गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको “विशेष नवजात शिशु” (एनआई सिसियु) कक्षलाई २८ लाख रुपैयाँ मूल्य बराबरको आधुनिक उपकरण प्रदान गरेको छ । पश्चिमाञ्चल क्षेत्रका जनतालाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको भएतापनि समयानुकुल अत्याधुनिक प्रविधिको विकासमा गतिलिन नसक्दा नागरिकले विविध समस्या झेल्दै आएका थिए । अस्पतालमा उक्त परिमाणको उपकरण प्रदान गरेपछि सो कक्षमा यसअघि भएका समस्याको समाधान हुने र सर्वसाधारणले भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास न्यूरोड चौतारी लायन्स क्लवको छ । पश्चिमाञ्चल क्षेत्रका नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ सरकारले २०१२ सालमा स्थापना गरी सञ्चालन गर्दै आएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ‘विशेष नवजात शिशु कक्ष’ का लागि अत्याधुनिक उपकरण नहुँदा नवजात शिशुहरुको अकालमै ज्यान जाने गरेकाले उक्त उपकरण प्रदान गरिएको लायन्स क्लव अफ न्यूरोड चौतारीका अध्यक्ष दीपकराज घिमिरेले गोल्डेन न्यूज दैनिकलाई बताए । क्लवले भियतनामको यम टिटियस कम्पनीद्वारा उत्पादित अत्याधुनिक उपकरण खरिदगरि अस्पताललाई प्रदान गरेको उनले बताए । उक्त उपकरण अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्राप्त हो । भियतनामको एमटिटियस नामक कम्पनीले आफ्ना उत्पादित उपकरणहरुको प्रयोग विधि, प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, मर्मत सम्भार, प्रयोग विधिलगायतका बारेमा कम्पनीका निर्देशक एवं बजार प्रबन्धक ग्रीगोरी डेजरले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र पोखराका विभिन्न अस्पतालहरुमा कार्यरत १९ जना बालरोग विशेषज्ञलाई तीन दिनसम्म प्रशिक्षण प्रदान गरेपछि उक्त उपकरण प्रदान गरिएको पत्रकार एवं क्लवका पूर्व अध्यक्ष नरहरि पौड्यालले बताए । उपकरण हस्तान्तरण पछि बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.श्रीकृष्ण श्रेष्ठले विविध समस्याका कारण अस्पतालमा आफूहरुले चाहे अनुसार समयानुकुल परिवर्तन गर्न नसकेको स्वीकार गरे । पक्षे अस्पताल क्षेत्रीय स्तरको भएपनि सरकारको अदूरदर्शिता, अस्पष्ट नीति, नियम कानूनको कार्यान्वय र आर्थिक अभाव लगायतका कारण अत्याधुनिकरण हुन नसकेको जनगुनासो समेत रहँदै आएको छ । अस्पतालको स्तरवृद्धिका लागि अस्पताल विकास समिति र प्रशासनले आवश्यक पहल र समन्वय गरेको भएपनि सुधार हुन नसकेको सुपरिटेन्डेण्ट श्रेष्ठले बताए । उनले भने–‘अस्पतालको भौतिक पूर्वाधार निर्माण तथा अत्याधुनिक प्रविधिमार्फत उपचारका लागि पटक–पटक सम्वन्धित निकायमा आवश्यक पहल पनि हुँदै आएको छ । तर उक्त पहल बेवास्ता गरिंदा समस्या ज्यूँका त्यूँ रहँदै आएको छ । अत्याधुनिक उपकरणको अभावमा दैनिक रुपमा नवजात शिशुलाई सुबिधायुक्त ठाउँमा पठाउनुपर्ने बाध्यता रहेको समेत श्रेष्ठले बताए । सुविधा सम्पन्न स्थानमा पुग्न समय र पैसा खर्च हुने हँुदा धेरै शिशुको मृत्यु समेत हुने गरेको भन्दै डा. श्रेष्ठले लायन्स क्लब अफ न्यूरोड चौतारीले अत्याधुनिक प्रविधिका उपचार उपकरणहरु उपलब्ध गराएर महत्वपूर्ण सहयोग गरेको बताए । एनआई. सिसियू वार्डलाई अत्याधुनिकरण गर्न भियतनामको मेडिकल टेक्नोलोजी ट्रान्सफर सर्भिस लिमिटेड कम्पनीका अत्याधुनिक उपकरणले धेरै बिरामीलाई सुविधा पुगेको छ ।’ उनले भने–‘यस कार्यले अस्पतालमा कार्यरत डाक्टर, नर्स र प्राविधिकहरु मा समेत उत्साह थपिएको छ । गरिब र निमुखा बिरामीहरु जो अत्याधुनिकरण सेवाबाट वञ्चित थिए उनीहरुका लागि वरदान जस्तो भएको छ ।’ अस्पताललाई उपकरण उपलब्ध भएसंगै पश्चिमाञ्चल क्षेत्रका हजारौं नवजात शिशुहरुको जीवन बचाउन सहज भएको डा. श्रेष्ठले बताए । त्यस अवसरमा बोल्दै लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका गभर्नर धुव्र थापाले निःस्वार्थ भावनाले नेपालमा समाज सेवाका स्वास्थ्य, शिक्षा, वातावरण, जतचेतना, अभिबृद्धि, सरसफाई, र अकस्मात आइपर्ने महाविपत्ति लगायतका जनउत्तरदायी कार्य लायन्सले गरिरहेको बताए । उनले मानवीय भावना र समवेदनावाट अभिप्रेरित भई उद्धार र उत्थान कार्यमा अग्रपंक्तिमा रहेर सामाजिक उत्तरदायित्व वोध गर्दै लायन्सहरुले काम गरिरहेको स्पष्ट पारे । जिम्मेवारी र उत्तरदायित्व बोधका साथ पोखरा न्यूरोड चौतारीले कार्य गर्दै आएको भन्दै गभर्नर थापाले डिष्ट्रिक्टमा नै स्मरण योग्य, ठूलो आर्थिक लगानीमा महत्वपूर्ण कार्य क्लवको अगुवाईमा सञ्चालन हुनुले न्यूरोड चौतारीको समाजप्रतिको जिम्मेवारी र दायित्व प्रष्ट भएको बताए । पक्षे अस्पतालको एनआई सिसियू कक्षलाई अत्याधुनिकरण गर्न क्लवले भियतनामको एमटिटिएस कम्पनीसंगको सहकार्यमा गुणस्तीरय अत्याधुनिक उपकरण उपलब्ध गराएर नवजात शिशुको जीवन बचाउन महत्वपूर्ण कार्य गरेको भन्दै उनले आर्थिक रुपमा ठूलो महत्वाकांक्षी योजना सञ्चालन हनु सुखद् भएको बताए ।क्लवका अध्यक्ष दिपक घिमिरेले क्षेत्रीय अस्पतालमा प्रदान गरेका उपकरणले हजारौं शिशुको जीवन बचाउन सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । अस्पतालका डाक्टर, नर्स र प्राविधकहरु लगायत धेरै क्षेत्रबाट समेत मुक्तकण्ठले प्रशंसा भएको भन्दै अध्यक्ष घिमिरेले नवजात शिशुका अभिभावकले अत्याधुनिक उपकरणका कारण आफ्नो बच्चाको जीवन बचाई दिएको भनि फोन गरेर धन्यवाद दिएको बताए । कम्पनीद्वारा उत्पादित उपकरण थाइल्याण्ड, मलेसिया, सिङ्गापुर, इटाली, अमेरिका, युरोप र एशियाली मुलुकहरुमा उपलब्ध गराएको बताउँदै कम्पनीका नेपाल प्रमुख कुशल थापाले विशेषगरि कम विकसित र विकासोन्मुख मुलुकहरुको स्वास्थ्य अवस्थालाई सुदृढ गर्न कम्पनीले सहुलियत मूल्यमा उपकरण प्रदान गर्ने गरेको बताए । उपकरणको अभावमा नेपालका क्षेत्रीय अस्पताल, अञ्चल, जिल्ला अस्पताल र ग्रामिण भेगमा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रमा नवजात शिशुको मृत्युदर उच्च रहेको भन्दै उनले नेपालका स्वास्थ्य संस्थाहरुलाई अत्याधुनिक रणका लागि सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । एमटीटीएस कम्पनीद्वारा उत्पादित उपकरण हालसम्म विश्वका २२ भन्दा बढी मुलुकहरुमा उपलब्ध गराएको र उक्त कम्पनीलाई २०१३÷०१४ मा बेस्ट अवार्डबाट अमरिकी फष्ट लेडी मिकेल ओवामाद्वारा सम्मान गरिएको समेत थापाले जानकारी दिए ।
Post a Comment