0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ उद्योग वाणिज्य संघको आगामी भदौमा हुने नयाँ कार्यसमितिको निर्वाचनका लागि व्यवसायीका बीच उम्मेदवारी चर्चा शुरु भएको छ । संघको १०औंैं महाधिवेशन भदौको अन्तिम हप्ता हुँदैछ । एक अध्यक्ष सहित, कार्यसमितिमा खुल्ला तर्फ १०, महिला एक, एशोसिएट एक र संस्थागत एक गरी १३ जना सदस्यका बीच प्रतिस्पर्धा हुनेछ । चुनावी मिति नजिकिंदै जाँदा प्रतिस्पर्धीका आंकाक्षीहरुले आफ्नो पक्षमा माहोल बनाउन शुरु गरेका छन् । गत बैशाखमा आएको विनाशकारी भूकम्पपछि सुस्ताएको संघको चुनावी वातावरण विस्तारै तात्दै गएको छ । दुई बर्षे कार्यकालका लागि हुने निर्वाचनमा वर्तमान अध्यक्ष बाबुराम गिरीले नदोहो¥याउने भएपछि त्यसका आंकाक्षीमा संघकै प्रथम उपाध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी र कार्यसमितिका पूर्व सदस्य एलके शर्मा प्रतिस्पर्धामा उत्रिने पक्का जस्तै छ । यद्यपि दुवै पक्षका बीच संवाद गरेर सर्वसम्मत नेतृत्व चयनको प्रयासको विकल्प पनि खुल्ला रहेको एक व्यवसायीले गोल्डेन न्यूज दैनिकलाई बताए । दुवै जना बाहेक तेश्रो व्यक्तिमा सर्वसम्मत पनि हुन सक्छ । ति व्यवसायीले भने–‘पहिलो दुवै जनाका बीचमा कडा प्रतिस्पर्धाको वातावरण छ, दोश्रो दुवै जनालाई मिलाएर अघि बढ्न सकिन्छ र अन्तिम विकल्पमा तेश्रो व्यक्ति हुन पनि सक्छ ।’ एलके शर्मा लेखनाथ उद्योग वाणिज्य संघमा स्थापनाकालदेखि क्रियाशील रहेका छन् । उनलाई प्रजातन्त्रवादी व्यवसायीले साथ दिने निश्चित जस्तै छ । त्रिपाठी यस पटक प्रथम उपाध्यक्ष रहेको भएपनि उनलाई वामपन्थी व्यवसायीले सहयोग गर्ने बताइन्छ । अघिल्लो पटकको निर्वाचनमा तत्कालिन महासचिव गिरीसंग प्रतिस्पर्धा नगरेका कारण कतिपयले त्रिपाठीलाई कमजोर उम्मेद्वारको रुपमा चित्रण गर्न थालेका छन्  । अघिल्लो पटक बाबुराम गिरी महासचिव र त्रिपाठी द्वितीय उपाध्यक्षको रुपमा रहेकोमा महासचिव रहेका गिरीले प्रजातन्त्रवादी उद्योगी व्यववसायी हरुको साथ लिएर अध्यक्ष निर्वाचित भए भने त्रिपाठीलाई गिरीले नै प्रथम उपाध्यक्षको रुपमा पदाधिकारीमा चयन गरेका हुन् । यस पटक प्रजातन्त्रवादीहरु विभाजित नभएमा शर्मा अध्यक्ष बन्ने सम्भावना बलियो छ । तर समिकरण राजनीतिक हिसावले कायम हुन नसकेमा त्रिपाठीको सम्भावनालाई समेत नकार्न सकिंदैन । दुई अध्यक्षका आकाक्षीसँगै पक्ष विपक्षमा सदस्य उठ्नेहरुले कित्ता काट गरेका छैनन । तर पनि पुराना प्रायः सबैले उम्मेदवारी दिने आकांक्षा राखेको देखिएको छ ।
 वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीलाई एक पक्षले अध्यक्षको प्रत्यासीका रुपमा अघि बढाएको छ भने गत बर्ष वर्तमान कार्यसमितिका अध्यक्ष बाबुराम गिरीसँग पराजित भएका एल के शर्माले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यसैगरी वर्तमान कार्यसमितिका द्वितीय उपाध्यक्ष कृष्णहरि भण्डारी, महासचिव बलराम ढकाल, उपमहासचिव भरतकुमार अधिकारी, कोषाध्यक्ष छत्रधर आत्रेय, सदस्यहरु विनोद श्रेष्ठ, गीता सुवेदी, वसन्त मोहन भट्टराई, ऋषिराम जमरकट्टेल, मेनुका श्रेष्ठ, प्रशान्तराज धमला, दुर्गा प्रसाद अधिकारी, मेजर रामप्रसाद गुरुङ्ग र गोपिचन्द्र बाँस्तोलाले पनि उम्मेदवारी दिने एक व्यवसायीले बताए । वर्तमान कार्यसमितिका सवैले उम्मेदवारी दिए भने केही बाहिरिने सम्भावना उत्तिकै रहेको छ । भने केही नयाँ अनुहार प्रभावशाली दावेदारका रुपमा देखिएका छन् । यसबर्ष भक्तवहादुर के.सी,  राजेन्द्र ओझा, फेन्सी व्यवसायी शिव भण्डारी लगायतको पनि उम्मेदवारीमा चर्चा रहेको छ । गत बर्ष चुनावमा पराजित भएका  पुरुषोत्तमराज भण्डारी, रामजी पौडेल, दामोदरभक्त थापा, दिपेन्द्र ज्योति ढुंगाना लगायतले पनि सदस्यको उम्मेदवारी दिने तयारी गरेको वताइएको छ । त्यसैगरी विमला बस्नेत, राधा सापकोटा प्रभा पौडेलको पनि चर्चा रहेको छ । संघमा हालसम्म ९ सय ४४ सदस्य रहेका छन् । कार्यसमितिले साधारण सभाको तिथिमिति नतोकिन्जेलसम्म साधारण सदस्य लिन सकिने भएकाले अझै दुई सयको हाराहारीमा सदस्य थप हुन सक्ने बताइएको छ । अहिले साधारण सदस्य पाएकाको पनि मताधिकार र उम्मेदवारी दिन पाउने संघको विधानमा उल्लेख छ ।

Post a Comment

 
Top