गोल्डेन न्यूज संवाददाता
कास्कीको ल्वाङ्गघलेल गाँउ विकास समिति वडा नम्बर २ मा बाराही निम्न माविको २ कोठे भवनको उद्घाटन गरिएको छ । जिल्ला शिक्षा कार्यालय कास्कीको ७ लाख ५० हजारसँगै जनश्रमदान र चन्दा सहयोगबाट निर्माण गरिएको विद्यालय भवनको आईतबार कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले उद्घाटन गरेका हुन् । कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने दाताहरु तथा अक्षयकोष स्थापना गर्ने सहयोगीहरुलाई सम्मान पनि गरिएको थियो । विद्यालय भवनका लागि मर्दिखोला सेवा समिति हङ्गकङ्गले १ लाख ६० हजार, हङ्गकङ्गमा रहेका गिरबहादुर गुरुङ्गले ३५ हजार सहयोग गरेका थिए भने असल छिमेकी नेपाल, पोखरा लायन्स क्लब लगायतले पनि सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर बिकले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । विद्यालयका लागि स्थानीय देवराज गुरुङ्ग र डम्बर कुमारी गुरुङ्गले १४ आना भन्दा बढि जग्गा दान गरेका छन् । विद्यालयका लागि युकेमा रहेका धम्पुस निवासी क्याप्टेन हितकाजी गुरुङ्ग र दिलसुवा गुरुङ्गले माईती बाजेबज्यैको स्मृतिमा १ लाख ११ हजार, १ सय १ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । यस्तै यूकेमा रहेका भिमबहादुर परियार र धनकुमारी परियारले ५० हजारको अक्षयकोष स्थापना गरेका छन् ।
Post a Comment