0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ नगरपालिकामा आध्यात्मिक तथा मानसिक परामर्श अभियान सम्पन्न भएको छ । भूकम्पका कारण भएको डर त्रासलाई न्युनिकरण गर्दै  भत्किएको मनमा शान्ति र आनन्द जगाउने उद्देश्यका साथ  सम्पूर्ण आध्यात्मिक धार्मिक संघसंस्था, समाजिक अभियन्ता, पत्रकार, प्रशासन, मनोचिकित्सक संघ, इन्जिनियर भुगोलविद् लगायत एकजुट भई संयुक्त रुपमा संचालन गरेको अभियानको प्याकेज कार्यक्रम सोमबार लेखनाथमा प्रस्तुत गरिएको हो । कार्यक्रममा सहभागीहरुले कार्यक्रम अत्यन्त उपयोगी भएको भन्दै लेखनाथमा फेरी कार्यक्रम सञ्चालन गर्नुपर्ने माग राखेका छन् । साथै सबै एकजुट भएर थालिएको उक्त अभियानले क्षतविक्षत मनलाई राहत मात्र होइन राष्ट्रिय एकताको सन्देश दिन सफल भएको बताए ।कार्यक्रममा योग प्रशिक्षकहरु काव्य लम्साल, महेश्वर गिरी, टिकाराम न्यौपाने, दिपक सिग्देलले योग र ध्यान गराएका थिए भने ब्रह्मकुमारी सुधाले तनाव व्यवस्थापन सम्वन्धी प्रस्तुति राखेका थिए । कार्यक्रममा अभियानका संयोजक सह–क्षेत्रीय प्रशासक दिवाकर बाँस्तोलाले दुःख, सुख, डर, त्रास र आनन्द सवै मनका कारण उत्पन्न हुने भएकाले मनलाई नियन्त्रणमा राख्नुपर्नेमा जोड दिए । कार्यक्रममा डा.निर्मल लामिछानेले मनोपरामर्श, इ.राजेन्द्र लिगलले भूकम्प र संरचना सम्वन्धी प्रस्तुति र अभियानका सदस्य माधव पहारीले कार्यक्रम सहजीकरण गरेका थिए । कार्यक्रमको सुरुवात पंण्डित टिकाराम आचार्यले शान्तिपाठ गरेका थिए भने वौद्धमार्गि मिन लामाले शान्तिको प्राथना र मानव धर्मका माहात्मा पितम्वरा वाईजीले गुरुप्राथना गरेकी थिइन् । कार्यक्रमको सञ्चालन अभियानका सदस्य सचिव सुष्मा पौडेलले गरेकी थिइन् । कार्यक्रममा अनुभव सुनाउँदै नगरपालिकाका कानून अधिकृत राममणि अधिकारीले लेखनाथ नगरपालिका का फेरी अर्को पनि कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । त्यस्तै शिक्षाविद् माधवशरण उपाध्यायले सम्पूर्ण धार्मिक तथा आध्यात्मिक संघसंस्था एकजुट भएर भूकम्प प्रभावितका लागि अभियान चलाउँदा आनन्द र शान्ति मात्र होइन राष्ट्रिय एकताको सन्देश दिएको बताए । त्यस्तै पत्रकार भीमपाणि बराल, सहभागिका तर्फबाट पार्वती तिवारी लगायतले कार्यक्रम उपयोगी भएको बताएका थिए । कार्यक्रममा  व्यवस्थापन समितिका संयोजक लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरीले अर्को चरणमा महिला र बालबालिकालाई लक्षित गरि कार्यक्रम सञ्चालन गर्ने तैयारी गरेको बताए । त्यस्तै राधा माधव समिति लेखानाथका अध्यक्ष हरि अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारी तथा पुर्व अध्यक्षहरु, विभिन्न सरकारी कार्यलयका प्रमुख, विभिन्न आध्यात्मिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, लायन्स क्लव, लेखनाथ जेसीज तथा रोटरी क्लव अफ लेखनाथका प्रतिनिधि, सामुदायिक सेवा केन्द्र लगायतका आध्यात्मिक तथा धार्मिक संघसंस्था तथा विभिन्न शौक्षिक तथा अन्य संघसंस्थाका नेतृत्वकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Post a Comment

 
Top