गोल्डेन न्यूज संवाददाता
विश्वकर्मा समाज नेपालको केन्द्रिय कार्यालय भवन पोखरा १५ नयाँ गाउमा बन्ने भएको छ । भवनको सोमबार नेपाल सरकारका भौतिक निर्माण तथा यातायात मन्त्री वीमलेन्द्र निधिले एक समारोहका बीच शिलन्यास गरे ।
समाजले पोखरा १५ अलकापुर टोलमा करिब ५० लाखको लागतमा दुई तले सुविधा सम्पन्न पक्की भवन निमार्ण गर्ने समाजका सचिव शाकमान सदाशंकरले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।
कार्यक्रममा बोल्दै उनले भवन निर्माणका लागि आफ्नो तर्फबाट हुने सवै सहयोग गर्ने आश्वासन दिए । असोज १ गतेलाई विश्वकर्मा दिवसको रुपमा घोषणाका लागि आफ्नो तर्फबाट आवाश्यक पहल गर्ने समेत मन्त्री निधिले विश्वास दिलाए । मन्त्री निधिले सम्पूर्ण जातजाति, वर्ग र लिङ्गको अधिकार र पहिचान सुनिश्चित गरिएको संघीय लोकतान्त्रिक संविधान यथाशीघ्र जारी गर्ने बताए । वर्गीय हित र अधिकार ओकालतका लागि सामाजिक र राजनीतिक सशक्तिकरणको आवाश्यकता औल्याउँदै उनले समुन्नत राष्ट्र निर्माणमा आवश्यक भूमिका खेल्न आग्रह गरे । राज्यका हरेक संरचनाहरुमा सवैको प्रतिनिधित्व हुनुपर्नेमा उनले जोड दिए । समावेशी सहभागिता मुलुकको विकास र समृद्धिको आधार बन्ने बताउँदै मन्त्री निधिले सामाजिक शसक्तिकरणको क्षेत्रमा लाग्न आग्रह गरे । आफूहरु जातीय छुवाछूतको विरुद्धमा रहेका बताउँदै उनले यसको अन्त्यका लागि सामाजिक चेतना नै महत्वपूर्ण हुने उल्लेख गरे । कार्यक्रममा बोल्दै सभासद ध्रुव वाग्लेले समाजिक कलङकको रुपमा रहेको छुवाछुत अन्त गर्नुपर्ने बताउदै समान व्यवहार गर्न सम्बन्धित सवैलाई आग्रह गरे । धर्मसंग जोडिएको छुवाछूत जस्तो अमानवीय संस्कारको अन्त नभएसम्म शदिऔंदेखि अपहेलित बनेको आत्माले मुक्ति नपाउने उनले बताए । कार्यक्रममा सभासद शारदा पाडेल, कागें्रस नेता शुक्रराज शर्मा, सोभियत बहादुर अधिकारी, नवराज गुरुङ, समाजका अगुवा पदमसिंह विश्वकर्मा, समाजसेवि निरज थापा, ओम शान्तिका ब्रह््रमाकुमार शैलेस भाई, समाजका सल्लाहकार दुर्गाबहादुर सुनार, सुनचाँदी व्यावसायी संघ कास्कीका अध्यक्ष चन्द्रकिशोर गौतम, विश्वकर्मा समाज महिला समितिकी अध्यक्ष मन्जु विश्वकर्मा, बरिष्ठ उपाध्यक्ष दिल बहादुर विश्वकर्मा लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रममा समाजसेवी खरिलाल विश्वकर्मा र कृष्णलाल विकलाई सम्मान गरिएको थियो ।
Post a Comment