0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा पिस चौतारीले जापानको तोयोकावा लायन्सक्लवको तर्फबाट २० लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त गरेको छ । नेपालमा वैशाख १२ मा आएको भूकम्पका कारण क्षतिग्रस्त विद्यालयको पुननिर्माण एवं भूकम्प पीडितहरुलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्राप्त भएको हो । जापानको तोयोकावा लायन्सका पूर्व अध्यक्ष तेरुकाजी कोतो र सचिव मित्सुआको ओजीका साथै जापानमा रहेका युवा व्यवसायी रिदेन्द्र गिरी (शंकर) सहितको टोलीले मंगलबार बेलुका पोखरामा आयोजित एक कार्यक्रममा पिस चौतारी लायन्सका अध्यक्ष धनन्जय पौडेललाई उक्त रकम हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा बोल्दै जापानी लायन्सका पूर्व अध्यक्ष तेरुकाजी कोतोले नेपालमा भूकम्प आएपछि जापानी संचारमाध्यमले महत्व दिएको र त्यसकै आधारमा आफूहरुले जापानको विभिन्न स्थानमा बसेर बच्चादेखि वृद्धसम्म बाट आर्थिक सहयोग संकलन गरेको बताए । उनले नेपाल र जापान भौगोलिक दृष्टिकोणले टाढा भएपनि नागरिक स्तरमा मन नजिक भएको बताउँदै भूकम्पका कारण नेपालीहरु पीडित भएपछि जापानीहरु समेत सहयोग गर्न तत्पर देखिएको स्पष्ट पारे ।  क्लवका सचिव मिरसुआको ओजीले पनि जापानी नागरिककले मानवीय भावनाका कारण नेपालका भूकम्प पीडितलाई सहयोग गर्न ईच्छा जाहेर गरेको बताए । आर्थिक सहयोगका लागि पोखराको पिस चौतारी लायन्स क्लवसंग समन्वय गरेका शंकर गिरीले आफ्नो रेष्टुरेन्ट, त्यहाँ कार्यरत कर्मचारी र त्यहाँ आउने ग्राहकहले समेत नेपालका भूकम्प पीडितलाई गरेको सहयोग आफूहरुले पोखरामा ल्याइ हस्तान्तरण गरेको जानकारी दिए । भूकम्पबाट अतिप्रभावित गोरखा जिल्लाको विकट ठाउँमा पुगेर बुधबार अवलोकन गरेपछि अन्य किसिमको सहयोग गर्ने विषयमा आफूहरुले जापानमा गएर छलफल गर्ने उनले बताए ।  कार्यक्रममा प्रमुख अतिथि लायन्सका पूर्व मल्टिपल काउन्सिल चियर पर्सन प्रेमबहादुर श्रेष्ठले जापानबाट प्राप्त सहयोगको पूर्ण सदुपयोग गर्ने जानकारी दिंदै जापानी लायन्स र नागरिकहरुले गरेको सहयोग भावनात्मक हिसावले निकै महत्वपूर्ण रहेको बताए । उनले पिस चौतारी लायन्स क्लव डिष्ट्रिक्टकै उत्कृष्ट क्लवको रुपमा स्थापित भएको बताए ।  त्यस अवसरमा बोल्दै राष्ट्रिय समाचार समितिका संचालक समितिका सदस्य गंगाधर पराजुलीले जापान र नेपालको लायन्स क्लवबीचको सम्बन्धले नागरिक स्तरमामात्र नभई कुटनीतिक स्तरमा समेत टेवा पुग्ने बताए । आफ्नो जापान भ्रमणको स्मरण गर्दै उनले जापानी नागरिकहरुमा पाएको मानवीय भावनाको प्रशंसा गरे । भूकम्पबाट पीडित बनेका नेपालीहरुलाई सहयोग गर्न पोखराबाट जापानमा पुगेर व्यवसाय गरिरहेका शंकर गिरीले गरेको योगदानको सराहाना गर्दै पराजुलीले एनआरएन जापानको अव हुने चुनावमा गिरीले सफलता पाउने विश्वास व्यक्त गरे ।  कार्यक्रममा क्लवका अध्यक्ष पौडेलले लायन्समा लाग्नेहरुले सेवाभाव राखेर काम गर्दै आएको भन्दै आर्थिक सम्पन्नता संगै सेवा भावना बढ्नुपर्नेमा जोड दिए । उक्त कार्यक्रममा बोल्दै क्लवका प्रथम उपाध्यक्ष दीपेन्द्र शर्माले समस्यामा परेका नागरिकलाई क्लवले सहयोग गर्दै आएको र डिष्ट्रिक्टमा पनि उत्कृष्ट स्थान प्राप्त गरेको जानकारी दिए । कार्यक्रममा क्लवका सचिव प्रेम दाहालले पनि क्लवका गतिविधिका बारेमा प्रकाश पारेका थिए । सोही समारोहमा क्लवका नयाँ सदस्यहरु राजकुमार केसी, रवि खड्का र सुशिललाई स्वागत गरिएको थियो ।

Post a Comment

 
Top