0
गोल्डेन न्यूज संवाददाता
कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरी कारवाहीमा मारिएका छन् । कपुरधारा, बालकुमारी मार्ग स्थित आफ्नै घर अगाडिको खुल्ला ठाउँमा उनी मारिएका हुन् । प्रहरीले मुठभेडमा घैंटे मारिएको दावी गरेको छ । उनलाई पछ्याउँदै आएको प्रहरीले खानतलासी गर्न खोज्दा घैंटेले फायर खोलेपछि प्रतिकारमा उनीमाथि गोली चलाइएको प्रहरीको दावी छ । गोली लागेका घैंटेलाई अस्पताल पु¥याउँदा उनको मृत्यु भइसकेको थियो । केही समयदेखि महानगरमा गुन्डाहरूमाथि निगरानी बाढाएर खानतलासीको कार्य भइरहेको अवस्थामा नै यो घटना भएको प्रहरीले बताएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालका अनुसार प्रहरीले नियमित चेकजाँचको क्रममा घैंटेको खानतलासी गर्न रोक्दा उनले प्रहरीलाई नै सुरुमा लछारपछार गरेका थिए । ‘रोकेर खानतलासी गर्न खोज्दा प्रहरीलाई लछारपछार गरेर आफूले बोकेको पेस्तोलबाट गोली प्रहार गरे,’ उनले भने,–‘त्यसपछि हाम्रो टोलीले पनि प्रतिरक्षामा गोली चलाउँदा उनी घाइते भएका हुन् ।’ महाशाखा प्रमुख खनालका अनुसार घैंटेलाई खानतलासी गर्न पुगेको टोलीलाई उनी सहित उनको सहयोगीहरूले समेत आक्रमण गरेका थिए । प्रहरीको प्रतिकारमा स्थानीय सुरेन्द्र महर्जन र राजेन्द्र महर्जनलाई पनि खुट्टामा गोली लागेको छ । उनीहरुले शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । बेलायती राजदूतावास पछाडि बेलायती चिहान भन्ने ठाउँ नजिकै भएको उक्त घटनाका प्रत्यक्षदर्शीले सुरुमा सो घटनालाई ’ग्याङ वार’ ठानेका थिए । त्यहाँका स्थानीइ बासिन्दाका अनुसार सुरुमा दुई गोली चलेको सुनेपछि उनीहरू घर बाहिर हेर्न निस्केका थिए । तर त्यहाँ भएकाहरूले घरभित्र जान आदेश दिएपछि उनीहरू घर भित्र छिरेका थिए । लगत्तै फेरि चाररपाँच राउन्ड गोली पड्केको आवाज सुनेको र केही समयपछि बाहिर निस्किँदा बर्दीधारी प्रहरी आइसकेको स्थानीयले बताए । घटनास्थलको प्रकृति हेर्दा खुला ठाउँमा पार्किङ गरिराखेको ट्याक्सी पछाडि घैंटेले चढ्ने गरेको सेतो रंगको बा५६प १०० नम्बरको स्कुटर लडेको थियो । स्कुटरमा चाबी झुन्डी नै रहेको थियो । स्कुटरसँगै रगतको टाटो थियो र पेस्तोल पनि त्यहीँ थियो । प्रहरीको दावी अनुसार घैंटेले बोक्ने गरेको उक्त पेस्तोल मेड इन इटाली लेखिए पनि भारतमा बनेको हो । प्रहरीले गोली लागेर ढलेका घैंटेलाई केही समयपछि टिचिङ अस्पताल पु¥याइएको थियो । प्रहरी स्रोतले टिचिङ अस्पताल पु¥याउँदा जीवितै रहेको दावी गरे पनि शिक्षण अस्पतालका आकस्मिक विभाग प्रमुख डा. प्रताप नारायणप्रसादले मृत अवस्थामा ल्याइ पु¥याएको बताए । उनलाई तिघ्रा र छातीमा गोली लागेको छ । घैंटेलाई अस्पतालले मृत घोषित गरे लगत्तै अस्पताल पुगेका नेपाली कांग्रेसका सभासद जग्दिश्वर नरसिंह केसीले घैंटेलाई गृहमन्त्रीको निर्देशनमा प्रहरीले मारेका आरोप लगाए । ‘हाम्रो कार्यकर्तालाई प्रहरी लगाएर गृहमन्त्रीले नै मार्न लगाएको हो,’ उनले भने, ‘हाल कुनै अभियोग नभएको, आपराधिक घटनामा संलग्न नरहेको निहत्ता मान्छेलाई फर्जी मुठभेड भनेर मारिएको हो ।’ सभासद केसी लगायत काठमाडौं क्षेत्र नम्बर ६ का कांग्रेस सभासद भिमसेनदास प्रधान र अर्का सभासद धनराज गुरुङ पनि अस्पताल पुगेका थिए । सभासद भिमसेनदास प्रधानले घैंटे मारिएकोमा विरोध गर्दै त्यसको विरोध गरिने बताएका थिए । ’निहत्ता व्यक्तिलाई मार्न पाइने कानुन कहिँ छैन,’ उनले भने, ‘केही गल्ती नै नगरेको मान्छेलाई राज्यले त्यसरी मार्न पाउँदैन ।’ अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सभासदहरूको उक्त प्रतिक्रियाको खण्डन गर्न चाहेनन् । ‘अभिव्यक्ति स्वतन्त्रताको हक सबैलाई छ,’ उनले भने,–‘कुनै भेस्टेड इन्ट्रेस्ट भएका मान्छेले भनेको कुरामा कमेन्ट गरिरहनु पर्दैन ।’ सामाखुसी क्षेत्रलाई आधार बनाएर आफ्नो समूह संचालन गरिरहेका कुमार घैंटे नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुन् । उनी पछिल्लो समय कांग्रेसको खेलकुद विभागका सदस्य समेत थिए । एक वर्ष पहिला दिनेस अधिकारी ‘चरी’ प्रहरी मुठभेडमा मारिएपछि घैंटे प्रहरी आँखाबाट ओझेल हुने लामो समय मलेसिया, दुबइ र भारतमा बस्दै आएका थिए । उनी भूकम्प गएपछि मात्रै नेपाल फिरेका हुन् । घैंटेमाथि जग्गा व्यवसायी, ठेक्का पट्टामा संलग्न र ठूला व्यवसायीहरुसँग पैसा असुल्ने गरेको आरोप थियो । भूकम्पमा राहत वितरणका लागि प्रधानमन्त्री सुशिल कोइरालालाई भेटेका उनले पछिल्लो पटक सामाखुसी क्लब अन्तरगत त्यहाँ बसोबास गर्ने एसएलसीमा उत्कृष्ट अंक ल्याउने छात्र–छात्रालाई सम्मान गर्ने कार्यक्रम पनि गरेका थिए । सो कार्यक्रममा शिक्षा मन्त्री चित्रलेखा यादव र काठमाडौं क्षेत्र नम्बर ६ का कांग्रेस सभासद भिसमेनदास प्रधान पुगेका थिए । स्रोतका अनुसार श्रीमतीसँग डिभोर्स भएपछि उनी आफ्नी छोरीसँग बेलायती चिहान नजिकै बालकुमारी मार्गको घरमा बस्दै आइरहेका थिए ।

Post a Comment

 
Top