पोखराको चिप्लेढुङ्गामा रहेको पोखरा ट्रेडमल भित्र महिला र पुरुषहरुका लागि सुविधा सम्पन्न व्युटि पार्लर संचालनमा आएको छ । सृजनाचोकमा झण्डै दुई दशकदेखि कपाल काट्ने काम गर्दै आएका सुरेन्द्र ठाकूरले नयाँ र सुविधा सम्पन्न पार्लर संचालनमा ल्याएका हुन् । सुन्दर हेयर एण्ड व्युटि नामको उक्त व्युटिपार्लर संचालनका लागि २५ लाख रुपैयाँ लगानी भएको र ३ जना महिला र ३ जना गुरुङले सेवा प्रदान गर्ने संचालक सुरेन्द्र ठाकूरले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । बिहीबार आयोजित एक समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले उक्त पार्लरको उद्घाटन गरेका थिए । त्यस अवसरमा बोल्दै उनले पोउवासंघले सेवा दिने व्यवसाय संचालन गर्नेहरुलाई पनि संघको सदस्यता दिन थालेको बताए । पोखरा ट्रेड मलका अध्यक्ष समेत रहेका थापाले ट्रेड मल भित्र सुविधायुक्त ह्याण्डसम तथा व्युटि पार्लरको आवश्यकता पूरा गर्न पार्लर सफल हुने विश्वास व्यक्त गर्दै पोखरा क्षेत्रमा संचालित सैलुनहरु एउटै दिनमा बन्द गर्नु भन्दा क्षेत्र छुट्याएर फरक–फरक दिनमा बन्द गरे सेवाग्राहीले नियमित रुपमा सेवा पाउन सक्ने बताए । नेपाल नाइ संघका पश्चिमाञ्चल अध्यक्ष बलिराम ठाकूर, संघका कास्की जिल्ला अध्यक्ष बिगुलाल ठाकूर र क्षेत्रीय सचिव भुनेषकुमार ठाकूरले पोखरामा नाइ पेशा गर्नेहरुले पुरुष र महिलाका लागि एकै ठाउँमा राम्रो सेवा प्रदान गर्ने किसिमको नयाँ पसल संचालनमा आउँदा खुशी लागेको बताए । उनीहरुले गुणस्तरीय सेवालाई पैसामा तुलना नगर्न समेत आग्रह गरे । कार्यक्रममा राष्ट्रिय समाचार समितिका बोर्ड सदस्य तथा गोल्डेन न्यूज दैनिकका प्रधान सम्पादक गंगाधर पराजुलीका साथै सुनौलो एफएमका अध्यक्ष सकुन्तला कोइराला, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल, सुनौलो एफएमका स्टेशन इन्चार्ज कञ्चन थापा लगायतले सञ्चालक ठाकूरलाई शुभकामना दिएका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment