गोल्डेन न्यूज संवाददाता
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का केन्द्रीय अध्यक्ष सुवोधराज प्याकुरेलले गत बैशाख १२ गतेको भूकम्पपश्चात सबै राजनीतिक दलहरुलाई एकै ठाउँमा आउन बाध्य बनाएको बताएका छन् । राष्ट्रिय विपत्तिले संविधान बनाउन र सहमतीय राजनीतिलाई अगाडि बढाउने वातावरण सृजना भएको उनले बताए । कास्कीमा भूकम्पले पारेको असर, उद्धार, राहत र पुनर्निर्माणमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया तथा मानवअधिकार शिक्षा क्लब (रिलेक) द्वारा प्रकाशित युवा आह्वान नामक पुस्तकको शनिबार पोखरामा विमोचन गर्दै उनले विपद्का घडीमा सेना र प्रहरी क्षणभरमै घटनास्थलमा पुगेर उद्दारमा पुगेको अवस्थामा समेत राज्यको उपस्थित नभएको भन्नु अराजक मानसिकता भएको बताए । उनले राज्य चलाउनेहरुमा सृजना र सपनाको अदूरदर्शिताले महाभूकम्पपछिको व्यवस्थापनमा केही समस्याहरु देखिए पनि कालोबादलमा चाँदीको घेरा भनेजस्तै विपद्को यो समयलाई अवसरको रुपमा पनि लिन सकिने बताए । आवास नागरिकको मौलिक अधिकार हो, तर सम्पत्ति मौलिक अधिकार हुन सक्दैन, उनले भने, भूमि व्यवस्थापनको जिम्मा राज्यले गर्नुपर्छ । मानवअधिकार शिक्षा क्लब (रिलेक) कास्की, शान्तिको लागि नागरिक समाजको सञ्जाल कास्की तथा इन्सेकको सहयोगमा संचालित उक्त अन्तरक्रिया तथा पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्याकुरेलले रिलेकद्वारा प्रकाशित युवा आब्हानको विमोचन गरेका थिए । सो अवसरमा काँग्रेसका जिल्ला सचिव कृष्ण केसीले समीक्षा पछि गरौला अहिलेको प्रमुखता भनेको के हो भन्नेतर्पm सबै दल तथा नागरिक समाज लाग्नुपर्ने धारणा राखे । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी यमप्रसाद सुवेदीले १२ गतेको भूकम्पको केही क्षणमै घटनास्थलमा पुगेर घाइतेहरुलाई उपचारको लागि अस्पताल पु¥याइएको, राहत वितरणको कामलाई भोलिपल्ट १३ गते जिल्ला दैवीप्रकोप उद्दार समितिको बैठक बसी राहत वितरणमा लागेको बताए । उनले विभिन्न संघसंस्था र प्राविधिकहरु सम्मिलित टोली ३४ स्थानमा खटाई उद्दार र राहत तथा प्रकोपको जानकारी लिइएको बताए । सोही बमोजिम कास्कीमा हालसम्म कास्की जिल्लामा तथा कास्कीबाट काठमाडांै घुम्ने जाने क्रममा मृत्यु हुनेको संख्या ११ जना रहेको तथ्यांक आएको जानकारी दिए । उनले कास्की जिल्लामा पूर्णक्षति भएका घरहरु १७४४, आंशिक क्षति ६९०८ तथा सरकारी भवन ६० वटा जति क्षति भएको विवरण दिए । यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका फोकल पर्शन एम बरालले स्वास्थ्य सेवा २४ सै घण्टा चुस्त दुरुस्त पारिएको, गोरखा लगायतका भूकम्पप्रभावित जिल्लामा स्वास्थ्यकर्मी पठाइएको, विभिन्न जिल्लाबाट उपचारका लागि पोखरा आएका ५ सय ७९ जना बिरामीको उपचार भएको बताए । सशस्त्र प्रहरी बलका नायब उपरीक्षक गणेश श्रेष्ठले १४ जिल्लाको तुलनामा कास्कीमा कम क्षति भएको तर यहाँबाट सहयोगी हातहरु धेरै भएको बताए । कास्कीका प्रहरी प्रवक्ता केदार रजौरेले विपद्को अवस्थामा सबै एकजुट भएर प्रशंसनीय कार्य गरेको बताए । त्यसैगरी नेकपा एमाले कास्कीका उपसचिव प्रभा कोइरालाले कर्मशील र क्रियाशील बन्दै राहत र पुनर्निर्माणमा लाग्नुपर्ने भन्दै आफ्नो पार्टीको तर्फबाट २ सय स्वयंसेवी लिएर गोरखाको वारपाकमा पुनःनिर्माणको लागि पुगेको बताउँदै स्थानीय निकायको अभावमा पुनःनिर्माण र राहतमा कठिनाइ भएको बताइन् । एकीकृत नेकपा माओवादीका जिल्ला सचिव कृष्ण बरालले राहतको नाममा आहतको अवस्था देखिएको छ, बजारमा घर हुनेहरुले ३ हजार राहतको लागि घम्साघम्सी गरेको तर विकट गाउँमा पूर्ण क्षति भएको जनताको राहतको लागि कसैको पहल नपुगेको अवस्था रहेको बताए । राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय अध्यक्ष डा. टीकाराम पोखरेलले काममा चुक्ने कुरा गर्न निकै भुक्ने प्रवृत्तिका कारण पुनःनिर्माणमा कठिनाइ भएको बताए । उनले विपदको पूर्व तयारीको अभावमा भएको क्षतिलाई अब नदोहारिने गरी पुनःनिर्माण हुनुपर्नेमा जोड दिए । राजनीतिक दल र गैससहरुले चाहिएभन्दा बढी गरेको पनि टिप्पणी गरे । वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले पुनःनिर्माणमा अब पनि नसोच्ने हो भने नेपालमा भएको महाभूकम्पको अवस्थाबाट हामीहरु कहिले पनि मुक्त हुन नसक्ने बताए । उनले व्यक्तिगत र दलीय स्वार्थ त्यागेर राष्ट्र निर्माणमा लाग्न आह्वान गरे । वरिष्ठ पत्रकार माधव शर्माले नुवाकोटमा जस्तापाता चोरिएको हो वा होइन त्यसको छानबिन गरी राहत वितरणको काम अघि बढाउनुपर्नेमा जोड दिए । वरिष्ठ अधिक्ता तिलक आचार्यले खेती गर्ने र घर बनाउने जग्गा राज्यले पहिचान गर्ने गरी कानून निर्माण गर्नुपर्नेमा जोड दिए । महिला मानवअधिकार रक्षक संजाल कास्कीका अध्यक्ष सरलाकुमारी पाण्डेले भूकम्पछि सहयोग गर्नेहरुबाट राम्रो काम पनि भएको तर केही थोरै नराम्रो काम गर्नेहरुले सबै सहयोगीहरुलाई समस्यामा पारेको बताइन् । कार्यक्रममा नेकपा माओवादीका नवराज भण्डारी, पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्री, सहभागीको तर्फबाट रिलेक कास्कीका उपाध्यक्ष सूर्यनाथ पहारी, जनआन्दोलनका घाइते तथा अपांग समन्वय समिति कास्कीका अध्यक्ष ढाकाराम पौडेल, इञ्जिनियर शिवराम पोखरेल, मानवअधिकार संरक्षण मंच कास्कीका सचिव शिवकुमार पौडेल, सुनासका अध्यक्ष पुण्य पौडेल, शान्तिका लागि नागरिकसमाजको संजाल कास्कीका पूर्वसंयोजक विष्णु बराल, महिला अधिकारकर्मी विजया सुवेदी, माया गुरुङ, खगराज आचार्य, पत्रकार कृष्ण देवकोटा, गैसस महासंघ कास्कीका पूर्वअध्यक्ष कृष्णप्रसाद बराललगायतले राहत तथा पुनःनिर्माणका लागि पुनःर्जागरणको आवश्यकता भएको बताउँदै सत्ता परिवर्तन गर्दैमा सबै कुराहरु समाधान हुन नसक्ने हुँदा छिटोभन्दा छिटो संविधान जारी गरेर राष्ट्रिय एकतालाई बलियो बनाउन सकेमा पुनःनिर्माण सहज हुने धारणा व्यक्त गरेका थिए ।मानवअधिकार शिक्षा क्लब (रिलेक) कास्कीका अध्यक्ष तुलसी दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य शान्तिका लागि नागरिकसमाजको संजालका संयोजक रामप्रसाद सुवेदीले गरेका थिए । कार्यक्रमको संचालन इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेलले गरेको कार्यक्रममा युवा आब्हान पुस्तकको समिक्षा प्रध्यापक मनोहर पौडेलले गरेका थिए ।
Post a Comment