गोल्डेन न्यूज संवाददाता
लिटिल स्टेप उच्च माध्यमिक विद्यालय, पोखरा–८, सिमलचौरको आयोजनामा छैटौं लिटिलस्टेप छात्र–छात्रा ह्याण्डवल प्रतियोगिता शुरु भएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सल्लाहकार गणेश बहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्यले गरेका थिए । त्यस अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आचार्यले विद्यालय स्तरमा निजी विद्यालयले यस्ता खेलको आयोजना गरेर महान कार्य गरेको र खेलकूदले भाइचारा र प्रतिस्पर्धा दुवैलाई बल पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रमको उद्देश्यको बारे चर्चा विद्यालयका संस्थापक शेरबहादुर गुरुङ र स्वागत मन्तव्य कार्यक्रम संयोजक विनोद गिरीले राखेका थिए । कार्यक्रममा खेलाडीका तर्फबाट लिटिल स्टेपका कक्षा ५ का छात्र खेलाडी प्रतिष्ठा सुवेदी र अफिसियलहरुको तर्फबाट कास्की जिल्ला ह्याण्डबल संघका सचिव चित्र थापाले शपथ लिएका थिए । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि आचार्यले खेलाडीलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गरेका थिए भने छात्रातर्फको खेलमा सशस्त्र प्रहरी बल कालिका गणका प्रहरी नायव उपरीक्षक वसन्त बोगटीले रेफ्री टीका गर्बुजा पुनलाई बल हस्तान्तरण गरी खेलको शुरुवात गरेका थिए । खेलपूर्व खेलाडीहरुको सम्मानमा केही सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरिएको थियो । प्रतियोगितामा पोखरा क्षेत्रका १७ वटा विद्यालय हरुको तर्फबाट छात्रतर्फ १७ टिम र छात्रातर्फ ८ वटा टिमहरुले भाग लिइरहेका छन् । प्रतियोगिता यही भाद्र १४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टीमलाई क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र तथा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गर्ने लिटिल स्टेपले जनाएको छ । उद्घाटनको अवसरमा लिग चरण छात्रातर्फ ८ र छात्रतर्फ १९ खेलहरु सम्पन्न भएको बताइन्छ ।
Post a Comment