0
गोल्डेन न्यूज संवाददाता
नवनियुक्त पर्यटन, नागरिक तथा उड्डयन सचिव दिनेशकुमार थपलियाले पर्यटन क्षेत्रलाई उद्योगको रुपमा मान्यता प्रदान गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि पश्चिमाञ्चल क्षेत्रीय प्रशाशन कार्यालय पोखराको प्रमुखको रुपमा रहेका थपलिया हालै पर्यटन सचिवमा नियुक्त भएपछि पश्चिमाञ्चल होटल संघ पोखराले उनको स्वागत तथा बिदाईमा बुधबार एक कार्यक्रमको आयोजना गरेको थियो । संघका अध्यक्ष भरतराज पराजुलीले थपलियालाई खादा र फूलमालाले सम्मान गर्दै कदरपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै सचिव थपलियाले अर्थतन्त्रको महत्वपूर्ण पाटोको रुपमा पर्यटन क्षेत्रलाई भाषणमा मात्र अथ्र्याइने गरेको बताउँदै यो क्षेत्रलाई साँच्चीकै उद्योगको रुपमा मान्यता प्रदान गर्न आफ्नो कार्यकालमा आफू गंभीर भएर लाग्ने भनाई उनले राखे । सो अवसरमा उनले नेपालको कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान दुई अंकको पुर्याउने गरी आफूले काम गर्ने प्रतिबद्धता पनि उनले सुनाए । अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान चार प्रतिशत पनि पुग्न नसकेको बताउँदै उनले आफूले पर्यटन सचिवका हिसावमा त्यस्तो योगदानलाई कम्तिमा १० प्रतिशत पुर्याउने गरी काम गर्ने योजना सुनाए । अर्थतन्त्रमा पर्यटनको योगदान दुई अंकको पुर्याउने कार्य सहज नभएको स्मरण गराउँदै उनले कम्तिमा चार पाँच वर्षमा आफूले काम गरेपछि त्यस्तो लक्ष्य प्राप्त हुने दाबी गरे । आफू पर्यटन सचिवको रुपमा पोखरा, लुम्बिनी, सगरमाथा लगायत नेपालका अन्य थुप्रै महत्वपूर्ण पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धनमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता उनले सुनाए । भूकम्प पछि नेपालको पर्यटन क्षेत्र समस्यामा परेको बताउँदै उनले नेपाललाई सुरक्षित र आकर्षक गन्तव्य बनाउन सोही अनुसारका प्रचार–प्रसारमा आफू लाग्ने योजना उनले सुनाए ।
पोखरा पर्यटनका हिसावले निकै महत्वपूर्ण गन्तव्य भएको बताउँदै उनले यहाँका खास गरी अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढाउन, फेवा तालको संरक्षण गर्न र नयाँ तथा व्यवस्थित वसपार्क निर्माण गर्ने काममा आफ्नो ध्यान जाने प्रतिबद्धता सुनाए । पोखरामा चिडियाखाना, यसोधरा पार्क, क्रिकेट मैदान लगायत विभिन्न विकासका एक दर्जन बढी काम अगाडि बढाउन आफूले प्रारम्भिक चरणको तयारी यसअघि नै सुरु गरिसकेको बताउँदै ती काममका लागि दुई करोड पचास लाख रुपैयाँ बजेट समेत विनियोजन भइसकेको जानकारी दिए । पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले पर्यटनमा खासगरी होटल क्षेत्रको ठूलो लगानी भएको स्मरण गराउँदै यो लगानीको सुरक्षणका लागि पनि राज्य गम्भीर हुनुपर्ने भनाई राखे । भूकम्प पछि पर्यटन क्षेत्र शीथिल जस्तै बन्न पुगेको बताउँदै उनले यस्तो अवस्थामा पनि आफूहरुले जोखिम मोलेर पर्यटन क्षेत्रलाई अगाडि बढाएको भनाई उनले राखे । अहिले खासगरी पर्यटक भित्र्याउने र उनीहरुको बसाई लम्व्याउने किसिमले योजना र कामको जरुरी भएको भनाई उनको थियो । सो अवसरमा संघका सल्लाहकार एवं नेपाल पर्यटन वोर्डका पूर्व सदस्य विश्वशंकर पालिखेले अहिले नेपालको पर्यटन क्षेत्र आईसीयुमा पुगेको बताउँदै यसको उत्थानका लागि सरकारी र निजी क्षेत्र सँगै मिलेर अगाडि बढ्नुपर्ने भनाई राखे । भूकम्पले गर्दा पर्यटक आगमन निकै घटेको बताउँदै पर्यटन बढाउने तर्फ सरकारको ध्यान जानुपर्ने भनाई उनले राखे । वसपार्कको निर्माण, फेवा तालको संरक्षण र अन्तर्राष्ट्रिय विमानस्थलमा केन्द्रित भएर पर्यटन मन्त्रालयले काम गरे यहाँ पर्यटक बढाउन सकिने भनाई उनको थियो । संघका निवर्तमान अध्यक्ष हरि शर्मा  गैह्रेले पर्यटन ऐन र यातायात ऐन विच बाझिएका बुँदाहरु परिमार्जन गरी नेपाली पनि पर्यटक हुन् भन्ने किसिमले अगाडि बढ्नुपर्ने सुझाव राखे । कार्यक्रममा संघका सल्लाहकार मेहरमान श्रेष्ठ, अर्का सल्लाहकार लक्ष्मीवहादुर भट्टराई, संघका प्रथम उपाध्यक्ष विकल तुलाचन र महासचिव भेकेन्द्रकुमार श्रेष्ठले पनि भनाई राखेका थिए ।

Post a Comment

 
Top