0
गोल्डेन न्यूज संवाददाता
प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाले संविधानका अन्तर्वस्तुमा केन्द्रित रहेर शुक्रबार भएको छलफलमा सहमति नजिक पुगेको बताएका छन् । प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाका अध्यक्षहरूको प्रधानमन्त्री निवासमा आज अपराह्न भएको बैठकमा संविधानका विवादित विषयमा केन्द्रित रहेर गहन छलफल भएको उनीहरूले बताए । “अब धेरै अलमल नहोला, एकदुई दिनमा प्रगति देखिएला, छलफलका विषयवस्तु साँघुरिदै गएका छन् , शीघ्र सहमति हुनेछ,”–बैठकपछि सञ्चारकर्मीलाई उनीहरूले भने । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सहमतिका आधारमा यही जेठ २५ गते बस्ने संविधानसभाको बैठकबाट प्रक्रिया आरम्भ हुने बताए । लोकतान्त्रिक मधेसी मोर्चाका अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिक समस्याको रुपमा रहेको संविधान चारपक्षको सहमतिमा यथाशीघ्र जारी गर्नुपर्छ भनेर विषयवस्तुमा केन्द्रित रहेर सकारात्मक र गहन छलफल भएको बताए । उनले भने–राज्य पुनःसंरचना गर्दा छ प्रदेशमा सहमति हुने बढी सम्भावना छ, तर अहिले आठ प्रदेशमा पनि छलफल जारी छ । संविधानसभामा प्रतिनिधित्व गर्ने दलसँग शनिबार बिहान छलफल गरेर त्यसपछि बस्ने चार शक्तिको बैठक संविधानका अन्य विषयलाई कसरी अघि बढाउने भन्ने निष्कर्षमा पुग्ने अध्यक्ष गच्छदारले जानकारी दिए । बैठकमा नेपाली काङग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष ओली, एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र मोर्चाका अध्यक्ष गच्छदार सहभागी थिए । यसैगरी  प्रमुख राजनीतिक दलका शीर्ष नेताले संविधानका विवादित विषयमा अन्य दलका नेताहरुको धारणा बुझ्ने भएका छन् । कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्षहरु सहितको शुक्रबार साँझ बसेको बैठकले संविधानसभामा रहेका अन्य दलहरुसँग पनि छलफल गर्ने निर्णय गरेको हो । कांग्रेस नेता रमेश लेखकले संविधानका मूख्य विवादित विषय संघीयताका विषयमा सहमति जुटाउने नेताहरुबीच प्रयास जारी रहेको बताए । ‘६ प्रदेशको सेरोफेरोमा सहमतिको प्रयास भइरहेको छ,’ उनले भने–‘संविधानसभामा रहेका अन्य दलका नेताहरुसँग भोलि छलफल गर्ने तयारी छ ।’ शनिबारको बैठकको समय निर्धारण भइसकेको छैन । चारै दलका शीर्ष नेताले अन्य मधेसी दल सहितका नेताहरुसँग छलफल गर्ने सहमति भएको लेखकले बताए । संविधानमा सहमति जुटाएर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रमुख दलबीच सैद्धान्तिक सहमति भएयता चार दलका नेताहरुबीच निरन्तर छलफल र बैठक चलिरहेको छ । विवादित विषयहरुमा सहमति नजिक पुगिएको दावी गरिएपनि सहमतिको विषय बाहिर आएको छैन । यता, एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले राजनीतिक दल र तिनका नेताप्रति जनस्तरमा रहेको नकारात्मक धारणा हटाउन पनि तत्काल संविधान लेखनको काममा सहमति हुनुपर्ने बताएका छन् । विगत सात वर्षदेखि संविधान भन्दै हिँडे पनि सहमति भएको छैन । मुलुक विपत्तिमा परेको बेला सबै दलहरु मिलेर संविधानका विवादित विषयमा सहमति जुटाउनुपर्छ । संविधान जारी हुन सक्यो भने जनतामा रहेको निराशा हल हुन्छ र मुलुक नयाँ दिशामा जाने भट्टराईले बताए । दलहरुबीच संविधानको प्रमुख विवादित विषयको रुपमा रहेको न्याय प्रणालीमा सहमति भइसकेको छ भने निर्वाचन प्रणाली पनि अनौपचारिक रुपमा सहमति भएको र राज्य पुनःसंरचनाको विषयमा छलफल केन्द्रित रहेका कारण यही जेठ २५ गते अगावै सहमति जुटाउन लागिपरेको उनको भनाइ थियो ।  यसैबीच  नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले भूकम्पको फाइदा उठाएर जारी गर्न लागिएको संविधान मान्य नहुने बताएका छन् । विपत्तीको मिलेर सामना गर्नुपर्ने समयमा कांग्रेस, एमाले सरकार परिवर्तनको खेलमा लागेर छोटो बाटोबाट संविधान जारी गर्न लागेको गजुरेलले आरोप लगाए ।  उनले जनता भूकम्पको पीडामा परेको बेला दलहरुले जनविरोधी संबिधान जारी गर्ने मौकाको रुपमा प्रयोग गर्न खोजेको आरोप लगाए । उनले अहिले संबिधान जारी गर्न खोजिए आन्दोलन गर्ने चेतावनी दिए । संविधानका विवादित विषयमा सहमति खोज्न शुक्रबार बिहान पनि प्रधानमन्त्री निवास बालुवाटारमा चार दलका शीर्ष नेताको बैठक बोलाइएको थियो । बिहान १० बजेका लागि बोलाइएको बैठकमा ओली आएनन् । दलहरु सहमति नजिक पुगेको नेताहरुको सार्वजनिक धारणाले सञ्चारकर्मीको भिड पनि बालुवाटारमा राम्रै थियो । चार शीर्षमध्ये कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइराला बालुवाटारमै थिए । तेस्रो ठूलो दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी मोर्चाका नेता विजयकुमार गच्छदार समयमै बालुवाटार आए । दोस्रो ठूलो दल एमाले अध्यक्ष केपी शर्मा ओली देखिएनन् । एक घण्टासम्म पनि ओली नआएपछि बैठक स्थगित हुने लख काटिएको थियो । नभन्दै दाहाल र गच्छदार नारिएर निस्किए र गार्डेनतिर गए । दुई नेता १० मिनेटसम्म अनेक भावभंगीमा देखिए । दुवै जना ३० दलीय मोर्चामा छन् । चार दलको बैठकमा लचक भएको भन्दै मोर्चा्भित्र उनीहरुले विरोध पनि खेपिएका छन् । १० मिनेपछि दुवै नेता बालुवाटारबाट बाहिरिए । जाँदाजाँदै गच्छदारले यत्ति भने,–‘स्वास्थ्यका कारण ओली आउन सक्नुभएन । आज साँझ बैठक बस्छ ।’ गच्छदारले मिडियासामु यति भन्दा दाहालको गाडी बालुवाटारबाट निस्किसकेको थियो । गच्छदारले भनेजस्तै साँझको बैठकमा ओली टुप्लुक्क आए । बैठक भयो । तर, निर्णय त उही शून्य !

Post a Comment

 
Top