गोल्डेन न्यूज संवाददाता
कास्कीको लेखनाथ नगरपालिका वडा नं. १४ मा रहेका तीन टोललाई बालश्रम मुक्त टोल घोषणा गरिएको हो । दारिमबोटे, बहडरे र सातमुहाने टोललाई मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि बेगनास बस व्यवसायी समितिका अध्यक्ष बुद्धिनाथ वास्तोलाले बालश्रम मुक्त टोल घोषणा गरेका हुन् । बाल श्रम मुक्त टोल घोषणा गर्नु अघि टोल विकास संस्था समन्वय समिति लेखनाथ—१४ को टोली ले नगरपालिकाको सहयोगमा प्रत्येक घरधुरीमा गएर सर्भे गरेको थियो । बालश्रम मुक्त टोल घोषण कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाँस्तोलाले विगत लामो समय यातायात क्षेत्रलाई बालश्रम युक्त क्षेत्र बनाइँदै आएकोमा वर्तमान समयमा यातायात क्षेत्रलाई पूर्ण बालश्रम क्षेत्र मुक्त बनाएको बताए । उनले कार्यक्रममा सहभागीहरुलाई पनि बालबालिका लाई जोखिम र अप्ठ्यारो काममा श्रमिकको श्रपमा काम नगराउन आग्रह गरे । बालबालिकालाई माया, आदर र संरक्षण गर्दै विद्यालय पठाउन आग्रह गरे । कार्यक्रममा बालमैत्री स्थानिय शासन कार्यक्रमका फोकल पर्सन दिपक कोइराला, टिम अर्गनाइजेसन टोली संस्थाका कार्यक्रम संयोजक दूधकाशी गुरुङ, शान्ति बाटिका स्कुलका प्रिन्सिपल गणेशप्रसाद भण्डारी, टोल विकास संस्था नगर समन्वय समिति नगर संयोजक छविलाल लामिछाने, बडहरे टोल विकास संस्थाका अध्यक्ष लक्ष्मण नेपाली, दारिमबोटे टोल विकास संस्थाका अध्यक्ष हिरालाल विश्वकर्मा, बाल क्लबका अध्यक्ष लक्ष्मी नेपाली, दारिमबोटे आमा समुहका अध्यक्ष चन्द्रमाया घर्ती, तारामण्डल आमा समूहका अध्यक्ष चिजमाया सुनार लगायतले बोलेका थिए । घोषण पछि तीन वटै टोललाई बालश्रम मुक्त टोलको प्रमाणपत्र वितरण गरिएको थियो । हाल दारिमबोटे टोलमा ३६ घरधुरी, बडहरे टोलमा ६० घरधुरी र सातमुहाने टोलमा १ सय २६ घरधुरी रहेका छन् । बालश्रम मुक्त टोलका प्रत्येक घरमा अहिले बालश्रम मुक्त संकेतको हरियो झण्डा र ब्यानर राख्ने कार्यक्रम भइरहेको छ । टोल विकास संस्था समन्वय समिति लेखनाथ—१४ का अध्यक्ष टिकाराम पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा जनकल्याण सामाजिक अध्ययन केन्द्रका परिचालक तारा ढुङ्गानाले स्वागत र जनकल्याण युवा क्लबका सचिव उपेन थापाले कार्यक्रमको सञ्चालन गरेका थिए ।
Post a Comment