0
गोल्डेन न्यूज संवाददाता
पोखराको बगालेटोल क्षेत्र लोडसेङिङ मुक्त भएको छ ।  बगालेटोल टोल सुधार समिति र बगालेटोल सामुदायिक विकास केन्द्रले टोलमा सौर्यवत्ति जडान गरेपछि बगालेटोल लोडसेङिङ मुक्त भएको हो । बगालेटोलको सिद्धार्थ चोकबाट दक्षिण बरको बोटसम्म, पूर्व मंगल प्रसाद श्रेष्ठको घरसम्म र पश्चिम फिर्के डिलसम्म गरी ३० वटा सौर्यवत्तिहरु जडान गरिएको प्रचार संयोजक दिलिप दोषीले जानकारी दिए । सौर्यवत्ती जडानका लागि फागुन २३ गते विवेक श्रेष्ठ साङ्गीतिक साँझ–२०७१ गरी रकम संकलन गरिएको थियो । विवेक श्रेष्ठ साङ्गीतिक साँझ–२०७१ बाट कुल ६ लाख तीन सय ९८ रुपैयाँ आम्दानी भएकोमा कार्यक्रम र सौर्यवत्ति जडानका लागि चार लाख ९६ हजार सात सय १३ रुपैयाँ खर्च भएको छ भने १ लाख १३ हजार ६ सय ८५ रुपैयाँ बचत भएको छ । एक कार्यक्रम वीच सौर्यवत्तिको उद्घाटन गरिएको छ । समाजसेवी भक्तराज श्रेष्ठले शिलालेख अनावरण गरी सौर्यवत्ति शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै उनले बगाले टोलमा सौर्यवत्ति जडान गरिएपछि यस क्षेत्र अव बिभिन्न अपराधिक क्रियाकलापबाट मुक्त हुने र रातमा हिंडने बटुवालाई सहज हुने बताए । बगालेटोलका युवा एवं गायक विवेक श्रेष्ठले सौर्यबत्ति बाल्नका लागि अन्तर्आत्मादेखि साङ्गीतिक साँझ गरेर सहयोग गर्न पाउँदा खुशी लागेको बताए । बगालेटोल सौर्यवत्ति उपभोक्ता समितिका संयोजक तथा बगालेटोल सामुदायिक विकास केन्द्रका अध्यक्ष निरा श्रेष्ठले सवै मिलेर बगालेटोललाई नमुना टोल बनाउनका लागि अघि सर्नुपर्ने उल्लेख गरिन् । रुपाकोट ज्योती सुनचाँदी दुकानका प्रोप्राईटर दशरथ सुनारले समाजको विकासका लागि रचनात्मक काम गर्नुपर्नेमा जोड दिए । त्यसअवसरमा साङ्गीतिक कार्यक्रमलाई व्यानर तथा आर्थिक सहयोग गर्ने नौ जना व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा युवा गायक विवेक श्रेष्ठ, सिटी डेभलपमेन्ट बैंक लि, रुपाकोट ज्योती सुनचाँदी दुकान, विश्वराज श्रेष्ठ, ज्ञानेश्वर राज श्रेष्ठ, पि.राज टे«ड कन्सर्न, दिलबहादुर गुरुङ, शिशु विकास केन्द्र र न्यू राष्ट्रियता छापाखाना छन् । कार्यक्रममा सिद्वार्थ क्लवका अध्यक्ष दीपेन्द्र मर्सानी र बगालेटोल सौर्यवत्ति जडान उपभोक्ता समितिका कोषाध्यक्ष मनरुपा श्रेष्ठले बोलेका थिए ।  बगालेटोल टोल सुधार समितिका कार्यवाहक अध्यक्ष हिराकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक पञ्चकुमारी गुरुङले स्वागत र सचिव कृष्ण मर्सानीले कार्यक्रम संचालन गरेका थिए ।

Post a Comment

 
Top