0

लायन्सका अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानले लायन्स क्लवका सदस्यहरुबाट सदस्यता, नविकरण वा विभिन्न टाइटलका लागि गरिएको लगानीको तुलनामा लायन्स अन्तर्राष्ट्रियबाट नेपालमा आउने रकम धेरै भएको दावी गरेका छन् । नेपालमा लायन्स क्लव र सदस्यहरुको संख्या बढ्दै गएको र उनीहरुले आर्थिक सहयोग गरि एमजेएफ, पिएमजेफ जस्ता विभिन्न उपाधि प्राप्त गर्दा मोटो रकम नेपालबाट बाहिरिने गरेको भएपनि त्यसको तुलनामा विभिन्न परियोजनाका लागि लायन्स अन्तर्राष्ट्रियबाट सहयोग धेरै रहेको उनले बताए । अमेरिकाको हवाइमा हालै सम्पन्न लायन्स अन्तर्राष्ट्रियको महाधिवेशनबाट निर्देशकमा निर्वाचित भएपछि पहिलो पटक पोखरा आएका खेतानले पोखराका पत्रकारसंग कुरा गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपालका लायन्सहरुको सम्मान र चिनारी कायम राख्न आफू सफल हुने विश्वास व्यक्त गरे । 


नेपालमा वैशाख १२ को महाभूकम्पपछि भूकम्प प्रभावित क्षेत्रमा १ हजार वटा घर र ३० वटा विद्यालय भवन पुनःनिर्माण गर्नका लागि ४२ लाख बढी अमेरिकी डलर विश्वका विभिन्न लायन्सबाट संकलन भएको र थप रकम समेत संकलन भइरहेको खेतानले जानकारी दिए । उनले दादुरा रुवेला विरुद्धको खोप अभियानमा पनि अन्तर्राष्ट्रिय लायन्सले नेपालका लागि ठूलो रकम खर्च गरेको र अब भूकम्पबाट अति प्रभावित १४ जिल्लामा पुनः खोप अभियान संचालन गर्ने तयारी भइरहेको जानकारी दिए । यसै सन्दर्भमा उनले भने–‘नेपालका लायन्सहरुले बुझाएको रकम भन्दा बढी रकम रुवेला प्रोजेक्टबाट नै नेपाल आएको छ ।’ लायन्स क्लवले पारदर्शी ढङ्गले संस्था चलाएको दावी गर्र्दै निर्देशक खेतानले नेपालका कतिपय गैरसरकारी संस्था एउटै परिवारका सदस्यहरुले संचालन गरेको र कतिपय संस्था दुई वटा कोठाबाट संचालन भएपनि त्यस्ता संस्थाको बजेट लायन्सको भन्दा बढी हुने गरेको चर्चा गरे । ‘हाम्रो संस्थामा १५ हजार सदस्य छन् र स्थानीय स्तरमामात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि लेखापरीक्षण हुन्छ’, उनले भने–‘हालैको अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागी हुन जाँदा केही अनियमितता भएको र केही उजुरीहरु परेको भएपनि कसैले स्पष्ट रुपमा जानकारी दिएका छैनन् ।’ खेतानले विराटनगरमा आँखा अस्पताल र वृद्धाश्रमका लागि लायन्स अन्तर्राष्ट्रियले सहयोग गर्ने र पोखराको अस्पतालका लागि आइसियु र सिसियु कक्ष निर्माणका लागि पहल गरिने बताए ।
निर्देशक खेतानले हालै अमेरिकमा सम्पन्न लायन्स अन्तर्राष्ट्रियको महाविधेशनमा आफ्नो उम्मेदवारी पर्चा वितरण नगरि भूकम्प पछिको नेपाल भन्ने सन्देशमूलक पर्चा वितरण गरेको प्रसङ्ग कोट्याउँदै राज्यले पर्यटनको महत्व बुझ्न अति जरुरी रहेको खाँचो औंल्याए । यसै सन्दर्भमा उनले भने–‘भूकम्पले नेपाल सबै सकियो भन्ने विदेशीमा रहेको नकारात्मक भ्रमलाई केही मात्रामा भएपनि हटाउन सफल भएका छौं ।’ 
कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका गभर्नर ध्रुव थापाले ४४  वर्षको इतिहासमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय निर्देशक पाउन सफल भएकोमा खुशी प्रकट गर्र्दै यसमा सघाउने सम्पूर्ण लायन्स तथा नेपालीहरुलाई धन्यवाद ज्ञापन गरे । लायन्स अन्तर्राष्ट्रिय निर्देशकमा नेपालमा सञ्जय खेतानले विश्वका ६४ मुलुकको नेतृत्व गरेको जानकारी दिंदै नेपालको लायन्स इतिहासलाई अझ गर्भिलो र सामाजिक कार्यहरुमा अझ बढी अग्रसर हुने प्रेरणा मिलेको बताए । उनले ‘जहाँ आवश्यकता त्यहाँ लायन्स’ भन्ने कुरालाई सार्थक बनाउन सबै लायन्सहरु लाग्ने बताउँदै भूकम्प पीडितका लागि विभिन्न जिल्ला र स्थानमा ८ करोड रुपैयाँ बढीको सहयोग गरेको, गण्डकी, धवलागिरि र बागमती क्षेत्रमा ३ वटा अत्याधुनिक एम्वुलेन्स संचालनमा ल्याएको जानकारी दिए । गभर्नर थापाले डिष्ट्रिक्ट र स्थानीय क्लवहरुको प्रयास तथा अन्तर्राष्ट्रियको सहकार्यमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालभित्र वृक्षरोपण, युरोगार्ड जडानका साथै लायन्स हर्ट केयर सेन्टरको स्थापना गर्ने प्रक्रिया अघि बढेको र हालै कास्कीको भदौरेतामागी र लुम्लेमा गएको बाढी पहिरो पीडितका लागि लायन्स अन्तर्राष्ट्रियको इमरजेन्सी फण्डबाट प्राप्त ५ लाख रुपैयाँ बराबारको सामाग्री प्रदान गरिएको जानकारी दिए । उनले लायन्सको गतिविधिमा योगदान दिने पत्रकारहरुमध्येबाट एक जनालाई २५ हजार रुपैयाँले लायन्सको वार्षिक महाधिवेशनमा सम्मान गरिने जानकारी दिए । थापाले लायन्स क्लव विश्वका २ सय १० देशमा फैलिएको सबैभन्दा ठूलो सञ्जाल भएको र नेपालमामात्र ६ सय बढी क्लवमा १५ हजार बढी सदस्य रहेको बताए । कार्यक्रममा डिष्ट्रिक्ट सेक्रेटरी विश्वेश्वर आचार्यले लायन्सको गतिविधि बारे प्रकाश पारेका थिए । 

यसैबीच लायन्सको अन्तर्राष्ट्रिय निर्देशकमा निर्वाचित भएपछि पहिलो पटक पोखरा आएका सञ्जय खेतानलाई पोखरेलीले भव्य स्वागत गरेका छन् । उनलाई पोखरा विमानस्थल मा पोखरेली तथा पोखरामा क्रियाशिल लायन्स क्लवका पदाधिकारीहरुले स्वागत गरेका हुन् । निर्देशक खेतानलाई डिष्ट्रिक्ट गभर्नर ध्रुव थापा लगायतले स्वागत गरेका थिए । स्वागतपछि निर्देशक खेतान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आयोजित छुट्टा–छुट्टै तीन कार्यक्रममा सहभागी भए । उनले पक्षे अस्पताल परिसरमा निर्माण हुन लागेको लायन्स पार्कमा वृक्षरोपण गरे । यसैगरी पक्षे अस्पतालमै खानेपानीका लागि आवश्यक ८ वटा युरोगार्ड समेत उनले वितरण गरेका थिए । यसैगरी लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले पक्षे अस्पतालको एनआइसियु कक्षमा आवश्यक अत्याधुनिक सामाग्री प्रदान गरेको छ । क्लवको पहलमा करिब २८ लाख रुपैयाँ बराबरको उक्त सामाग्री भियतनामबाट प्राप्त भएको थियो । उक्त सामाग्री लायन्स अन्तर्राष्ट्रिय निर्देशक खेतानले अस्पतालका सुपरिटेण्डेन्ट श्रीकृष्ण श्रेष्ठलाई प्रदान गरेका थिए ।  
यसैबीच शनिबार पोखरामा लायन्स डिष्ट्रिक्टका पदाधिकारीको पदस्थापनका साथै प्रथम क्याविनेट बैठक आयोजना गरिएको बताइएको छ । उक्त कार्यक्रम पोखराको रानीपौवास्थित रञ्जित इभेन्ट सेन्टरमा हुदैछ । बैठकमा लायन वर्ष २०१५÷०१६ मा गरिने कार्यक्रमबारे नयाँ रणनीति तयारी छलफलका साथै लायन्स अफ लिद मन्थबाट रिजन चियर पर्सन दुर्गा प्रसाद हुमागाइँलाई सम्मान गरिने  छ ।

Post a Comment

 
Top