0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवाले शुक्रबारदेखि चार दिने नगरस्तरीय एच आई भी एड्स,लागूओषध तथा ट्राफिक जनचेतना कार्यक्रम सुरु गरेको छ । विकृति र विसंगति रहित समाजको निमार्ण हाम्रो अभियान भन्ने मूल नाराका साथ सुरु भएको कार्यक्रमको उद्घाटन गर्दै लेखनाथ नगरपालिकाका कानूनी सल्लाहकार राममणि अधिकारीले नगरको चौतर्फी विकासका लागि भौतिक विकास संगसंगै मानवीय संशाधनको विकासलाई पनि अगाडि बढाउनु पर्नेमा जोड दिए । सोही अवसरमा बोल्दै जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष विष्णुबहादुर भट्टराईले युवाहरुमा बढ्दो कुलतबाट टाडाँ रहनका लागि जनचेतनाको आवश्यक छ र साथमा अभिभावक हरुले पनि त्यस तर्फ बढि चासो देखाउनुपर्ने धारणा राखे । लेखनाथ सामुदायिक सेवा केन्द्रका कार्यबाहक अध्यक्ष दयाराम तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा त्रिवेणी ईन्टरनेशनल कलेजका प्राचार्य यदुराज आचार्य, लेखनाथ नगरपालिकाका बालश्रम मुक्त अभियानका फोकल प्रशन दिपक कोईराला र कार्यक्रम संयोजक रमेश ओझा लगायतले कुलतबाट टाढा रहुनुनै अहिलेको आवश्यकता रहेको बताएका थिए । लेखनाथ सामुदायिक सेवा केन्दका निर्वतमान अध्यक्ष शेरबहादुर गुरुङले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन सह–सचिव त्रिलोचन लामीछानेले गरेका थिए । लेखनाथको त्रिवेणी ईन्टरनेशन कलेजको स्नातक तहमा अध्यनरत विद्यार्थीहरुका लागि राखेको कार्यक्रममा एच आई भी एड्सका सम्बन्धमा नौलो घुम्तीका रामशरण सेडाई, लागूओषधका बारेमा ओम गुरुङ र ट्राफिक जनचेतनाका सम्बन्धमा जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक भीमराज ओलीले सहजीकरण गरेका थिए । चार दिन सम्म चल्ने कार्यक्रम अन्तर्गत दोस्रो दिन लेखनाथको लामेआहाल, तेस्रो दिन भरतपोखरीको कालिका स्थान र अन्तिम दिन लेखनाथ ३ को अर्घौमा कार्यक्रम रहने संयोजक रमेश ओझाले गोल्डन न्यूज दैनिकलाई जानकारी दिए ।

Post a Comment

 
Top