0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका र स्थानीयको खर्चमा आयोजना गरिएको चाउथे–बिरौटा कालोपत्रे योजना सम्पन्न भएको छ । कूल ५९ लाख ६३ हजार ३६४ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त योजनामा स्थानीयको ४० प्रतिशत लगानी रहेको छ । गतवर्षको चैतदेखि शुरु भएको योजना असारको १४ गते सम्पन्न भएको चाउथे–बिरौटा पीच बाटो निर्माण समितिका संयोजक भीमबहादुर कुँवरले जानकारी दिए । पोखरा उपमहानगरपालिका वडा नम्बर १४ मा भएको उक्त योजनासँगै अन्य क्षेत्रमा रहेका बाटोमासमेत कालोपत्रे गर्ने योजना भएको छ । कूल लागतमध्ये जगेडा कोषबाट २९ लाख ८१ हजार ६८२, नगरपालिकाबाट ११ लाख ९२ हजार ६७२ र स्थानीय उपभोक्ता बाट १७ लाख ८९ हजार ९ रुपैयाँ खर्च भएको समितिका कोषाध्यक्ष जीवनप्रसाद भण्डारीले जानकारी दिए । योजनाभित्र ५ सय ७१ मिटर कालोपत्रे र दुबै साइड गरी २  सय ८० मिटर नाला निर्माण गरेको छ । त्यसबाहेक ९१ मिटर गटर नाला र २१ मिटर रिटेनिङ् वाल निर्माण भएको समितिका सदस्य सचिव राजु थापाले जनाएका छन् । उक्त सडक नगरपालिकाको मापदण्ड भित्र रहेको छ भने सडकको चौडाई ७ मिटर र २ मिटर नालाको व्यवस्थापन गरिएको छ । उक्त सडकमार्गबाट स्थानीय लगायत लेखनाथ, भरतपोखरी, निर्मलपोखरी वासीले समेत लाभ लिन सक्नेछन् । उक्त सडकखण्डलाई पोखराको मिनी रिङ्रोड समेत भन्ने गरिएको छ ।
यसैगरी पोखरा उपमहानगर पालिका, चाउथे १४ बेलचौतारामा रिटेनिङ् वाल निर्माण कार्य पुरा भएको छ । उक्त क्षेत्रमा उप–महानगरपालिका र स्थानीयको स्रोतमा २० मिटर वाल निर्माण गरिएको बेलचौतारा रिटेनिङ् वाल निर्माण समितिका अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिए । कूल ७ लाख ४२ हजार ७६८ रुपैयाँ लागत रहेको उक्त निर्माण आयोजनामा नगरपालिकाले ६० र स्थानीयले ४० प्रतिशत खर्च ब्यहोरेका छन् । जसअनुसार स्थानीयबाट २ लाख ९७ हजार २ सय रुपैयाँ उठाइएको थियो । निर्माण योजना सम्पन्न गर्न दुई साता लागेको समितिले जनाएको छ ।

Post a Comment

 
Top