गोल्डेन न्यूज संवाददाता
लेखनाथका कांग्रेस नेता रामजी पौडेल (बादल) को हत्या आरोपमा पक्राउ परेकालाई छुटाउन पार्टीको नेतृत्व लागेको भन्दै कार्यकर्ताले बिहीबार कास्कीको पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । पौडेलको हत्यारालाई बचाउन कांग्रेस संस्थापन पक्षका नेताहरु नै लागेको आरोप लगाउँदै उनीहरुले तालाबन्दी गरेका हुन् । लेखनाथ बाट पोखरा आएका कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमा स्थानिय नेतृत्वविरुद्ध नाराबाजी गर्नुका साथै पार्टी कार्यालयको दुबै तर्फको प्रवेश द्वारसहित च्यानल गेटमा समेत तालाबन्दी गरेका छन् । तालाबन्दी पछि बादलको तस्वीर ढोका आडमा झुण्डाएका छन् । उनीहरुले निष्पक्ष छानविन समिति गठन गर्न माग गरेका छन् । मृतक बादलका भाइ गोपीराज पौडेलले संस्थापन पक्षका नेताहरुले हत्यारालाई बोर्डर कटाएको सूचना प्राप्त भएको दाबी गरे । गुटलाई कमजोर पार्न आफ्नो दाजुको हत्या भएको भन्दै उनले संस्थापन पक्षले अहिले पनि हत्याराको संरक्षण गरिरहेको आरोप लगाए । दाजु बादलको हत्यारालाई कारबाही गर्न दबाव दिनुको सट्टा पार्टी नेतृत्वले हत्याका योजनाकार भनेर पक्राउ गरिएका राजेन्द्रमणी लामिछानेलाई छुटाउन प्रहरी, प्रशासनलाई दवाब दिन थालेकाले पार्टी कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको बताए । कांग्रेसका जिल्ला स्तरका नेता बादलको गत साउन २८ गते राति आफ्नै कार्यकर्ताले हत्या गरेका थिए । हत्याको आशंकामा प्रहरीले कांग्रेसका लेखनाथ नगर सभापति राजेन्द्रमणी लामिछाने र तरुण दलका नेता राजु रानाभाटलाई पक्राउ परेका छ भने प्रकाश गुरुङ, रविन केसी र विश्वास गौतम फरार छन् ।
Post a Comment