संविधान निर्माण अन्तिम चरणमा पुगेसंगै देशमा डरलाग्दो स्थिति सिर्जना भएको छ । यो बेलामा विभिन्न क्षेत्र र समुदायले अधिकार माग्नु अस्वाभाविक होइन तर हिजो कैलालीमा जुन घटना भएको छ, यो अधिकारका लागि भएको आन्दोलनभन्दा पनि जघन्य अपराधमा परिणत भएको छ । प्रहरीका एसएसपीसहित ८ जनाभन्दा बढीको ज्यान जाने गरी जुन घटना भएको छ, यो अकल्पनीय र डरलाग्दो नरसंहारकारी हत्याकाण्ड हो । यसको कारण र परिणामबारे समीक्षा हुादै जाला, अहिलेको मुख्य कार्यभार अनियन्त्रित बनेको देशको शान्तिसुरक्षाको अवस्था तत्काल नियन्त्रणमा लिएर संविधान जारी गर्ने वातावरण सिर्जना गरिनुपर्दछ । तराई क्षेत्रमा थारु समुदायले लामो समयदेखि आन्दोलन गर्दै आएको छ । प्रमुख दलहरु यो आन्दोलनप्रति गम्भीर नहुनु नै यो अकल्पनीय घटनाको मूल आधार बनेको छ । दलहरुको यही कमजोरीमाथि टेकेर थारु समुदायको अधिकारका लागि चलेको आन्दोलनलाई भ¥याङ बनाउँदै कैलालीमा जसरी नरसंहारकारी हत्याकाण्ड गराइयो, यसका पछाडि देशको भलो नचाहने तत्वहरुको घूसपैठ भएको स्पष्ट बुझ्न सकिन्छ । उत्पीडित समुदायलाई अधिकार दिन नचाहने शासकहरुको रवैया र त्यसबाट थारु समुदायमा सिर्जना भएको आक्रोशको ज्वालामा घिउ थप्दै पृथकतावादी आन्दोलन अगाडि बढाउन चाहने तत्वहरुले नै यो घटना गराएका हुन् । सत्तारुढ दलकै नेताको आवरणमा पृथकतावादी आन्दोलन अगाडि बढाइरहेका कतिपय नेताहरुबाट रगतको खोला बग्ने उद्घोष आएको केही दिनमै उही ठाउँमा यति ठूलो घटना हुनुलाई थारु समुदायको आक्रोश र बिद्रोहको परिणाम मात्र मान्न सकिदैन । यति ठूलो घटना गराउन के कति भित्री खेल भएका छन्, त्यो क्रमशः खुल्दै जाने छ । अहिले सबैभन्दा पहिले त प्रमुख दलहरु नै गम्भीर बन्न जरुरी छ । त्यसमा पनि अझ जोजसले थारु समुदायलाई अधिकार दिन मानिरहेका छैनन्, उनीहरु यो घटनाबाट गम्भीर बन्नुपर्छ । आफ्नो शासकीय थातथलो गुम्ने डरले अखण्ड सुदूरपश्चिमको नारा लगाउने नेताहरु अब पनि गम्भीर भएनन् भने थारु समुदायको संवेदनामाथि टेकेर गलत तत्वहरुले अझै क्षति पु¥याउन सक्छन् । एउटा यथार्थ के हो भने नेपालको तराई क्षेत्रमा बसेर पनि थारु समुदाय कहिल्यै विदेशी प्रभावमा परेन । यसकै फलस्वरुप निरन्तर मधेशी समुदाय र थारु समुदायबीच मनमुटावको स्थिति सिर्जना हुँदै आयो । मधेशी समुदायले थारु समुदायमाथि आफ्नो प्रभुत्व लाद्ने प्रयत्न पनि नगरेका होइनन्, त्यसलाई थारु समुदायले निरन्तर अस्वीकार गर्दै आयो । तर पछिल्लो समयमा कतिपय नेताहरुको शासकीय हठका कारण मधेशी र थारु समुदाय एकै ठाउँमा उभिएर आन्दोलन गर्ने जुन परिस्थिति तयार भयो, यसबाट नै गलत तत्वहरुले थारु समुदायको संवेदनामा खेल्ने ठाउा पाए । यो चुनौतीपूर्ण पृष्ठभूमिलाई गम्भीरतापूर्वक ध्यान दिंदै प्रमुख दलहरुले थारु समुदायका जायज माग पूरा गरेर उनीहरुको संवेदना र आक्रोशलाई गलत तत्वले दुरुपयोग गर्ने खतरा रोक्नुपर्छ । आन्दोलनकारी पक्ष पनि थप संयमित र गम्भीर बन्न आवश्यक छ । जब अधिकार प्राप्तिका लागि थालिएको आन्दोलन भड्कावमा बदलिन्छ, त्यसपछि एजेण्डा आझेलमा पर्छन् र मानवीय संवेदना प्रधान बन्न पुग्दछ । एक त अहिले लगातारको बन्द हड्तालका कारण आन्दोलनकारीका एजेण्डाभन्दा बन्दबरोधी भावना प्रवल हुँदै गएको छ । यो पृष्ठभूमिमा कैलालीमा भएको नरसंहारकारी हत्याकाण्डले आन्दोलनकारीलाई बल पुर्रुयाउने भन्दा घाटा नै गर्नेछ । जुन तत्वले जुन उद्देश्यका लागि यो घटना गराएको भए पनि थारु समुदायको आन्दोलनको आवरणमा यो हत्याकाण्ड भएकाले त्यसको दोष आन्दोलनकारीमाथि आउनेछ । अब प्रहरीका वरिष्ठ अधिकारीहरु नै मारिएपछि सरकारले स्वतः सेना परिचालन गर्नेछ र त्यसपछि थप अधिकार पाउनुभन्दा पनि भएका नागरिक अधिकारसमेत गुमाउने खतरा सिर्जना हुनसक्छ । सरकारले यो घटनालाई सुनियोजित भनिसकेको छ । सरकारको यो भनाइबाट प्रष्ट बुझ्न सकिन्छ कि थारु आन्दोलनमा गलत तत्वहरुले घूसपैठ गरेर संविधान बन्न नदिने षड्यन्त्र क्रियात्मकरुपमै अघि बढाइसकेका छन् । यसप्रति आन्दोलनकारी थारु समुदाय गम्भीर हुने होइन भने यसले आन्दोलनमा त क्षति पुग्छ नै, देशलाई पनि ठूलो क्षति पुग्ने छ । यो घटनालाई राज्य र आन्दोलनकारी दुबै पक्षले गम्भीरतापूर्वक लिएर थारु समुदायका जायज माग पूरा गर्ने र आन्दोलन रोकेर गलत तत्वको खेल्ने ठाउा बन्द गरिदिनुपर्छ । अन्यथा यस्तै घटना दोहोरिन थाले भने संविधान नबन्ने र देश थप द्वन्द्वतिर जाने खतरा बढ्न सक्छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment