0
गोल्डेन न्यूज संवाददाता
आठौं गणतन्त्र दिवस २०७२ को अवसर पारेर रामबजार टोल विकास संस्था वडा नं.१० को गौरीमार्ग टोलबासी र व्यापारी समुदायले गत बैशाख १२ गते र २९ गतेको महाभूकम्पमा परी घरबार गुमाई घाइते भई उपचाररत गोरखा, लमजुङ्ग, तनहुँ, पर्वत र म्याग्दीका पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार गराइरहेका बिरामीलाई खाना तथा कपडा वितरण गरेको छ । रामबजार टोल विकास संस्था रामबजार १०, १५ का अध्यक्ष सम्मरबहादुर श्रेष्ठको नेतृत्वमा अस्पतालमा रहेका बिरामीलाई खाना खुवाउने र टिसर्ट वितरण गरिएको थियो । उक्त कार्यमा रामबजार गौरीमार्गदेखि बुद्धचोकसम्मका करिब ५० जनाको सहभागिता र सहयोग रहेको श्रेष्ठले बताए । १ सय १५ जनालाई खाना खुवाउने क्रममा गौरीमार्ग पोखरा १० निवासी सोम बहादुर गुरुङ्गको संयोजकत्वमा संगठित उपसमितिले ४४ हजार संकलन गरी खाना तथा १ जना बिरामीलाई ४ हजार पाँचसयको ढाडमा लाउने बेल्ट खरिद गरी हस्तान्तरण गरिएको थियो । उक्त कार्यमा रोहित पुनले ५० जनालाई टिसर्ट र बच्चाको कपडा गरि रु.१५ हजारबराबरको वितरण गरिएको थियो । कार्यक्रममा हरिकृष्ण रन्जित, सुशिल श्रेष्ठ, श्रीमान गुरुङ्ग, किरण रञ्जित, भिम बहादुर पुन, काली गुरुङ्ग, सम्पूर्ण गुरुङ्ग, राजकुमार परियार लगायतले उक्त राहतस्वरुप खाना खुवाउने कार्यक्रममा नेपाल र नेपालीका दुःखमा घरदेखि गाउँसम्म जान नसके तापनि अस्पतालमा उपचार गर्न आएका बिरामीका लागि सानो सहयोग गर्न पाएको खुसी व्यक्त गर्ने शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

Post a Comment

 
Top