0
संविधानको एकीकृत मस्यौदा बनाउने क्रममा देखिएको विवाद समाधान गर्न मंगलबार बसेको प्रमुख चार दलको बैठक बिना निश्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुबाटारमा बसेको बैठकमा विवादित विषयमाथि छलफल भए पनि अन्तिम रूप दिन समय लाग्ने भएकाले बुधबार बिहान पुनः बैठक बसेर टुङ्ग्याउने नेताहरूले बताएका छन् । बैठकपछि गृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष बामदेव गौतमले विस्तृत रूपमा छलफल गर्नुपर्ने भएकाले भोलि बैठक बसेर टुङ्गो लगाउने विषयमा छलफल भएको बताए । त्यस्तै, एमाओवादी का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकमा मस्यौदा समितिमा भएको कामका बारेमा समितिको कार्यदलका तर्फबाट प्रमुख पार्टीका शीर्ष नेतालाई ‘ब्रिफिङ’ गर्दै १५ दिनभित्र नै मस्यौदालाई अन्तिम रूप दिने तयारी भइरहेको र त्यो काम पूरा गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गरेको जानकारी दिए । उनका अनुसार मस्यौदा समितिको टोलीले केही विषयमा नेतृत्व तहमा छलफल गरेर निचोड निकाल्ने काम गर्न सकिए तीव्र रूपमा अघि बढाउन सकिन्छ भन्ने अनुरोध गरेकाले भोलि चार दलका एक÷एक शीर्ष नेता र मस्यौदा समितिका कार्यदलमा कार्यरत एक÷एक जना सदस्य बसेर छलफल गर्ने समझदारी भएको छ । बैठकमा प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय कुमार गच्छदारसहित मस्यौदा समिति कार्यदलका सदस्यहरू सहभागी थिए ।

Post a Comment

 
Top