0
गोरखा मिलन समाज पोखराले वैशाख १२ गतेको विनासकारी भूकम्पबाट क्षतिग्रस्त गोरखाको मुच्चोक गाविसका ५ वटा विद्यालयहरुमा छाज्ञवृत्ति वितरण गरेको छ । गोरखा जिल्लाको मुच्चोकटार निमावि, भालुढुङ्गा लक्ष्मी प्रावि, ज्ञानज्योति प्रावि, जनप्रभात प्रावि र देवी चतुर्माला प्राविमा अध्ययनरत ३३७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्तिमा प्रति व्यक्ति झोला, एकएक दर्जन कापी, पेन्सिल, डटपेन तथा एक जोमेट्री बक्स, छाता र ३३ जना शिक्षक, कर्मचारीलाई एकएक सेट झोला, डायरी, कलम, छाता लगायत शैक्षिक सामग्री रहेको थियो । शनिवार पोखरामा आयोजित एक समारोह बीच समाजका अध्यक्ष सूर्य क्षेत्री र पूर्व अध्यक्ष शिवलाल धितालले विद्यालयका प्रधानाध्याप कहरुलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । समाजले सञ्चालन गरेको ‘विद्यालय पुनःनिर्माण तथा विद्यार्थी सहयोग’ कार्यक्रम अन्तर्गत समाजका पूर्व अध्यक्ष शिवलाल धितालको पहलमा गोरखा घर भई हाल अमेरिकामा विद्यावारिधीमा संलग्न दिवश आचार्य तथा बेलायत बस्ने बाबुराम धिताल र ध्रुव धिताल मार्फत संकलित चार लाख रुपैयाँ रकमबाट विविध शैक्षिक सामग्री खरिद गरी २ वटा जिपबाट शनिबार सम्बन्धित विद्यालयमा पठाएको जनाएको छ । यसै गरी समाजसँग सहकार्य गरी स्याङ्जाका ऋषि आचार्य तथा पोखराकी प्रीति बराल र आशिष केसीले विभिन्न स्रोतहरु जुटाई गोरखा स्थित मनकामना उच्च माविलाई गत शनिबार ५५ हजार मूल्यका साइन्स ल्याव सम्बन्धि विभिन्न सामग्रीहरु विद्यालयमै पुगेर प्रदान गरेका थिए । भुकम्प प्रभावित जिल्लावासीहरुको सेवामा निरन्तर जुटिरहेको गोरखा मिलन समाजले आउँदो शनिवार गोरखाको दुर्गम क्षेत्र मान्वु गाविसमा अवस्थित भवानी उच्च माविमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा छात्रवृत्ति प्रदान गर्न लागेको र त्यसपछि स्रोत जुटाई क्रमशः गोरखाका अरु विद्यालयका घाइते विद्यार्थी र भुकम्पबाट निधन भएका शिक्षकहरुका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरी उनीहरुको नियमित अध्ययनलाई सहज बनाउने योजना रहेको अध्यक्ष सूर्य क्षेत्रीले बताए । वैशाख १२ गतेको भूकम्पबाट गोरखा जिल्लामा ५ जना शिक्षक र ५७ जना विद्यार्थीको निधन भएको छ । जिल्लाका ४९५ सरकारी र ४७ निजी विद्यालयहरुमध्ये ९० प्रतिशत भवनमा पूर्ण क्षति भएको र १० प्रतिशत भवन मात्र मर्मतपछि सञ्चालन गर्न सकिने अवस्थामा रहेको जिल्ला शिक्षा कार्यालय गोरखाले जनाएको छ ।

Post a Comment

 
Top