0
सर्वोच्च अदालतले पूर्व अधिराजकुमारी प्रेरणा सिंहले दाइजोस्वरूप बकस पाएको छाउनीस्थित कित्ता नं २५ को घरसहितको १५ रोपनी एक आना जमिन प्रचलनबमोजिम सम्बन्धित व्यक्तिले नै  भोगचलन गर्न  मार्ग प्रशस्त गरेको छ । प्रधान न्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश चोलेन्द्रशम्शेर जबराको संयुक्त इजलासले भनेको छ, “तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६२ जेठ १० मा  सो सम्पत्ति आफ्नी छोरी सिंहलाई दाइजोस्वरूप बकस दिइ निजको अध्यावधिक भोगचलनमा रहेकामा सम्बन्धित व्यक्तिसँग बुझ्दै नबुझी र प्रतिवादको मौकासमेत नदिइ २०६४ पुस १ गते र त्यसपछिका निर्णय कारबाही त्रुटीपूर्ण हुँदा ती  निर्णय उत्प्रेषणको आदेशबाट बदर हुन्छ ।”     सो आदेशमा नेपाल ट्रस्ट ऐन, २०६४ को दफा ३ र ४ बमोजिम तत्कालीन स्व राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य राज्यलक्ष्मी तथा निजका छोरा दीपेन्द्र र निराजनको नामको सम्पति नेपाल ट्रस्टमा जाने व्यवस्था भएको र सोबाहेक निजका अन्य परिवारका सदस्यको नामको सम्पत्ति पनि ट्रस्टमा जाने भन्ने कानुनी व्यवस्था नभएको पनि आदेशमा उल्लेख भएको सर्वोच्च अदालतका कामु रजिष्ट्रार श्रीकान्त पौडेलले जानकारी दिए । निवेदिका सिंहले सो सम्पत्तिमा नेपाल टूस्ट अध्यादेश, २०६४ र नेपाल ऐन, २०६४ को प्रस्तावना, दफा ३(१) को स्पष्टीकरण तथा दफा ४(१)(क) बमोजिम राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजका परिवारको देहावसान हुँदा निजका नाममा रहेको र निजको हक पुग्ने सम्पति मात्र ट्रस्टमा ल्याउने भन्ने उल्लेख भएको जिकिर गरेका छन् । त्यसका साथै परिवारको समेत परिभाषा गरिएको  छ । तर आफू निजका परिवारको सदस्य नभएको र  अन्तरिम संविधान जारी हुनु अगावै २०६२ जेठ १० मा पिता ज्ञानेन्द्र शाहबाट आफ्ना नाममा आई हकभोग कायम भएकाले प्रत्यर्थीलाई सो सम्पत्ति ट्रस्टअन्तर्गत राख्न पाउने अधिकार छैन भन्दै गत २०७१ माघ २५ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ट्रस्टविरुद्ध रिट दायर गरेका थिए ।

Post a Comment

 
Top