0
 गोल्डेन न्यूज संवाददाता
पोखराको महेन्द्रपुलमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको विशेष साधारण सभा असार ६ गते सम्पन्न भयो । सभाबाट म्याग्दी जिल्ला बेनी नगरपालिकामा प्रधान कार्यालय रहेको निलगिरि विकास बैंक लिमिटेडलाई गरिमा विकास बैंक लिमिटेडमा गाभी राष्ट्रिय स्तरको विकास बैंकको रुपमा स्तरोन्नति हुने विशेष प्रस्ताव पारित भएको छ ।  हाल गरिमा विकास बैंक लिमिटेडको चुक्ता पूँजी ५६ करोड १० लाख रुपैयाँ र निलगिरि विकास बैंक लिमिटेडको चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको छ । एक आपसमा गाभिएपछि गाभिएर बन्ने विकास बैंकको चुक्ता पूँजी रु. ७१ करोड १० लाख पुग्नेछ । गाभिएर बन्ने विकास बैंकको एउटा एक्स्टेन्सन काउण्टर समेत गरि २५ वटा शाखा कार्यालय हुनेछन् भने निक्षेप र लगानीमा रहेको कर्जा क्रमशः ६ अर्व र ५ अर्व ५० करोड भन्दा बढि हुने गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाले बताए । गाभिएर राष्ट्रियस्तरको विकास बैंक भइसकेपश्चात बैंकको शेयरधनी, सेवाग्राही, कर्मचारी लगायतका सम्पूर्ण सरोकारवाला हरुको सन्तुष्टिमा गुणात्मक वृद्धि हुन गई समाजमा बंैकिङ क्षेत्रप्रतिको जनविश्वास अझ दरिलो बन्दै जाने विश्वास लिइएको छ । दुई विकास बैंकहरु एकआपसमा गाभिएर राष्ट्रिस्तरको विकास बैंकको रुपमा स्थापित भएपछि संस्थाको प्रतिस्पर्धात्मक क्षमतामा अभिवृद्धि भई संस्थाको समग्र विकास र विस्तार हुने विश्वासका साथ दुवै विकास बैंकहरुका शेयरधनीहरुले साधारण सभामार्फत संचालक समितिलाई दिएको अख्तियारीको उच्च सम्मान गर्दै दुवै विकास बैंकहरु एक आपसमा गाभिई राष्ट्रिय स्तरको विकास बैंक बन्ने प्रक्रियालाई यथासक्य छिटो पुरा गर्ने प्रतिवद्धता समेत बैंकले ब्यक्त गरेको जनाएको छ ।

Post a Comment

 
Top