0
गोल्डेन न्यूज संवाददाता
एकपछि अर्को गरी भएका बन्दबाट वाक्क भएपछि पश्चिमाञ्चल होटल संघ पोखराले बन्दको विकल्प खोज्न बन्द आयोजकसँग आग्रह गरेको छ । संघका अध्यक्ष भरतराज पराजुलीले शनिवार एक विज्ञप्ति जारी गरी लगातारका बन्दले पर्यटन व्यवसाय नै धरासायी हुने अवस्थामा पुगेको बताउँदै सिंगो अर्थतन्त्रलाई नै धक्का पुग्ने गरी आयोजना गरिएका बन्दको विकल्प खोज्न आग्रह गरेका हुन् । भूकम्पले थिलो थिलो पारेको पर्यटनलाई बन्दका कारण झन् उठ्नै नसक्ने अवस्थामा पुर्याउँछ, अध्यक्ष पराजुलीले भने– विरोधका अन्य स्वरुपहरु अँगालेर पनि आफ्ना मागहरु राख्न सकिन्छ । बन्दका कारण उद्योगी, व्यापारी, मजदूर र सर्वसाधरण जनता समेत प्रत्यक्ष मारमा पर्ने जनाउँदै  पराजुलीले यसप्रकारका बन्द सदाका लागि अन्त्य गरी देशलाई समृद्धिको बाटोतर्फ अगाडि बढाउन जरुरी भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । अहिले भूकम्पका कारण न्यून आगमन भए पनि पोखरामा वार्षिक कूल सात लाखको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक भ्रमणका लागि आउने गरेका छन् । यस्तो भ्रमण नेपालका अन्य पर्यटकीय शहरमा समेत हुने गरेका छन् । पर्यटकलाई भ्रमणका लागि निश्चित वातावरण चाहिनेमा कुनै द्विविधा छैन । उनीहरु समय र स्थान अनुसार तालिका बनाएर आफ्नो भ्रमण अगाडि बढाउने गर्छन् । तर बन्दका कारण पर्यटकको भ्रमण तालिका नै खल्बलिने संघले जनाएको छ । पुनः पछिल्लो पटक जिम्मेवार पक्षबाट देशव्यापी बन्द, हड्ताल र आन्दोलनका कार्यक्रम आव्हान गरिएको खवर संचार माध्यममा सार्वजनिक हुँदा हामी चिन्तित भएका छौं, संघले बताएको छ । अब पर्यटनको सिजन पनि सुरु हुन लागेको छ । यही सिजनको मुखमा आएर आव्हान गरिएको बन्द र हड्तालका कार्यक्रमले पर्यटन क्षेत्रमा भएका बुकिङहरु रद्ध हुने क्रम बढ्ने त्रास बढेको संघले जनाएको छ । यस्तो बन्द र हड्तालले भ्रमणका लागि पर्यटक आउने वातावरण समेत ध्वस्त पान बतााइएको छ ।  विगतमा अन्नपूर्ण फेरोमा आइपरेको हिमआँधीको त्रासदी, नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानसथलमा टर्किस एयरको जहाजले अवरोध पु¥याउँदा विदेशबाट पर्यटक आउने क्रम केही दिनका लागि ठप्प जस्तै भएको अवस्था  लगायतका कारणले समेत नेपाल र पोखरा आउने पर्यटक दर कम भएको अवस्थामा बन्द र हड्तालका कार्यक्रमले झनै नकारात्मक प्रभाव पार्नेमा दुई मत नहुने संघले स्मरण गराएको छ । उल्लेखित सम्पूर्ण अवस्थालाई ख्याल गर्दै पश्चिमाञ्चल होटल संघ पोखरा सबै दल र पक्षहरुसँग बन्द र हड्तालका कार्यक्रम फिर्ता लिन पुनः अनुरोध गर्दै त्यस्ता कार्यक्रमको विकल्प खोजी आपसी सहमति र सहकार्यबाट संविधान निर्माणको कामलाई द्रूतता प्रदान गरी नेपालमा पूर्ण शान्ति स्थापना गर्दै पर्यटनका माध्यमबाट समृद्धि सिर्जना हुने अवस्था निर्माणका लागि हार्दिक आग्रह गर्दछौं । संघका अध्यक्ष पराजुलीले आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अनुसार एक दिनको बन्दले साढे दुईदेखि तीन अर्ब रुपैयाँको नोक्सानी हुने गरेको छ । नेपालको कूल ग्राहस्त उत्पादन नै १९ खर्व ३० खर्व रुपैयाँ हाराहारीको मात्र भएको अवस्थामा यस्ता बन्दले अर्थतन्त्रमा प्रत्यक्ष नकारात्मक असर पर्ने संघको भनाई छ । नेपाल प्रहरीका अनुसार २०६७ साल यता पाँच वर्षमा कूल आठ सय ६६ पटक बन्द तथा हड्तालका कार्यक्रम भइसकेका छन् ।

Post a Comment

 
Top