गोल्डेन न्यूज संवाददाता
झण्डै तीन सय बर्षको ईतिहास बोकेको पोखराको विन्ध्यवासिनी मन्दिरको मुख्य प्रतिमा खिइँदै गएपछि दर्शनार्थीहरु लाई बाहिरबाटै दर्शन गरेर फर्कने गरी नयाँ व्यवस्था गर्न लागिएको छ । पोखराको गहनाको रुपमा रहेको डेढ सय बर्ष अघिको विन्ध्यवासिनी माताको प्रतिमा जोगाउन मुस्किल भएपछि यो व्यवस्था गर्न लागिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा जाने दर्शनार्थीले अहिले प्रतिमामा आफै पूजा गर्न पाउछन् । तर दर्शनार्थीले चढाएको पानी, अविर लगायतका वस्तुले माताको मूर्ति (प्रतिमा) खिइँदै गएपछि त्यसको अस्तित्वनै समाप्त हुने खतरा बढेर यो विकल्प अघि सारिएको बताइन्छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठका अनुसार प्रतिमामा रहेको देवीको चाँदीको आखा पनि मेटिन लागेको छ । उनले भने–‘मुख पनि क्षतिग्रस्त अवस्थामा छ, खुट्टा भन्दा तलको भाग पनि क्षतिग्रस्त भएपछि रुमालले छोपेर नदेखिने गरी पूजा भैरहेको छ ।’ दर्शनार्थीले चढाउने कतिपय वस्तुमा हुने केमिकलले प्रतिमा खिईएको समितिले जनाएको छ । प्रतिमा खिइँदै गएको जानकारी पाएपछि आएको पुरातत्व विभागको टोलीले पनि मर्मत गर्न नसकेको भन्दै प्रतिमा जोगाउन बाहिरबाटै दर्शन गर्ने गरी नयाँ व्यवस्था गर्न स्वीकृति मागिएको बताइन्छ । मर्मतका लागि आएको पुरातत्व विभागको टोलीले मन्दिर परिसरमै रहेको गणेशको प्रतिमामा भएको क्षति भने मर्मत गरेर फर्किएको थियो । पोखराका अग्रज कलाकार कृष्णप्रसाद श्रेष्ठले बनाएको विन्ध्यवासिनी माताको प्रतिमाको आकार हेरी मर्मतको प्रयास भएपनि टोली सफल हुन सकेन । सुरक्षाको उपाय नअपनाउने र यहि गतिमा प्रतिमा खिइँदै जाने हो भने अबको १० बर्षमा विन्ध्यावासिनी माताको प्रतिमा पूर्ण रुपमा क्षतविक्षत हुने श्रेष्ठले बताए । पुरातत्व विभाग र संस्कृति मन्त्रालयको स्वीकृति आएमा दर्शनार्थीको लागि नयाँ व्यवस्था गरी प्रतिमाको सुरक्षा गरिने उनले बताए । विन्ध्यवासिनीको प्रतिमा जोगाउन चाँदीले ढाकेर त्यस्तै स्वरुप बनाउने अस्थायी उपाय पनि अपनाउन सकिने भएपनि स्थायी रुपमा जोगाउन मूर्तिलाई छुन नदिई दर्शन गर्ने र परिक्रममा मात्रै गर्ने व्यवस्था उपयुक्त हुने समितिको निश्कर्ष छ । विन्ध्यावासिनी मन्दिरमा दशैंको बेला मात्रै बाहिरबाट दर्शन गर्ने व्यवस्था गरिंदै आएको थियो । विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिको भोलि असार २६ गते हुने अधिवेशनमा पनि यसबारे छलफल हुने सचिव श्रेष्ठले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । सरकारले विध्यवासिनी मन्दिरको तस्वीर अङ्कित हुलाक टिकट यसअघिनै प्रकाशनमा ल्याएको थियो । मन्दिरमा कास्कीसंगै यस आसपासका जिल्लाहरु तनहँु, लमजुङ, स्याङजा, पर्वत लगायत काठमाडौं तथा छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।
Post a Comment