गोल्डेन न्यूज संवाददाता
पोखरा उपहागनरपालिकाले नगरक्षेत्रमा रहेका बालविकास केन्द्रका शिक्षिकाहरुलाई वडाको जिम्मेवारी दिएको छ । दरबन्दीमा रहेका कर्मचारीहरुलाई मात्रै ठूला जिम्मेवारी दिनुपर्ने भएपनि नगरपालिकाले कर्मचारीको अभाव देखाउँदै यस्ता शिक्षिकाहरुलाई वडाको जिम्मेवारी दिएको हो । कर्मचारी ब्यवस्थापन गर्ने बिषय नगरपालिकाको आन्तरिक बिषय भएपनि कानून विपरित गर्न नमिल्ने सरोकारवालाहरुले बताएका छन् ।
यसअघि वडा नम्बर १५ को बालविकास केन्द्रमा कार्यरत शिक्षिका भगवती भण्डारीलाई अहिले वडा नम्बर ५ को जिम्मेवारी दिईएको छ । कर्मचारी अभाव भएका कारण र दरबन्दीमा कर्मचारी नभएका कारण उनलाई वडा सचिवको जिम्मेवारी दिएको नगरपालिकाका प्रशासन विभाग प्रमुख अनन्त प्रसाद कोईरालाले बताए । नगरपालिकाको चाप बढी भएका कारण कर्मचारी अभाव भएको छ, उनले भने–तत्कालको लागि शिक्षिकाको प्रयोग गरिएको हो । यसअघि यस्ता शिक्षिकालाई वडा सहयोगीको रुपमा पठाउने तयारी गरिएपनि कर्मचारी अपुग भएकै कारण ठूला जिम्मेवारी दिएको उनले बताए । नगरक्षेत्रको १४ वटा वडामा १६ वटा बालविकास केन्द्र रहेकामा अहिले १२ वटा मात्रै सञ्चालित छन् । तिनिहरुलाई पनि विद्यालयमा गाभ्ने तयारीमा नगरपालिका छ । अहिले पोखराको वडा नम्बर १, ३, ४, ५, ६, ९, ११, १४, १५, १६, १७ र १८ मा बाल विकास केन्द्रहरु सञ्चालित छन् । अहिलेसम्म वडा नम्बर १० को केन्द्र बन्द भएको छ भने वडा नम्बर ९ को सहारा प्रावि तथा वडा नम्बर १८ को मसिना प्राविमा मर्ज भएको छ । यस्तै वडा नम्बर १७ को केन्द्रलाई सिटास नेपालले सञ्चालन गर्ने जिम्मेवारी लिएको छ । यो बर्षपनि वडा नम्बर १४ र १५ को खारेज गर्ने तयारी गरिएको नगरपालिकाका सामाजिक विभाग प्रमुख ओमराज पौडेलले बताए । २० जना भन्दा कम विद्यार्थी भएका केन्द्रहरु विद्यालयमा गाभ्ने तयारी छ, पौडेलले भने–त्यो भन्दा धेरे विद्यार्थी भए आँफै चलाउँछौं, यो बर्ष २ वटा केन्द्र खारेजीको तयारी गरिएको एलए नेपालमा खबर छ । गाभिएका र बन्द भएका बालविकास केन्द्रका शिक्षिका तथा सेविकाहरु अहिले कार्यालयको राजश्व शाखा र सामाजिक शाखामा पनि कार्यरत छन् । एकीकृत सम्पत्ति कर शाखामा ३ जना, शहरी विकास शाखामा १ जना, सामाजिक शाखा, दर्ता चलानी र फेवाताल संरक्षण कार्यालयमा एक÷एक जना यस्ता कर्मचारीहरुलाई खटाईएको छ । वडा नम्बर ९ की शिक्षिका अप्सरा भण्डारी अहिले दर्ता चलानी शाखामा छिन् । यस्तै अर्की शिक्षिका कमला केसीलाई शहरी विकास शाखा, मञ्जु कार्की, लक्ष्मी अधिकारी र पार्वती केसीलाई एकीकृत सम्पत्ति कर तथा मैना बास्तोलालाई वेभबेस रिपोर्टिङका खटाईएको छ । यस्तै सेविकाहरु विमला गुरुङलाई वडा नम्बर ६ स्थित फेवाताल संरक्षण कार्यालयमा सहयोगीको रुपमा र लक्ष्मी गुरुङलाई सामाजिक विभाग प्रमुख ओमराज पौडेलको सहयोगीको रुपमा खटाईएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा गएको मंसिर १६ गते जिल्लाका १० वटा गाविस गाभिएर क्षेत्र विस्तार भएपछि त्यहाँका सहायक कर्मचारीहरुले वडा सचिवको जिम्मेवारी लिएका छन् भने अघिल्ला वडाहरुमा शिक्षिकाहरुलाई पठाउने तयारी गरिएको छ । कर्मचारी ब्यवस्थापन गर्ने बिषयमा नगरपालिकाले आफूहरुसँग कुनै पनि सल्लाह नगरेको नेकपा एमाले नगर समन्वय समितिका संयोजक तेजनारायण अधिकारीले गुनासो गरे । कर्मचारी ब्यवस्थापन गर्ने जिम्मेवारी कार्यकारीको भएपनि हामीसँग सल्लाह गरेको भए हुन्थ्यो, उनले भने–हामीलाई कुनै जानकारी दिएको छैन । शहरोन्मुख क्षेत्रहरु नगरपालिकामा गाभिनु खुशीको कुरा हो, तर आवश्यक पूर्वाधार र जनशक्ति नहुँदा प्रभावकारी सेवा दिन सकेको छैन, यो नगरपालिकाको पनि कमजोरी हो–उनले भने ।
सरकारले घोषणा गरेका नगरपालिका र नगरपालिकामा थप गरेका वडाहरुमा आवश्यक जनशक्ति र भौतिक पूर्वाधारको अभाव भएको छ । सेवाग्राहीको संख्या धेरै हुन्छ तर कर्मचारी थोरै छौं, नगरपालिकाका प्रशासन विभाग प्रमुख अनन्तप्रसाद कोईरालाले भने–कर्मचारी अभावकै कारण दरबन्दी नभएका कर्मचारीलाई वडाको जिम्मेवारी दिएका हौं । गाविस नगरपालिकामा गाभिएपछि गाविस सचिवहरु जिल्ला विकास समितिमा हाजिर भएका छन् भने अन्य कर्मचारीहरुले नगरपालिकाको जिम्मेवारी सम्हालेका छन् । सरकारले शहरोन्मुख क्षेत्रहरुलाई समेटेर कतै नयाँ नगरपालिका नै घोषणा गरेको छ भने कतै पूरानै नगरपालिकामा वडाका रुपमा गाभेको छ । वडा थप भएपछि नगरपालिकालाई सेवा व्यवस्थापनमा बढी चुनौती छ । सरकारले नयाँ वडाहरु थप गरिदिएपछि कर्मचारी अपुग भएको छ । नगरपालिका कार्यालयमा पनि कर्मचारीको अभावका कारण एउटै कामको लागि लामो समयसम्म लाईनमा बस्नुपरेको सेवाग्राहीको गुनासो छ । कार्यकारी उदय बहादुर रानाले नगरपालिकाको जिम्मेवारी सम्हालेपछि ९० प्रतिशत महिला कर्मचारीको मात्रै सरुवा भएको एक कर्मचारीले बताए ।
Post a Comment