0
असार १५ अर्थात १२ औं राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइएको छ ।  हिलोमा एकपटक पाइला टेक्नै पर्ने मान्यता नेपालीहरुको रहेको र त्यही मान्यतालाई निरन्तरता दिन पोखरामा असारे रोपाई महोत्सवको प्रचलन सुरु भए पनि पछिल्ल्लो  समय यसलाई पर्यटन प्रबद्र्धन गर्ने माध्यमको रुपमा विकास गरिदै आएको छ। यस वर्ष भने भूकम्पको पीडा भोग्न बाध्य नेपालीहरुलाई उनीहरुको जनजीवन सामान्य अवस्थातर्पm लैजान पनि महोत्सवले सन्देश दिने विश्वास गरिएको छ ।  असार १५ मा कृषकले दही चिउरा खाएर धान रोप्ने गर्दछन् । यो नेपालको पुरानो प्रचलन हो । मुलकका धेरैजसो स्थानमा धानको खेती हुने भएकाले आमजनतालाई यसका बारेमा सकारात्मक सन्देश प्रवाह गरी उत्पादन वृद्वि गर्न विगत केही वर्षदेखि राष्ट्रियस्तरमा यो महोत्सव मनाउन थालिएको हो । धानखेती गर्ने नेपाललगायत ५४ राष्ट्रले संयुक्त राष्ट्र संघलाई धानको विश्वव्यापीरूपमा व्यापक प्रचारप्रसार गर्ने हेतुले धान दिवस मनाउन अनुरोध गरेपछि सन् २००४ को अवधिभर विश्वभर धानवर्ष मनाइएको थियो । सोही समयदेखि नेपालमा पनि सो दिवसलाई महत्व दिएर मनाउन थालिएको हो । तर हरेक वर्ष दिवस मनाइने गरे पनि धानको उत्पादन भने सोचेजस्तो बढाउन नसकेको विज्ञहरूको भनाइ छ । पोहोरको तुलनामा यसपाली धानको उत्पादन घटेको छ । नेपालमा करिब ९० अर्ब रुपैयाँबराबरको धान उत्पादन हुने गरेको छ । कुल धानखेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्रमा आकाशे पानीको भरपर्नुपर्ने स्थिति छ । धान नेपालको मुख्य अन्नबाली हो । मुलुकका अधिकांश क्षेत्रमा उत्पादन हुनाले पनि धानको प्रयोग अधिकांश घरमा हुने गर्दछ । यद्यपि जलवायु परिवर्तनले वातावरणमा पारेको नकारात्मक प्रभाव तथा मुलुकको भौगोलिक बनोट एवम् अन्य कारणले केही वर्ष यता धान उत्पादमा ¥हास आएको छ । यस वर्ष नेपालमा आएको महाभुकम्पका कारण धानको उत्पादन अझै घट्ने सम्भावना छ । विश्वमा देखिएको जलवायु परिवर्तनका कारण समयमा वर्षात् नहुने, बेमौसममा वर्ष हुने, धानको बीउ राख्न ढिलो हुने, ब्याडमै बीउ मर्नेलगायतका समस्याले धानखेतीमा प्रतिकूल असर पारी रहेको छ । अझ पछिल्लो समयमा राम्रो उत्पादन हुने धान खेत प्लटिङमा परिणत हुन थालेपछि थप चुनौती देखा परेको छ । यद्यपि सरकारी तथ्यांक अनुसार तीस वर्षको अवधिमा दोब्बर धान उत्पादन भएको छ । सन् १९७० को दशकमा नेपालमा धानको समग्र उत्पादन २० देखि २२ लाख टनमात्र हुने गदर्थे तर सन् २०००मा आईपुग्दा दोब्बरको अनुपातमा बढेर ४५ लाख टन उत्पादन हुने गरेको छ । सरकारी तथ्यांक जस्तो भए पनि पछिल्लो एक दशकको अवधिमा बढेको जनघनत्व र प्लटिङका कारण उत्पादनमा ¥हास आएको छ भने खाद्यान्न अभाव पनि देखिन थालेको छ । जिल्ला कृषि विकास कार्यलय कास्कीका अनुसार अघिल्लो वर्ष २५ हजार ९ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ  । असारको दोस्रो सातासम्म कास्कीको धान खेती हुने ५० प्रतिशत क्षेत्रफलमा धान रोपाई सकिने गरेको भए पनि यस वर्ष वर्षात नभएको कारण धान रोपाईले गति लिन सकेको छैन ।  सिंचाईको अभावका कारण मुलुकका विभिन्न जिल्लामा समयमा नै धान रोप्न नपाउने समस्या छ । यसतर्फ राज्य समयमा नै गम्भीर हुनु आवश्यक छ । उत्पादनमा ह्रास आउन नदिन सिंचाईको सुविधा, कृषकमा वैज्ञानिक खेती प्रणालीको सचेतना आदिमा राज्यले गम्भीरता देखाउनु जरूरी छ । होइन भने बढ्दो जनघनत्व, जलवायु परिवर्तनले भोलीका दिनमा खाद्यान्न अभावको महामारी नफैलिएला भन्न सकिन्न । यसबाट सबै सचेत बन्न जरुरी छ ।

Post a Comment

 
Top