गोल्डेन न्यूज संवाददाता
कास्कीमा पहिलो पटक एक निर्वाचन क्षेत्र एक बहुबर्षीय योजना सुरु भएको छ । यो बर्षदेखि जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा बहुबर्षीय सडक योजना सञ्चालन गर्न लागिएको हो । डिभिजन सडक कार्यालय पोखरा मार्फत जिल्लाका विभिन्न ४ वटा सडकलाई यो योजनामार्फत स्तरोन्नति गर्ने तयारी गरिएको छ । जसअन्तर्गत क्षेत्र नम्बर १ मा बेगनास–भोर्लेटार सडक योजना, क्षेत्र नम्बर २ मा फूलवारी मनिपाल–काहुँ धरहरा सडक, क्षेत्र नम्बर ३ मा चिसापानी–सिंगारेबास–टक्सार सडक र क्षेत्र नम्बर ४ मा पोखरा बागलुङ्ग बसपार्क–सराङ्गकोट–ढिकुरपोखरी सडक स्तरोन्नति गर्न लागिएको कार्यालयका प्रमुख नरेन्द्र सुवेदीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । सुवेदीका अनुसार यी सडकहरुमा पहिलो पटक करिब २७ करोड रुपैयाँ खर्च गरिनेछ । ‘पहिलो पटक राम्रो योजना सञ्चालन हुने तयारीमा छ’ उनले भने–‘अहिले टेण्डर आह्वान भैसकेको छ, साउनदेखि नै काम सुरु गर्छौं ।’ छनौट भएका सडकमध्ये सबैभन्दा धेरै मनिपाल काहुँ सडकको १० किलोमिटर खण्डलाई १२ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए । यस्तै बाँकी रहेका सडकहरुमा ५÷५ करोड रुपैयाँ लगानी हुनेछ । स्तरोन्नति गर्न लागिएको बेगनास–भोर्लेटार सडकको करिब ४ किलोमिटर, चिसापानी–टक्सार सडकको ३ किलोमिटर र बागलुङ्ग बसपार्क–ढिकुरपोखरी सडकको करिब १० किलोमिटर खण्डमा काम हुने कार्यालयका ईञ्जिनियर विश्व विजयलाल श्रेष्ठले जानकारी दिए । सबै सडकहरु अहिले टेण्डर प्रक्रियामा रहेको उनले बताए । टेण्डर स्वीकृत भएपछि, ठेक्का मार्फत आगामी साउनदेखि नै काम सुरु हुने कार्यालयले जनाएको छ । ‘यी सडकहरुलाई जिल्लाको मूख्य सडकका रुपमा राखेर बर्षेनी स्तरोन्नति हुँदै आएपनि देखिने गरी काम हुन सकेको थिएन । स्तरोन्नति त पहिले पनि हुँदै आएको थियो’ श्रेष्ठले भने–‘तर यति ठूलो रकम थिएन, अहिले रकम पनि राम्रो छ काम पनि राम्रै हुन्छ । सडक स्तरोन्नति हुने भएपछि साँघुरो र अप्ठ्यारो सडकको सामना गर्दै आएका यस क्षेत्रका स्थानीयहरुले राहत पाउने छन् ।’ सडक स्तरोन्नतिको योजना संविधान सभाको निर्वाचनमा जिल्लाबाट निर्वाचित सभासदहरु को पहलमा राष्ट्रिय योजना आयोग तथा अर्थ मन्त्रालयले स्विकृत गरेर जिल्लामा पठाएको श्रेष्ठले बताए । यसैबीच, जिल्ला विकास समिति कास्कीले पनि केही बर्ष्भित्र जिल्लाका विभिन्न ८ वटा ठूला सडकहरुको स्तरोन्नति गर्ने तयारी गरेको छ । जसमा सबैभन्दा पहिले कास्कीकोट–सराङ्गकोट–ढिकुरपोखरी सडकको स्तरोन्नतिको काम गरिनेछ । यसका लागि टेण्डर प्रक्रिया समेत सुरु भैसकेको छ । एसएनआरटिपी परियोजना मार्फत ५ बर्ष्भित्रमा योसँगै बैदाम–पामे–घाटिछिना, लामाचौर—माछापुच्छ्रे सडक कालोपत्रे गरिनेछ । यस्तै सातमुहाने–रुपाकोट–थुम्की, कसेरी—भैंसे, छोरेपाटन—निर्मलपोखरी–भरतपोखरी, राखी—मिजुरे र काहुँखोला—दुधपोखरी सडकलाई पनि कालोपत्रे गरिने जिल्ला प्राविधिक कार्यालयका प्रमुख ईञ्जिनियर नारायण श्रेष्ठले जानकारी दिए । विश्व विकास बैंकको सहयोगमा कास्कीकै लेखनाथमा पनि ६ वटा सडकहरु स्तरोन्नति गर्ने तयारीमा रहेको बताइन्छ ।
Post a Comment