0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगर पालिका वडा नं २६ सराङकोटका भूकम्प पीडित २१ घरपरिवारलाई रकम हस्तान्तरण गरिएको थियो । भूकम्प पीडित बासिन्दाहरुलाई मंगलबार करिब तीन लाख रुपैयाँ वितरण गरिएको छ । भावना सामुदायिक कृषि सहकारी संस्था लिमिटेड सराङकोट कास्कीको संयोजनमा स्थानीय अन्य संघसंस्थाहरुको सहयोगमा सहयोग रकम संकलन गरी प्रभावितहरुलाई एक कार्यक्रमका बीच वितरण गरिएको हो । प्रत्येक घरपरिवारलाई नगद १३ हजारका दरले जम्मा दुई लाख ७३ हजार सहयोग रकम वितरण भएको हो । घर भत्किएर अन्य वैकल्पिक बास नभएका वडाका बासिन्दाहरुलाई नगद सहयोग गरिएको कार्यक्रम आयोजक संस्था भावना सामुदायिक कृषि सहकारीका अध्यक्ष शिवप्रसाद कोइरालाले जानकारी दिए ।  आयोजक संस्थाले जेठ ९ गते स्थानीय संघसंस्थाहरुको भेला आयोजना गरि सहकारीका अध्यक्ष कोइरालाको नेतृत्वमा राहत तथा विपद व्यवस्थापन सहयोग समिति गठन गरी सहयोग रकम संकलन गरेको थियो । सूर्यबहादुर खड्काको संयोजकत्वमा चुडामणि पहारी, नीलकण्ठ पराजुली, योगेन्द्रबहादुर थापा र चिन्तामणि शर्मा तिमिल्सिनाको मूल्याङ्कन तथा अनुगमन समिति गठन गरी प्रभावित क्षेत्रमा कार्य गरेको थियो । सहयोग रकम संकलनमा संयोजन गरेको भावना सामुदायिक कृषि सहकारीले ९० हजार प्रदान गरेको थियो भने सराङ्गकोटमा अवस्थित होटल अन्नपूर्ण भ्यूले ६० हजार, सामुदायिक विकास कोषले ३५ हजार, साना किसान कृषि सहकारी संस्था लि.ले २० हजार, जागृति सामुदायिक संस्थाले १५ हजार समन्वय नेपाले ११ हजार एक सय ११, परिवर्तनशिल सराङ्गकोट समाजले १० हजार एकता सामुदायिक संस्थाले १० हजार एक सय, जनहित सामुदायिक संस्थाले सात हजार पाँच सय, भूमिकालिका वचत संस्थाले छ हजार दुई सय नगद सहयोग गरेका थिए ।  यसैगरी जनशक्ति सामुदायिक वचत सहकारीले पाँच हजार छ सय, प्रगति सामुदायिक संस्थाले छ हजार, महिला जागरण संस्था, भगवती सामुदायिक संस्था, सराङ्गकोट पर्यटन विकास समिति, नवसाहारा ऋण तथा वचत सकारी कुश्मा, भुपेन्द्र शाही दैलेख, राजेन्द्र कोइराला र सूर्य क्षेत्री, जनजार्गति उमावि भूपू विद्यार्थी मञ्च, लालिगुराँस सामुदायिक संस्था, नेपाल रेडक्रस सराङ्गकोट उपशाखा एवम् शिवप्रसाद कोइरालाले नगद पाँच हजार प्रदान गरेका थिए । समितिले विभिन्न व्यक्ति तथा संघसंस्थाहरुबाट ३ लाख ८६ हजार चार सय २७ नगद संकलन गरेको थियो । भूकम्प पीडितलाई वितरण गरि बाँकी रहेको रकम जिल्ला प्रशासन कार्यलय कास्की मार्फत प्रधानमन्त्री राहत कोष र भावना विपद व्यवस्थापन कोषमा राखिने भएको छ ।

Post a Comment

 
Top