेष्ठका कविता सुन्नका लागि बाग्लुङ, पर्वत, म्याग्दी, कास्की लगायतका जिल्लाबाट साहित्य प्रेमीहरु उपस्थित हुने आयोजकले जानकारी दिएको छ । कवि श्रेष्ठ मोफसलमै बसेर राष्ट्रिय स्तरमा चिनिएका कवि हुन् । वि.स. २०१६ सालमा जन्मेका कवि श्रेष्ठका ‘तीर्थ श्रेष्ठका कविताहरू’, ‘जिन्दगीको कुरुक्षेत्र बाट’, ‘पाइलाका निबहरूले’, ‘महाभारतको गीत’ र ‘मेरै हिमालजस्तो’ लगायतका कृति प्रकाशित भएका छन् । ‘प्रेमको पुस्तक’ नामक कविता संग्रह प्रकाशोन्मुख छ भने थुप्रै फुटकर कविता, मुक्तक, गीत विभिन्न विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । पोखरेली युवा सांस्कृतिक परिवारका सल्लाहकार समेत रहेका र वरिष्ठ संस्कृतिकर्मीको रुपमा समेत चिनिएका कवि श्रेष्ठ नेपालीपनका कविका रुपमा परिचित छन् । थुप्रै पुरस्कारद्वारा पुरस्कृत कवि श्रेष्ठले आफूले कहिल्यै पनि कवि हुन्छु भनेर कविता नलेखेको बताउँछन् । श्रेष्ठका ‘लाहुरे फुल ! म तिम्रो नाम फेर्न चाहान्छु’, ‘आमा’, ‘बाघ’, ‘कविहरु र सत्ता’, ‘प्रेमको पुस्तक’, ‘असमर्थ राजधानी शहर’, ‘नाङ्गाहरुको देश’ लगायतका थुप्रै कविता बहुचर्चित छन् ।

Post a Comment

 
Top