0
गोल्डेन न्यूज संवाददाता
सिप सिकौं, आत्मनिर्भर बनौं’ भन्दै वडा समन्वय आमा महिला समिति पोखरा–५ले १५ दिने ढकिया बनाउने तालिम बिहीबार सम्पन्न गरेको छ । साउन २० गतेदेखि भदौं २ गतेसम्म सञ्चालित तालिममा वडा नं. ५ का ११ वटा आमा तथा महिला समूहको सहभागिता रहेको थियो । सहभागी प्रशिक्षार्थीहरुलाई कास्की जिल्ला हस्तकला संघकी अध्यक्ष एवम् पोखरा उद्योग वाणिज्य संघकी सदस्य हिरा भट्टराईले प्रमाणपत्र बितरण गर्दै अरु महिलाहरुलाई पनि सिप सिकेर महिलाहरुलाई आत्मनिर्भर बन्न आग्रह गरिन् ।  प्रमुख अतिथि भट्टराईले जानेको सीपलाई व्यवसायमा परिवर्तन गर्न सकेमात्र तालिम लाभदायक हुने विचार व्यक्त गरिन् । टोल विकास संस्था नगर समन्वय समिति पोखराका अध्यक्ष तथा समाजसेवी उज्वल खत्रीले तालिम लिने मात्र नभई तालिमबाट सिकेका ज्ञानहरुलाई आ–आफ्नो संस्थामा समेत सिकाएर आयआर्जन गरी आत्मनिर्भर बन्न सबैलाई अनुरोध गरे । प्रशिक्षकद्वय विष्णु ठकुरी र कृष्ण कुमारीले तालिममा सहभागी दिदीवहिनीहरुको समन्वय भूमिका र तालिमप्रतिको लगाव देख्दा खुशी लागेको बताए । उनीहरुले तालिममा सहभागीहरुलाई सीप व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरे । कुनै पनि संघसंस्थाको सहयोग विना रेडक्रस भवन पोखरा(५ मा सञ्चालित तालिममा कच्चा सामाग्री, चियापानी र प्रशिक्षक खर्च गरी ४० हजार रुपैयाँ खर्च भएको वडा समन्वय आमा महिला समितिका अधयक्ष कालिका थापाले जानकारी दिईन् । कार्यक्रममा सहभागी प्रशिक्षार्थीको तर्फबाट विमला ढकाल र हरिमाया विश्वकर्माले तालिम साँच्चैकै उपलब्धिमूलक हुने भन्दै आयोजकलाई धन्यवाद दिएका थिए । उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष उर्मिला पौडेल र कार्यक्रमको अध्यक्षता आमा महिला समन्वय समिति पोखरा–५ कि अध्यक्ष कालिका थापाले र सञ्चालन सचिव सावित्री कोइरालाले गरेका थिए ।

Post a Comment

 
Top