0
गोल्डेन न्यूज संवाददाता
नेपाल राष्ट्र बैंककम निवर्तमान गभर्नर डा. युजराज खतिवडाले बैंकहरुले कार्य र क्षेत्र विस्तार गर्दा राज्यको संघीय संरचनामा आधारित काम गर्नुपर्नेमा जोड दिएका छन् । उनले राज्यको समग्र पक्षलाई समेट्ने गरि क्षेत्रगत लगानी गर्नुपर्ने अवधारणा अन्तर्गत कृषि क्षेत्रको लगानीमा जोड दिए । सिटी डेभलपमेन्ट बैंक पोखराको लामाचौर शाखा उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेको खतिवडाले यस्तो बताएका हुन् । उनले माछापुच्छ्र«े कृषि केन्द्र पुरुञ्चौर, गण्डकी ट्राउट फार्म सार्दिखोला र अन्नपूर्ण क्षेत्रदीप रेन्वो ट्राउट कृषि अनुसन्धान केन्द्र सार्दिखोलालाई सम्मान गर्दै शाखाको उद्घाटन गरेका थिए । सिटी बैंकको लामाचौर शाखाले कृषिक्षेत्रमा मात्र लगानी गर्ने बताइएको छ । बैंकले ‘युवा व्यवसायिक कृषि कर्जा’ शीर्षक दिएर त्यस क्षेत्रका कृषकको जीवनस्तर उकास्नमा सहयोग गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।  उनका अनुसार त्यस क्षेत्रमा रहेका एक सय जना कृषकलाई दुई लाखदेखि १ करोडसम्मको कर्जा ६ प्रतिशत व्याजदरमा प्रदान गरिने छ । यसै सन्दर्भमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि डा. खतिवडाले भने–‘बैंकहरुले कृषि क्षेत्रमा लगानी गर्दा कृषि विज्ञको समेत राय सुझाव लिन आवश्यक छ ।’ उनले बैंकहरुले सामाजिक उत्तरदायित्व शीर्षकमा खर्च गर्दा कृषकलाई सम्मान हुने खालको कार्यक्रम संचालन गर्न आग्रह गरे । बैंकका अध्यक्ष राजेन्द्र कुमार बाटाजूको अध्यक्षमा भएको र्काक्रममा बैंकका प्रवन्धक पदम जिसी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, गण्डकी आवसीय उच्च माविका प्राचार्य रवि बराल, नव आदर्श क्लवका अध्यक्ष धर्मसिंह भण्डारी बैंकका शाखा प्रवन्धक गोविन्द आचार्य लगायतले बैंकका गतिविधि बारे आ–आफ्ना धारणा राखेका थिए । पोखराको चिप्लेढुङ्गामा प्रधान कार्यालय रहेको बैंकको लामाचौरमा संचालित शाखा १६औं हो । बैंकले यसअघि कास्कीका विभिन्न स्थान, तनहँ, लमजुङ, मनाङ, बाग्लुङ र चितवन गरि १५ शाखा संचालनमा ल्याइरहेको छ । वि.सं. २०६४ सालमा स्थापित बैंकले समय सापेक्ष प्रविधिहरुको प्रयोग गर्दै सुरक्षित,आधुनिक तथा ग्राहकमुखी बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । चुक्तापुँजी ४६ करोड ८१ लाख ६० हजार रुपैयाँ रहेको बैंकले २०७२ आषाढ मशान्त सम्ममा ५ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन, ४ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरि २४ करोड १५ लाख रुपैया संचालन मुनाफा आर्जन  गर्न सफल भएको बताइएको छ । बैंकले मनाङको चामेबजार शाखा लगायत अधिकांश शाखाहरुमार्फत लघुबित्त कार्यक्रम सञ्चालन गर्नुका साथै युवासँग सिटी कार्यक्रम मार्फत युवा वर्गलाई लक्षित गरि लघुवित्त सेवा सञ्चालनमा ल्याएको छ । बैंक पोखराको ओम फाइनान्ससंग मर्जरको तयारीमा छ ।

Post a Comment

 
Top