गोल्डेन न्यूज संवाददाता
नेपालमै पहिलो पटक निर्माणाधीन बीमा सम्बन्धी यथार्थ चित्रण गरिएको नेपाली कथानक चलचित्र ‘मलम’ सम्बन्धी जानकारी दिने उद्देश्यले एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मलम चलचित्रका कथा परिकल्पनाकार तथा हेविट मिडिया हाउस नेपाल प्रा.लि.का प्रबन्ध संचालक हेमराज गौतमले कार्यक्रममाथि प्रकाश पार्दै बीमा सम्बन्धी विविध विषयहरुलाई समेटेर चलचित्र बन्न लागेको बताए । उक्त अवसरमा सुनपानी चलचित्रका सहनिर्माता एवं कलाकार बुद्धिसागर खनालले लायन्स क्लवले बनाएको अभिजालो फिल्म जस्तै मलम पनि सन्देशमूलक रहेकोले विमाकर्मी, विमा व्यवसायी एवं सर्वसाधारणको लागि फलदायी होस् भनि शुभकामना व्यक्त गरे । नेपाल इन्सुरेन्स प्रोफेसनल सोसाइटी (निप्स) पोखरा च्याप्टरका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष सुनयना पालिखेले गाउँ गाउँ टोल टोलमा विमा सम्बन्धी सन्देश प्रवाह गर्ने र यसको प्रक्रिया र महत्वको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा निप्सका कोषाध्यक्ष प्रकाशमणि रेग्मीले बैशाख १२ गते गएको महाभूकम्पपछि यस प्रकारको फिल्मको सान्दर्भिकता र महत्व अझ बढी भएको बताउँदै आफू पनि यस फिल्मभन्दा बाहिर रहन नसक्ने र यस्तो प्रकारको सकारात्मक कामको थालनी गर्ने हेमराज गौतमलाई धन्यवाद ज्ञापन गरे । निप्स पोखराका कार्यकारी सदस्य दिपकराज तिवारीले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव कविराज पौडेलले गरेका थिए ।
Post a Comment