गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेस कास्कीका नेता रामजी पौडेल बादलको हत्यामा संलग्न रहेको भनि बहुप्रचारित दुई जना युवा सहित अन्य केहीलाई प्रहरीले पक्राउ गरेको छ । गत साउन २८ गते बेलुका कास्कीको लेखनाथ नगरपालिकाको गगनगौंडा नजिकै स्थानीय रामजी बादलको हत्या गरिएको थियो । उनको हत्यामा कांग्रेसकै तरुण युवाहरु संलग्न रहेको चर्चा भइरहेको बेला हत्यामा प्रत्यक्ष संलग्न रहेका भनिएका विश्वास गौतम र प्रकाश गुरुङलाई प्रहरीले पछिल्लो पटक नियन्त्रणमा लिएको थियो । हत्या काण्डमा संलग्न रहेका राजु रानाभाटलाई घटना लगत्तै प्रहरीले पक्राउ गरेको भएपनि गौतम र गुरुङ सहित रविन केसी भने फरार भएका थिए । बादलको हत्या प्रकरणका योजनाकारको रुपमा किटानी जाहेरी परेपछि लेखनाथ कांग्रेसका सभापति राजेन्द्रमणि लामिछानेले पनि प्रहरी हिरासतमा दिन बिताइरहेका छन् । विश्वस्त स्रोतका अनुसार बादल हत्या प्रकरणमा फरार भएका विश्वास गौतमलाई प्रहरीले भारतको देहरादूनबाट पक्राउ गरि बुधबार बिहान मात्र जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याएको हो । गौतमसंगै फरार रहेका गुरुङ केही दिन पोखरा बाहिर गएपनि उनकी केटीसाथीसंग कुरा भएपछि पुनः पोखरा फर्किएर लेकसाइड क्षेत्रमा भूमिगत अवस्थामा बसिरहेका थिए । गुरुङले मंगलबार बेलुका नै लेखनाथ नगरपालिकास्थित डाँडाको नाक प्रहरी चौकीमा आत्मसमर्पण गरेको बताइन्छ । गौतम र गुरुङ सहितको टोलीलाई पोखराबाट देशबाहिर पठाउन सहयोग गर्ने तनहुँ र नवलपरासीका केही युवालाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । गौतमलाई भारतीय प्रहरीको सहयोगमा र कास्कीबाट गएको प्रहरी टोलीले पहिचान गरेको आधारमा पक्राउ गरेपछि बुधबार बिहानमात्र पोखरा ल्याउन प्रहरी सफल भएको थियो । गुरुङ भने गौतमसंगै फरार भएपनि उनकी केटीसाथीसंग टेलिफोनमा कुराकानी भएपछि पोखरा फर्किएको र मंगलबार बेलुका आत्मसमर्पण गरेको बताइन्छ । बादललाई रातिको समयमा बाटो कुरेर हत्या गर्ने टोलीमा रहेका रविन केसीको खोजी जारी रहेपनि अझैसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । कास्कीका प्रहरी प्रमुख अर्थात प्रहरी उपरीक्षक हरिबहादुर पालले गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै पक्राउ परेकाहरुलाई बिहीबार सार्वजनिक गर्ने तयारीमा आफूहरु रहेको बताए । घटनाका सम्बन्धमा क–कसलाई कहाँ–कहाँबाट र के–कस्तो अवस्थामा पक्राउ गरिएको भन्ने बारेमा भने उनले केही बताउन चाहेनन् । एसपी पालले बादल हत्या प्रकरण पछि प्रभावकारी अनुसन्धान अघि बढाएर अपराधीहरुलाई कठघरामा ल्याउन पहल गरेको भने बताए । अन्य केही फरार अभियुक्तको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको समेत बताइन्छ । बादलको हत्या प्रकरणलाई लिएर मंगलबार कास्की कांग्रेसले बादलको निवास नजिकै लेखनाथको गगनगौंडामा आयोजना गरेको श्रद्धाञ्जली सभामा पार्टीका स्थानीयदेखि केन्द्रीय तहसम्मका सबै समूहका नेताहरुले अपराधीहरु कुनै हालतमा उम्कन नपाउने अभिव्यक्ति दिए लगत्तै हत्यामा प्रत्यक्ष संलग्न रहेका भनिएका दुई जनासहित पाँचजना पक्राउ परेका हुन् । श्रद्धाञ्जली सभामा बोल्ने पार्टीको संस्थापन र नेता शेरबहादुर देउवा पक्षधर सबैजसोले अपराधीलाई कार्वाही गर्न सबैको सक्रिय सहयोगको अपेक्षा राखेका थिए ।
Post a Comment