0
प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पले असर पारेको नेपालको पर्यटन क्षेत्र उकास्न सरकारले सक्दो पहल गर्ने आश्वासन दिएका छन् । भूकम्पले अर्थतन्त्र नै हल्लिने गरि असर पारेकोले पर्यटन प्रवद्र्धन मार्फत अबको अर्थतन्त्र उकास्नुपर्ने कोइरालाले बताए । पोखराका पर्यटन व्यवसायी सहभागी पोखरा पर्यटन पूनरुत्थान समिति (पिटिआरसी) का पदाधिकारीसँग भेट्दै प्रधानमन्त्री कोइरालाले पर्यटन क्षेत्र उकास्नका लागि जस्तोसुकै कार्यक्रम ल्याउन सरकार तयार रहेको बताएका थिए । उनले पर्यटन क्षेत्रले आर्थिक मात्र नभई ठूलो रोजगारी पनि सिर्जना गरेकोले त्यसलाई उकास्न सरकार हरदम तयार रहेको बताए । प्रधानमन्त्री सँगको भेट अवसरमा पिटिआरसीले प्रधानमन्त्री दैवि प्रकोप राहत कोषमा ५ लाख रुपैयाँ आथिक सहयोग समेत गरेको छ । समिति संयोजक गणेशबहादुर भट्टराई नेतृत्वको टीमले सोमबार कोषमा रकम जम्मा गरेको हो । राहत रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाइ हस्तान्तरण गरिएको थियो । भूकम्पले पर्यटन क्षेत्रमा असर पारेकोले त्यसको पुर्नजागरणको लागि पहल गरिदिन व्यवसायीले प्रधानमन्त्री कोइराला समक्ष आग्रह गरेका थिए । ‘पर्यटन क्षेत्र उकास्न र सुरक्षित राख्न सरकारले हरदम प्रयास गर्नेछ’ प्रधानमन्त्री कोइरालाको भनाई उद्घृत गर्दै पिटिआरसी संचार संयोजक टिकाराम सापकोटाले भने, ‘प्रधानमन्त्रीले पर्यटन क्षेत्र उकास्न हरदम तयार रहेको बताउनुभएको छ ।’ व्यवसायीले भूकम्पका कारण पोखरा क्षेत्रको पर्यटन व्यवसाय आर्थिक संकटमा परेकोले त्यसलाई उकास्न सरकारले विशेष योजना ल्याउन आग्रह गरेका थिए । प्रधानमन्त्री कोइरालासँगको भेटमा पिटिआरसी संयोजक गणेशबहादुर भट्टराइले भूकम्पका कारण विभिन्न मूलूकले पर्यटकलाइ नेपाल नघुम्न एडभाइजरी जारी गर्दा आउने तयारीमा रहेका पर्यटक रोकिएकोले त्यो प्रतिबन्ध फुकुवा गरिदिन आग्रह गरेका थिए । नेपाल आउने तयारीमा रहेका पर्यटकलाई नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाहमा सघाउन भट्टराइले अनुरोध गरेका थिए ।

Post a Comment

 
Top