गोल्डेन न्यूज संवाददाता
प्रधानमन्त्री सुशील कोइरालाले टीकापुरमा गम्भीर र दुःखपूर्ण घटना भएको बताएका छन् । व्यवस्थापिका–संसद्को बैठकमा उनले शान्ति, विकास र लोकतन्त्रको स्थायित्वका लागि मुलुक अघि बढिरहेको र संविधानको बारेमा सारा नेपाली चिन्तित रहेको अवस्थामा यस्तो दुःखद घटना हुनु दुर्भाग्यपूर्ण भएको बताए । महिला, आदिवासी जनजाति, मधेसीलगायतले उठाएका सवै मागलाई पूरा गर्न नसकिए पनि मुख्य मुख्य मागलाई सम्बोधन गर्ने प्रयास भइरहेको बताउँदै प्रधानमन्त्री कोइरालाले भने–“कैलालीको टीकापुरमा घटनाले सबैलाई अत्यन्त संवेदनशील तुल्याएको छ, ।” संविधान नआओस् भनेर केही पक्षबाट बिथाल्ने प्रयास पनि भइरहेको छ, २००७ सालदेखि उठेको विषय ६५ वर्षपछि पूरा गर्ने अभियानमा हामी लागिरहेका छौँ भन्दै प्रधानमन्त्री कोइरालाले संयम र धैर्यका साथ मुलुकमा आइपरेका समस्यालाई सम्बोधन गरेर जाने अभियानमा सहयोग पु¥याउन आह्वान गरे । प्रधानमन्त्री कोइरालाले उत्तेजना होइन, साम्प्रदायिक र धार्मिक सद्भाव कायम गर्न आग्रह गरे । प्रधानमन्त्रीले बोल्नुअघि कैलाली घटनाबारे उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले संसदमा जानकारी गराएका थिए । उनले कैलालीमा योजनाबद्ध र नियोजित रुपमा सुरक्षाकर्मीमाथि आक्रमणको घटना भएको उल्लेख गर्दै मुलुकका अन्य भागमा पनि के हुने हो भन्न नसकिने अवस्था रहेको उल्लेख गरे । यही स्थितिलाई ध्यानमा राखेर सवै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई स्थानीय प्रशासन ऐन अनुसार दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गर्न निर्देशन दिने निर्णय भएको गौतमले संसदलाई जानकारी गराए । ‘विगतका केही दिनमा यो सदन प्रयोग भएको छ’ गृहमन्त्री गौतमले भने,–‘यो स्थिति आउने गरी सदन प्रयोग नहोस ।’ संविधान जारी गर्ने अन्तिम अवस्थामा उपलब्धिलाई निस्तेज पार्ने गरी घटना भएको गौतमले उल्लेख गरेका छन् । थरुहट आन्दोलनका प्रतिनिधि, अखण्ड सुदूरपश्चिमका प्रतिनिधि र विभिन्न पार्टीका प्रतिनिधिसमेतको बैठक प्रमुख जिल्ला अधिकारीको कार्यालयमा आइतबार बैठक बसेर उत्तेजना फैलन सक्ने र जातीय सद्भाव विपरितको प्रचार नगर्ने शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रम राख्ने सहमति भएको गृहमन्त्री गौतमले जानकारी दिए । तर सोमबार त्यो भन्दा फरक स्थिति टीकापुरमा देखा परेको गौतमले जानकारी दिए । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै अघि बढ्ने क्रममा एकैपटक प्रहरीलाई प्रदर्शनकारीले घेराबन्दीमा पारेर आक्रमण गरेको गौतमले बताए । रौतहटको गौर, सर्लाहीको मलंगवामा लगायतमा पनि स्थिति बिग्रेकाले दंगाग्रस्त क्षेत्र घोषण गरी सेना परिचालन गरिएको बताए ।
Post a Comment