पोखरामा निर्धारण गरिएको मापदण्ड विपरित पाँच हजार भन्दा बढी घर निर्माण भएको पाइएको छ । स्थानीय निकायको निर्वाचन नभएको झण्डै डेढ दशक भइसकेको र कर्मचारीतन्त्रबाट संचालित निकायले अनुगमन गर्न नसक्दा र नागरिक समेत सचेत नहुँदा कच्ची संरचनामा धमाधम अग्ला घर बनेको सरोकारवाला बताउँछन् । आवासीय प्रयोजनका लागि बनाइएका घर मात्र नभएर धेरै मानिसको भीड हुने विद्यालय, अस्पताल र सरकारी कार्यालयहरुले समेत मापदण्ड भन्दा अग्ला घर बनाइएको पाइएको मापदण्ड विपरित बनेका भवनहरुको लगत व्यवस्थापन समितिका सदस्य तथा नागरिक समाज पोखराका सदस्य रामबहादुर पौडेलले बताए । वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पले राजधानी लगायत विभिन्न स्थानमा क्षति पु¥याएपछि पोखरा उपमहानगर पालिकाले आमभेला बोलाएर भेलाले नै पारित गरे अनुसार समिति गठन गरेको थियो । समितिको संयोजकमा नगरपालिका कै वरिष्ठ इन्जिनियर पूर्णबहादुर गुरुङ छन् भने सदस्यमा नागरिक समाज, पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटेल एशोसिएशन, पोखरा उपत्यका नगर विकास समिति, निर्माण व्यवसायी संघलगायत संस्थाका प्रतिनिधि छन् । पत्रकार भरत कोइरालाले जनाए अनुसार समितिमा प्रनिधित्व गर्ने संस्था अन्तर्गतका व्यवसाययिक फर्महरुका भवन नै मापदण्ड भन्दा अग्ला भएपछि तथ्यांक संकलनका लागि सुरुमा व्यवधान भए पनि पछि भने सहज रुपमा लगत लिइएको उक्त कार्यमा संलग्न एक सदस्यले बताए । अग्ला घर निर्माणको नक्सा बनाउन र प्राविधिक सल्लाहमा पोखरा उपमहानगर पालिकाकै इञ्जिनियर हरु सहभागी भएकाले पनि सुरुमा केही अड्चन आएको थियो । लगत संकलनका लागि छानिएको परामर्शदाता संस्था एबी क्रिएटिभ इन्जिनियरिङ कन्सल्टेन्सीका इन्जिनियर यामबहादुर थापाले पोखरा उपमहानगरपालिकाका १८ वटा वडामा पुगेर मापदण्ड मिचिएका सबै घरको लगत संकलन गरेको बताए ।घर घरै पुगेर सम्भव भएसम्म घरधनीको नाम र घर नम्बर समेत टिपेर लगत संकलन गरिएको र दुई तीन दिन भित्रमा प्रतिवेदन बुझाइने उनले सुनाए । पोखरा उपत्यका नगर विकास समितिले पोखराको वडा नम्बर छ मा २४ फिट १७ मा २५ फिट र अन्य वडामा ३५ फिट भन्दा अग्ला घर बनाउन नपाइने मापदण्ड निर्धारण गरेको छ । समितिको मापदण्ड अनुसार पोखरा उपमहानगर पालिकाले नक्सा पास गरेपछि मात्र घर बनाउन पाइन्छ । २४ फिट अर्थात दुई तला भन्दा अग्ला घर बनाउन नपाइने लेकसाइड क्षेत्रमा अहिले धमाधम नौ तलासम्मका भवन बनिरहेका छन् । भूकम्प गएपछि पनि ती घरहरुमा काम रोक्न पोखरा उपमहानगरपालिकाले सकेको छैन ।लगत संकलनमा सहभागी इन्जिनियर सविना पौडेलका अनुसार, सबैभन्दा बढी वडा नम्बर १७ मा एक हजार छ सय ५० घर मापदण्ड विपरित बनेको पाइएको बताइन् । त्यसपछि छ नम्बरमा छ सय ८३ वटा घर मापदण्ड विपरित बनेका छन् । लेकसाइड यही वडामा पर्छ । जहाँका अधिकांश होटेलहरु तोकिए भन्दा अधिक उचाइका छन् । जसका कारण पर्यटकहरु ढुक्कसँग बस्ने अवस्था छैन । त्यसपछि आठ र नौ नम्बर वडामा त्यस्ता घर बढी रहेको उनले सुनाइन् । व्यक्तिगत प्रयोजनका लागि बनाएका घरहरु ठूला ठूला ब्यापारका लागि प्रयोग भएकोले जुनसुकै बेलामा पनि खतरा हुनसक्ने उनको भनाइ छ । थोरै भार खेप्न सक्ने ती भवनमा एकैपटक धेरै मानिसको भीड लाग्ने भएकाले सरोकारवालाल बेलैमा ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।दिनहुँ सयौं विद्यार्थी अध्ययनरत यहाँका नाम चलेका निजी विद्यालय मात्र नभएर सरकारी विद्यालयले समेत मापदण्ड भन्दा अग्ला भवनमा कक्षा संचालन गरेको पाइएको टोलीमा खटिएकी इन्जिनियर पूर्णिमा गुरुङले बताइन् । जिल्ला अदालत कास्की, आन्तरिक राजश्व कार्यालय पोखरा, जिल्ला निर्वाचन कार्यालय, जिल्ला विकास समितिको क्वाटर, गण्डकी अञ्चल प्रहरी प्रमुखको निवास, दूरसंचार कार्यालयका भवनहरु पनि मापदण्ड विपरित रहेको अनुगमनका क्रममा पाइएको छ । पोखराको पुरानो बजार रहेको तेर्सापट्टी, नालाकोमुख, विन्ध्यवासिनी, पालिखे चोक लगायतका ठाउँका पुराना भवन त भत्काउनै पर्ने अवस्थामा रहेको पाइएको इन्जिनियर याम थापाले बताए ।पछिल्लो समय व्यक्तिहरुमा नियम कानुन मिच्ने प्रवृत्ति बढ्दै गए पनि नगरपालिकाले सशक्त अनुगमन र कुनै कारवाही नगरेकै कारण दण्डहीनताले प्रश्रय पाएको नागरिक समाज पोखराका संयोजक पौडेल बताउँछन् । उनले भने, कानुन मान्ने मान्छे अपहेलित हुनुपर्ने मिच्नेहरु फूर्ति लगाएर हिंड्ने अवस्था छ, यसको अब अन्त्य हुनुपर्छ । आफूहरले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्ने र त्यसपछि आम भेला बोलाएर भेलाको म्याण्डेट अनुसार काम अघि बढाउने पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत उदयबहादुर राना मगरले बताए । पोखरामा गत वर्ष मात्रै भण्डै दुई हजार तीन सय घर थपिएका छन् । सबैभन्दा बढी १७ नम्बर वडामा साढे पाँच सय घर थपिएको गन्थन डटकमले जनाएको छ ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
» पा“चहजार घर मापदण्ड विपरित फितलो अनुगमन र नागरिक समेत सचेत नहुँदा कच्ची संरचनामा अग्ला घर निर्माण
Subscribe to:
Post Comments (Atom)
Post a Comment