यो वर्षको मनसुन शुरु हुँदैछ । मनसुन शुरु भएसँगै वर्षात शुरु हुनेछ, अनि शुरु हुनेछ बाढीपहिरोको जोखिम । गएको वर्ष बाढीपहिरोका कारण पश्चिम नेपालका चार जिल्लामा ठूलो क्षति भयो । दाङ, बाँके, बर्दिया र सुर्खेतमा ठूलो संख्यामा जनधनको क्षति पु¥याउने गरी आएको बाढीबाट हजारौं घरवारबिहीन भए । गत वर्षको वर्षातमा घरबारबिहीन भएकाहरुमध्ये केही बल्लतल्ल आफ्नो घरमा फर्किने तयारी गर्दैछन् भने केही अझै बाहिरै बसिरहेका छन् । यो अवस्थामा फेरि वर्षात शुरु भएसँगै बाढीपहिरोको जोखिम बढ्ने निश्चित छ । यो वर्ष अझ बढी बाढीपहिरोको जोखिम बढ्नेछ । महाभूकम्पका कारण पहाडी क्षेत्रको जमिन चर्केको छ । पहाडमा आउने पहिरोले पहाडी क्षेत्रमा क्षति पु¥याउँछ नै, यसले तराईका जिल्लाहरुमा बाढी बढाउन पनि मद्दत गर्नेछ । त्यति मात्र होइन, भूकम्पका कारण प्रकृति नै असन्तुलित भएको छ । प्राकृतिक असन्तुलनमा रहेको बेला अनाबृष्टि अतिबृष्टिको खतरा रहन्छ । खडेरी भए पनि लामो समयसम्म रहने, वर्षात भए पनि धेरै परिमाणमा हुने स्थितिले जोखिम बढाउँछ । मनसुन शुरु नहुँदै पूर्वी नेपालका पहाडी जिल्लाहरुमा पहिरोले ठूलो क्षति पु¥याइसकेको छ । यसलाई ठूलै जोखिमको संकेतको रुपमा बुझेर जोखिम न्यूनीकरण गर्ने तयारी थाल्नु आवश्यक छ । जनस्तरदेखि राज्यस्तरसम्मबाट तयारी थाल्ने हो भने जोखिम न्यून गर्न सकिनेछ । नेपाल प्राकृतिकरुपमा जति सुन्दर र विविधतायुक्त छ, त्यत्तिकै बिपतका हिसाबले जोखिमपूर्ण पनि छ । एकनासको मौसम नहुनु यहाँको महत्वपूर्ण विशेषता हो । नदीदेखि हिमालसम्मको प्राकृतिक स्वरुपले नेपाललाई सुन्दर बनाएको छ । विश्वकै लोभलाग्दो देशको रुपमा नेपाल चिनिएको छ । यति हुँदाहुँदै प्राकृतिक विविधताका कारण सिर्जना हुने प्राकृतिक बिपतको जोखिम पनि उत्तिकै छ । गर्मीमा ‘लू’ लाग्ने समस्या नेपालमा पनि देखिन थालिसकेको छ । गर्मीयामसँगै शुरु हुने महामारीको पीडा सेलाउन नपाउँदै वर्षात शुरु हुन्छ । वर्षातमा पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा बाढीको ठूलो जोखिम बढ्ने गर्दछ । असोज कार्तिकको क्षणिक मनोरम वातावरणपछि फेरि चिसो शुरु हुन्छ । चिसोका कारण विशेष गरी तराईका जिल्लाहरुमा ठूलो मानवीय क्षति हुने गरेको छ । अझ यो वर्ष महाभूकम्प पनि नेपालमै केन्द्र बनाएर गएपछि ठूलो संकट थोपरिएको छ । कुनै पनि बिपत प्राकृतिक हुन्छ तर यसको जोखिम भने मानवीय कर्ममा भर पर्दछ । त्यसैले मानवीय कर्ममा सुधार ल्याउने हो भने बिपतको जोखिम कम गर्न सकिन्छ । नेपालमा एउटा उल्लेखनीय पक्ष के छ भने प्राकृतिक बिपतबाट विपन्न वर्ग नै बढी मारमा पर्ने गर्दछन् । टाढा नगएर महाभूकम्पकै स्थिति हेर्ने हो भने पनि त्यो देख्न सकिन्छ भने गत वर्ष दाङसहितका जिल्लामा आएको बाढीबाट पनि विपन्न समुदायमा बढी क्षति पुगेको थियो । यो स्थितिको पनि गहिरो अध्ययन गरी नेपालमा बिपत जोखिमको नीति निर्माण गर्दा अर्थराजनीतिलाई प्राथमिकतामा राख्न आवश्यक छ । बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न सबैभन्दा पहिले त जनस्तरमा सचेतना जरुरी छ । सम्भावित जोखिमयुक्त क्षेत्रको पहिचान गरी स्थानीयबासीलाई सचेत गराउने र जोखिमको सम्भावना बढी नै देखिए स्थानान्तरणका लागि राज्यले पहल गर्नुपर्छ । यो वर्ष महाभूकम्पका कारण थर्केको र चर्केको जमिनमा धेरै पहिरोको खतरा बढ्ने लक्षण देखिएको छ । विज्ञहरुले पनि त्यस्तो चेतावनी दिइरहेका छन् । वर्षौंअघि पहिरो गएका ठाउँमा भूकम्पका कारण पुनः पहिरो जाने खतरा उनीहरुले औंल्याइरहेका छन् । यो चेतावनीलाई गम्भीररुपमा लिएर पूर्वसतर्कता अपनाउन जरुरी छ । सतर्कता अपनाउँदा अपनाउँदै पनि प्राकृतिक बिपत आइहाल्यो भने तत्काल उद्धारको काम हुन आवश्यक छ । अहिले भूकम्पका कारण सिंगो मुलुकको ध्यान भूकम्प प्रभावित जिल्लाहरुमा केन्द्रित छ । यस्तो बेलामा अन्य जिल्लामा आइलाग्ने विपतपछि उद्धारको काममा समस्या आउने ताप्लेजुङमा पहिरो जाँदा देखिएको छ । पहिरो गएको दुई दिनपछि मात्र राज्यको उपस्थिति हुने स्थितिले तत्काल उद्धार गरेर जोखिम न्यूनीकरण गर्न सकिदैन । त्यसका लागि दक्ष जनशक्ति र आवश्यक स्रोतसाधन सबै जिल्लामा तयारी हालतमा राख्न आवश्यक छ । उद्धारपछि राहत र पुनःस्थापनाको काम अघि बढाउन आवश्यक हुन्छ । राहतको सन्दर्भमा भूकम्पले धेरै सिकाएको छ । एकद्वार प्रणालीबाट जाने राहत व्यवस्थित हुने यथार्थ पनि यसले पुष्टि गरेको छ । पुनःस्थापनासँगै पुनःनिर्माण र पुनर्वासका लागि पनि तयारी गर्नुपर्ने देखिन्छ । फेरि पनि यी सबैभन्दा महत्वपूर्ण कुरा पूर्वशतर्कता नै हो, यसमा हामी सबैको ध्यान जानु जरुरी छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment