पोखरामा पर्यटन विकासको चर्चा हुने र सेलाउने गरेको धेरै भइसक्यो । सरकारी, निजी वा गैरसरकारी क्षेत्रबाट कुनै औपचारिक कार्यक्रम हुँदा चर्चामा आउने पर्यटन विकासको सवाल त्यसपछि फेरि सेलाउने गरेको छ । नेपालको समृद्धिको आधार कृषि र पर्यटन हो । कृषिको व्यावसायीकरण र पर्यटन प्रबद्र्धनबाट देशको समृद्धि गर्न सकिने भन्नेमा सबै सहमत देखिन्छन् । तर यसका लागि ठोस योजना भने तयार पारेर कार्यान्वयनमा लगेको दखिदैन । अहिले हामी महाबिपत्तिको अवस्थामा छौं । महाभूकम्पका कारण सिर्जित महाबिपत्तिबाट तंग्रिएपछि पुनःनिर्माणको बाटोमा अघि बढ्नुपर्नेछ । पुनःनिर्माण वा नवनिर्माण जे भए पनि शोकलाई शक्तिमा बदल्ने समृद्धिको नयाँ बाटोमा अघि बढ्ने हो । त्यसका लागि आर्थिक समृद्धिका प्रशस्त आधारहरु चाहिन्छन् । यसमा कृषि र पर्यटन महत्वपूर्ण आधार हुन सक्छन् । किनकि बाहिरी सहयोगबिना सञ्चालन गर्न सकिने यी हाम्रा आफ्नै ‘ब्राण्ड’ हुन् । पोखरा र अझ गण्डकी अञ्चलमा पर्यटन प्रबद्र्धनको राम्रो सम्भावना छ । गण्डकी नेपालको यस्तो अञ्चल हो, जहाँ तराई, पहाड हिमाल तीनवटै प्राकृतिक प्रदेशले छोएको छ । पर्यटन क्षेत्रका प्रमुख आधार मानिने प्राकृतिक सौन्दर्य, कला, संस्कृति, साहसिक गतिविधि, ऐतिहासिक तथा धार्मिकस्थलहरु यहाँ उपलब्ध छन् । तर यी सबै सम्पदालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरेर पर्यटन प्रबद्र्धनमा खासै ध्यान पुग्न सकेको छैन । सरकारले गण्डकीका प्राकृतिक सम्पदाहरुको सही पहिचान गरेर एकीकृत पर्यटन गुरुयोजना निर्माण गरी कार्यान्वयनका लागि निजी क्षेत्रलाई आकर्षित गर्ने हो भने यहाँको पर्यटन विकास निकै माथि जान सक्छ । गण्डकीको एकीकृत पर्यटन विकास गर्न भनेर सरकारी, निजी क्षेत्र र सामाजिक संघसंस्थाहरु रहेको गण्डकी पर्यटन विकास समिति पनि गठन गरिएको छ । तर यो निष्क्रियप्रायः छ । पाँचवटै जिल्ला विकास समिति, जिल्ला उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघका प्रमुख सदस्य रहेको यो समिति निकै प्रभावकारी समिति हुनुपर्ने हो, त्यसो हुन सकेको छैन । गठन र पुनर्गठन हुने अनि निष्क्रिय रहने यसको विशेषता नै बनेको छ । अहिले जिल्ला विकास समितिहरुमा जनप्रतिनिधि नभएको बेला यसलाई सक्रिय पार्न स्थानीय विकास अधिकारीहरुको ठूलो भूमिका रहन्छ, यसमा ध्यान पुग्न सकेको छैन । पाँचवटै जिल्ला विकास समितिले परिषदमार्फत पर्यटन समितिलाई सक्रिय पार्न बजेट छुट्याएकै हुन्छन् । तर समिति सक्रिय हुन सकेको छैन । गण्डकीको पर्यटन विकासको पहिलो खुड्किलो भनेकै यो समितिलाई सक्रिय बनाउनु हो । किनकि अहिलेसम्म गण्डकीको एकीकृत पर्यटन गुरुयोजना बन्न सकेको छैन । पर्यटन गुरुयोजना बनाएर मात्र यसमा निजी क्षेत्रलाई आकर्षित गर्न सकिनेछ । जहाँसम्म कास्कीको पर्यटन विकासको सवाल हो, यसका दुईवटा पाटा हुन सक्छन् । एउटा त दाङभित्रै पर्यटकीय गन्तव्यको खोजी वा निर्माण गरेर पर्यटन विकासको शुरुवात गर्न सकिन्छ । मूर्त र अमूर्त प्राकृतिक सम्पदाहरु रहेको कास्की नेपालको एक मात्र त्यस्तो जिल्ला हो, जहाँ ऐतिहासिक प्रमाणहरु रहेको पुष्टि भएको छ । यसको ब्यापक उत्खनन् गरेर पर्यटन विकाससँग जोड्न सक्नुपर्छ । पर्यटन विकाससँग जोड्न सक्ने हो भने गुरुङ संस्कृति, धार्मिक सम्पदा र प्राकृतिक सम्पदाहरु पर्याप्त छन् । कास्कीको पर्यटन विकासको अर्को र अझ महत्वपूर्ण पाटो भनेको गण्डकीका अन्य जिल्लाको पर्यटन विकासबाट यसले लिनसक्ने फाइदा हो । गण्डकीका हरेक गन्तव्यमा आउने पर्यटकहरुलाई कास्कीको बाटो हुँदै आउने र केही समय बस्नसक्ने व्यवस्था मिलाउने हो भने यसबाट कास्कीले अझ ठूलो फाइदा लिनसक्छ । एक ठाउँमा आएका पर्यटकलाई अर्को ठाउँमा जान आकर्षित गर्ने गरी गण्डकी पर्यटन गुरुयोजना बन्नु आवश्यक छ । यो गुरुयोजना बनेपछि आवश्यक होटल, सूचना केन्द्र, रुट गाइडहरुसहितको पर्यटन व्यवसाय शुरु गर्न सकिनेछ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment