गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेस कास्कीले एक साता पछिमात्र एक प्रेश विज्ञप्ति प्रकाशित गरि नेता रामजी पौडेल वादल हत्याको अनुसन्धानलाई सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ । बादल हत्या प्रकणमा मौन रहँदै आएको कास्की कांग्रेस विभिन्न क्षेत्रबाट टिकाटिप्पणी हुन थालेपछिमात्र विज्ञप्तिमार्फत दुःख व्यक्त गरेको हो । पार्टी सचिव कुँवरद्वारा विज्ञप्ति जारी गरिएको भएपनि सभासद समेत रहेका सभापति यज्ञबहादुर थापाले अहिलेसम्म मुख खोलेका छैनन । उनले इमान्दार नेताको हत्या हुँदा समेत व्यवस्थापिका संसदमा कुरा नउठाएको र पार्टी नेताहरुसंग पनि केही नबोलेको आरोप लाग्न थालेको छ । नेपाली कांग्रेस कास्कीले यसअघि बादलको हत्यापछि आन्दोलनले उग्ररुप लिएपछि कार्यकर्तालाई संयम रहन आग्रह मात्र गरेको थियो । नेपाली काँग्रेस कास्कीका सचिव युवराज कुँवरद्वारा जारी गरिएको विज्ञप्ति मार्फत स्वर्गीय नेता पौडेलमाथि सांघातिक आक्रमण गर्ने जो कोही भएपनि अपराधिहरुलाई यथाशीघ्र कानूनी दायारामा ल्याई कडा भन्दा कडा कार्वाही गर्न जोडदार माग गरिएको छ । नेपाली काँग्रेसका सचिव कृष्ण केसीको संयोजनमा नेपाली काँग्रेस कास्कीका अग्रज नेताहरु शुक्रराज शर्मा, खेमराज पौडेल, सोभियत बहादुर अधिकारी, अर्जून कुँवर, रामचन्द्र त्रिपाठी, रामजी कुँवर, तीर्थ जंगली, नन्दप्रसाद तिवारी, देवेन्द्र रानाभाट, कृष्ण केसी, युवराज कुँवर, मुकुन्द बाँस्तोला, दिवसमान प्रधानाङ्ग, वीर्जमान गुरुङ एवम् परिवारजनका सदस्यहरु गोपीराज पौडेल र शिवराज पौडेलको उपस्थितिमा भएको भेलाले अनुसन्धानलाई कुनै किसिमको वाधा नपुग्ने गरि हाल सम्म भएका अनुसन्धानको सत्य तथ्य सार्वजनिक गर्न सम्वन्धित निकाय समक्ष जोडदार माग गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस घटनाको संवदेनशिल अवस्थालाई लिएर अतिरञ्जित गरि सिंगो पार्टीलाई वदनाम गराउने कहि कतैबाट प्रयत्न भईरहेको छ विज्ञप्तिमा भनिएको छ–सवै तहका नेता कार्यकर्ता र शुभचिन्तकहरु सर्तक एवम् संयमित रहन हार्दिक अनुरोध गर्दछांै । यस घटनामा संलग्न जो कोहिलाई पनि यथाशीघ्र कडा भन्दा कडा कार्वाही गर्न सिंगो पार्टी एक ढिक्का भएर अगाडि बढेको छ–विज्ञप्तिमा भनिएको छ । विज्ञप्ति मार्फत यस्ता अपराधिक घटनालाई निरुत्साहित गर्न पार्टी पंक्ति एकजुट रहेको भन्दै यस दुःखद घडीमा हामीहरु र सिंगो पार्टी स्वर्गीय नेताको आत्माको चिरशान्तिको कामना गर्दै सोक सन्तप्त परिवारजनलाई धर्यधारण गर्ने शक्ति प्राप्त होस् भनि समवेदना प्रकट गरिएको छ । सम्पूर्ण निष्ठावान कार्यकर्ताले उच्च मनोवलका साथ अगाडि वढ्नका लागि विज्ञप्ति मार्फत अनुरोध गरिएको छ । स्वर्गीय युवा नेता बादल नेपाली काँग्रेसका निष्ठावान नेता भएकोले उनको हत्याले सिंगो नेपाली काँग्रेसलाई अपूरणीय क्षति भएको भन्दै पार्टी स्तब्ध भएको जनाएको छ । उक्त घटनामा घाईते भएका नेपाल तरुणदल कास्कीका उपसभापति नारायणहरि तिवारी र नेपाली काँग्रेस क्षेत्र नं.१ का क्षेत्रीय सदस्य एवम् इलाका नं.२ का संयोजक मनोज गुरुङको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यथोचित स्वास्थ्य उपचारको व्यवस्था गर्न सम्वन्धित निकाय संग विज्ञप्तिमा मार्फत जोडदार माग गरिएको छ । गत बिहीबार राति नेपाली काँग्रेसका इमान्दार नेता एवं नेविसंघका पूर्व केन्द्रीय सदस्य, पूर्व महाधिवेशन प्रतिनिधि रामजी पौडेल बादलको पार्टी कार्यकर्ता बाटै हत्या भएको थियो ।
Post a Comment