गोल्डेन न्यूज संवाददाता
पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको मेट्रो डेभलपमेन्ट बैंक लिमिटेडको छैटौं शाखा कार्यालय लेखनाथ नगरपालिकाको वडा नं. ७, तालचोकमा संचालनमा आएको छ । उक्त शाखाको सोमबार एक समारोहकाबीच पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले उद्घाटन गरे । त्यस अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका थपलियाले वित्तिय क्षेत्रमा बैंकले आफ्नो दायरा अझै बढाउनुपर्नेमा जोड दिंदै बैकिङ्ग क्षेत्रले सामाजिक उत्तरदायित्वको कार्यलाई अझै वृद्धि गर्नुपर्ने बताए । लेखनाथ क्षेत्र तथा यसको वरिपरि ग्रामिण भागमा छरिएर रहेको स–साना निक्षेपलाई संकलन गरि उत्पादनशिल क्षेत्रमा लगानी गरि लेखनाथ क्षेत्रकै आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याउने उद्देश्यका साथ शाखा विस्तार गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद तिवारीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । बैंकले तालचोक शाखाबाट लकर तथा एटीएम सुविधासहित शाखा संचालन गरेको हो । बैंकका अध्यक्ष नारायण बरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बैंकका निवर्तमान अध्यक्ष प्रा.डा. पुष्पराज पराजुली, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरी, लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेल, तालचोक बजार व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम भण्डारी, बैंकका प्रवन्धक देवराज पौडेल र संचालक नन्द श्रेष्ठ लगायतले आ–आफ्नो भनाइ राखेका थिए । बैंकले यसअघि प्रधान कार्यालय न्यूरोड पोखरा, शाखा कार्यालय लमजुङको बेशीसहरबाट आधुनिक सेवा र सुविधा सहित लकर र एटीएम सेवा संचालन गर्दै आएको छ भने पोखराको रत्नचोक, हस्पिटलचोक, लमजुङको भोर्लेटार र म्याग्दीको बेनीबाट पनि सेवा प्रदान गर्दै आएको छ । बैंकले २०७१ चैत्र मसान्त सम्ममा १ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन, १ अर्व ६३ करोड रुपैयाँ कर्जा लगानी गरि ५ करोड ३७ लाख रुपैयाँ सञ्चालन मुनाफा हासिल गर्न सफल भएको छ । बैंकको आ.व. २०७०÷०७१ को सञ्चित मुनाफाबाट वितरित १६ प्रतिशत बोनश शेयर नेपाल स्टक एक्सचेञ्जमा कारोवारको लागि सूचिकृत भई कारोवार भईरहेको विकास बैंकले जनाएको छ ।
Post a Comment