0

गोल्डेन न्यूज संवाददाता
पोखरामा आपूर्ति भइरहेको खानेपानीको गुणस्तर सुधार गर्दै स्वच्छ पिउने पानी आपूर्ति गर्न जाइकाले पहल गरेको छ । करिब ५ महिना लगाएर जाइकाले तयार गरेको प्रतिवेदनका बारेमा बुधबार पोखरामा आयोजित छलफल कार्यक्रममा दिइएको जानकारी अनुसार मर्दी खोलाबाट पोखरामा आपूर्ति भइरहेको पानीलाई प्रशोधन गरि आपूर्ति गर्ने कामका लागि जापान सरकारले करिब ३ अर्व रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । नेपाल खानेपानी संस्थान मार्फत उक्त काम सम्पन्न गर्नका लागि जाइकाले तयार गरेको प्रतिवेदनमा मुहानमा ठूलो पोखरी बनाएर पानी थिग्राउने र त्यसपछि ट्रिटमेन्ट प्लान्टमार्फत पानीलाई शुद्ध बनाएर आपूर्ति गर्ने उल्लेख छ । प्रतिवेदनमा जनाइए अनुसार दैनिक ४१ लाख घनमिटर पार्टी प्रशोधन गर्ने र आपूर्ति गर्ने योजना प्रस्ताव गरिएको छ । जाइका सर्भे टीमका टीम लिडर तोरु यागीका साथै केन्जो फूजी कवा, सातोरु ओनिके लगायतले प्रतिवेदनका बारेमा जानकारी गराएका थिए । करिब ५ महिना लगाएर उक्त प्रतिवेदन तयार गरिएको थियो ।छलफल कार्यक्रममा बोल्दै नेपाल खानेपानी संस्थानका अध्यक्ष डा. परमेश्वर पोखरेलले पोखरामा स्वच्छ खानेपानी उपलव्ध गराउन  संस्थान आफूैले गर्नुपर्ने काम जाइकाले गर्न चासो दिएकोले आफूहरु खुशी भएको बताए । पोखरामा स्वच्छ खानेपानी आपूर्ति गर्नका लागि जाइकाले देखाएको गम्भीरतालाई बुझेर सबै संघ–संस्था र सर्वसाधारणको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै अध्यक्ष पोखरेलले भने–‘अब जतिसक्दो छिटो यो आयोजना शुरु गर्छु । कुनै पनि बहानामा आयोजना ढिलो हुन दिन्न ।’ उनले पोखरामा स्वच्छ खानेपानी आफूर्तिका लागि एउटैमात्र स्रोतमा भर पर्दा काकाकूल बन्ने अवस्था आउन सक्ने भन्दै भूकम्प, बाढी पहिरो वा अन्य कारणले पोखरेलीलाई पानी आपूर्तिमा समस्या आउन नदिन अन्य वैकल्पिक स्रोतहरुको व्यवस्था गर्नुपर्ने खाचो औंल्याए । संस्थानका केन्द्रीय कार्यालयका भूपेन्द्र प्रसादले प्रस्तावित परियोजनाका बारेमा जानकारी गराउँदै परियोजना सम्पन्न गर्न २ सय रोपनी जग्गा आवश्यक पर्ने र त्यसमध्ये २२ रोपनी संस्थानले खरिद गरिसकेको बताए । पोखराको तीन ठाउँमा ट्याङ्की निर्माण गर्न १८ रोपनी जग्गा आवश्यक पर्ने भन्दै उनले पोखरामा अहिले पनि केही ठाउँमा साताको १ दिन सानो पाइपबाट पानी वितरण हुने गरेको र त्यस्तो पानी स्वच्छ नभएकोले नयाँ योजना प्रस्ताव गरिएको बताए । प्रधानमन्त्री सुशिल कोइरालाका प्रशासनिक सल्लाहकार बाबुराम आचार्यले खानेपानी परियोजनका लागि जग्गा अधिग्रहण गर्ने र वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने जस्ता विषयमा आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए । कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले पोखरामा स्वच्छ पिउने पानी आपूर्ति गर्ने योजनालाई प्राथमिकतामा राखेर जग्गा अधिग्रहण वा अन्य काम गर्नुपर्नैमा जोड दिए । संविधानसभा सदस्य शारदा पौडेलले परियोजना सफल पार्न सबै लाग्नुपर्ने भन्दै पोखरामा आउने पानीको मुहानमा स्थानीय वासिन्दाले शौचालय मिसाउने गरेको आफूले पाएको बताइन । पूर्व सांसद तथा कासकी कांग्रेसका नेता शुक्रराज शर्माले विभिन्न राजनीतिक दलहरु आन्तरिक विवादमा व्यस्त रहेपनि खानेपानी लगायत विकास निर्माणका योजनामा हातेमालो गरेर अघि बढ्ने स्पष्ट पारे । नेकपा एमाले कास्कीका अध्यक्ष एवं पोखरा उपमहानगरपालिकाका पूर्व मेयर कृष्ण थापाले आफू र आफ्नो पार्टीको तर्फबाट योजना संचालनका लागि सहयोग रहने स्पष्ट पारे । पोखरा उप–महानगरपालिकाका निमित्त कार्यकारी अधिकृत तथा वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले नगर क्षेत्रभित्र तीनवटा ठूला पानी ट्याङ्की निर्माणका लागि पस्र्याङ, फूलवारी र कोलपाटनमा जग्गाको व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको जानकारी दिंदै नगरवासीलाई स्वच्छ पिउनेपानी उपलव्ध गराउन नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताए ।  पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले मानव वस्ती भएको स्थानभन्दा माथिबाट पानी आपूर्ति गर्न सके तुलनात्मक रुपमा स्वच्छ पिउने पानी आपूर्ति हुने भन्दै पोखरामा खानेपानी संस्थाले लिने महसूल यस क्षेत्रको विकास र पानी प्रदुषण रोक्नका लागि खर्च गर्नुपर्नेमा जोड दिए ।  पोउवासंघका पूर्व अध्यक्ष अशोक पालिखेले भविष्यलाई हेरेर संस्थानले अहिलेदेखि नै नगरको विभिन्न स्थानमा जग्गाको व्यवस्थापन गर्न उपयुक्त हुने सुझाव दिए । जिल्ला किास समिति कास्कीका इन्जिनियर नारायण प्रसाद श्रेष्ठले परियोजना क्षेत्रमा यातायात तथा बाटोघाटो व्यवस्थापन गर्न जिविसले पहल गर्ने बताए । कार्यक्रममा कास्की कांग्रेसका सचिव युवराज कुँवर, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल, पूर्व अध्यक्ष विश्वप्रकाश लामिछाने, क्षेत्रीय प्रशासन कार्यालयका सह–क्षेत्रीय प्रशासक दिवाकर बाँस्तोला, पर्यटन व्यवसायी वासु त्रिपाठी लगायतले पोखरामा स्वच्छ पिउने पानी उपलव्ध गराउन आवश्यक रहेको भन्दै जाइकाले गर्ने काममा सबै क्षेत्रको सहयोग रहने बताएका थिए । संस्थानका इन्जिनियरिङ्ग विभागका प्रमुख ई. ईश्वर प्रसाद,  ई. बुद्धरत्न महर्जन लगायतले संस्थानको तर्फबाट आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top