0

गोल्डेन न्यूज संवाददाता

पोखरा १२ असार ।
पराजुली समाज नेपालले विभिन्न क्षेत्रमा विशेष योगदान दिएका पराजुलीवन्धुहरुलाई शनिबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । नेपाल सरकारका कृषि मन्त्री हरि प्रसाद पराजुलीसहित पराजुली समाजका केन्द्रीय अध्यक्ष कूल प्रसाद पराजुली र पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल व्यापी वृहत क्षेत्रीय भेला आयोजक समितिका संयोजक सुशिलराज पराजुलीले सम्मानित व्यक्तित्वहरु लाई सम्मानपत्र, माला र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सम्मानित हुनेहरुमा गोल्डेन न्यूज राष्ट्रिय दैनिकका प्रधान सम्पादक तथा सुनौलो एफ.एमका कार्यकारी निर्देशक गंगाधर पराजुली, नेपाली लोक साहित्यमा विद्यावारिधि गरेका डा. मोतीलाल पराजुली, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका संरक्षक प्रजापति पराजुली, समाजशास्त्रमा विद्यावारिधि गरेका डा. विश्वकल्याण पराजुली, भारतीय एक विश्वविद्यालयमा स्वर्णपदक विजेता अरुण पराजुली, कृषिविज्ञ विश्वनाथ पराजुली, बीबीसी नेपाली सेवामा कार्यरत रमा पराजुली  रहेका छन् । पत्रकार गंगाधर पराजुलीलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्राको रक्षाका लागि र विभिन्न संचारमाध्यम मार्फत आम नागरिकलाई सुसूचित गराउन दुई दशक बढी समय निरन्तर क्रियाशील रहेको भन्दै सम्मान गरिएको हो । पराजुलीलाई राष्ट्रिय समाचार समितिको संचालक समिति सदस्यमा मनोनित भएकोमा बधाई ज्ञापन समेत सम्मानपत्रमार्फत गरिएको थियो ।
यसैगरी पराजुली समाजको विकास र विस्तारमा योगदान पु¥याएको भन्दै समाजका झापा जिल्ला अध्यक्ष दुर्गा प्रसाद पराजुली र स्याङ्जाका अध्यक्ष देवी बहादुर थापा पराजुलीलाई तथा पराजुली वंशको अध्ययन अनुसन्धान र प्रकाशनमा योगदान पु¥याएको भन्दै श्रीभद्र पराजुलीलाई समेत त्यस अवसरमा सम्मान गरिएको थियो ।
समाजका कास्की शाखाका पूर्व अध्यक्ष एवं पूर्व केन्द्रीय सल्लाहकार विष्णुहरि पराजुलीलाई मरणोपरान्त सम्मान गरिएको कार्यक्रममा पराजुली उद्गमस्थलमा रहेको मन्दिरमा नित्य पूजा गर्ने टीकाराम त्रिपाठीलाई पनि सम्मान गरिएको थियो । पराजुली समाजका ज्येष्ठ सदस्य मध्ये ९६ वर्षीय पार्वती पराजुली र ८७ वर्षीय लालबहादुर पराजुली ज्येष्ठ नागरिक सम्मानबाट सम्मानित भएका थिए । कार्यक्रममा समाजको कास्की जिल्ला शाखाले प्रकाशन गरेको पराजुली वंश चौतारी स्मारिकको विमोचन पनि मन्त्री पराजुलीले गरेका थिए ।
त्यस अवसरमा बोल्दै मन्त्री पराजुलीले नेपाली समाज मौलिकताको दृष्टिकोणले विकसित भएको भन्दै पराजुली समाज भित्र नोकर र मालिकको जस्तो सम्बन्ध हुन नहुने बताए । पराजुलीको प्रतिनिधित्व सबै क्षेत्रमा रहेकाले मुलुकमा अगुवाई गर्न र नेतृत्व गर्न पराजुलीहरु सक्षम हुने बताउदै उनले कुनै ट्रष्ट स्थापना गरेर भएपनि रचनात्मक काम गर्न आग्रह गरे । मन्त्री पराजुलीले आफू राजनीतिक कारणले पराजुली समाजको उत्थानमा लाग्न नसकेको भनि चिन्ता जाहेर गरे । कृषि मन्त्री पराजुलीले व्यवसायिक कृषिमा लाग्न र ग्रामीण क्षेत्रको जनताको क्रयशक्ति बढाउन आवश्यक रहेको स्पष्ट पारे ।
समाजका केन्द्रीय अध्यक्ष कुल प्रसाद पराजुलीले राज्यको व्यवस्थापिका, कार्यपालिका र न्यापालिकामा समेत पराजुलीहरुको प्रतिनिधित्व रहेको बताउँदै झापामा झण्डै ७० लाख खर्च गरी समाजका भवन निर्माण भएकाले अन्य जिल्लामा पनि रचनात्मक काम गर्न आग्रह गरे ।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरुमध्ये पत्रकार गंगाधर पराजुलीले सरकारले शान्ति, स्थिरता र विकासमा तदारुकताका साथ काम गर्नुपर्नेमा जोड दिंदै राजनीतिक या भौगोलिक दृष्टिकोणले जो जहाँ रहेपनि पराजुली वन्धुहरुको समग्र हितका लागि समाजलाई सशक्त पानुपर्ने खाँचो औंल्याए ।

कार्यक्रममा वरिष्ठ लोकदोहोरी सम्राट प्रजापति पराजुली, डा. विश्वकल्याण पराजुली, दुर्गा प्रसाद पराजुली, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठ, पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुली लगायतले आ–आफ्नो भनाइ राखेका थिए । पराजुली वंश चौतारी स्मारिकाको समीक्षा डा. मोतीलाल पराजुली र सम्पादक श्रीभद्र पराजुलीले गरेका थिए । वृहत क्षेत्रीय भेला आयोजक समितिका संयोजक एवं पराजुली समाजका केन्द्रीय सदस्य सुशिलराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भेलाका सह–संयोजक तथा कास्की अध्यक्ष माधव पराजुली र भेला आयोजक समितिका सचिव ढाकामोहन पराजुली कौडिण्यले पनि पराजुली समाजको विविध गतिविधका बारेमा जानकारी गराएका थिए ।

सोही भेलाले पराजुली समाजको क्षेत्रीय समिति समेत गठन गरेको छ । जसमा कास्कीका खगेन्द्र पराजुली अध्यक्ष र प्रजापति पराजुली सचिव रहेका छन् भने कास्कीकै भेषराज पराजुली र रघुनाथ पराजुली, बाग्लुङका गोविन्द पराजुली, गुल्मीका शिव पराजुली, नवलपरासीका जगनाथ पराजुली, म्याग्दीका दण्डपाणि पराजुली, स्याङ्जाका खिमबहादुर पराजुली र दाङका यामलाल पराजुलीलाई सदस्य राखिएको छ । अधिवक्ता ज्ञानेश्वर पराजुली संयोजक रहेको निर्वाचन समितिले उक्त समिति गठन गरेको हो । कार्यक्रमका अवसरमा विभिन्न नाचगान प्रस्तुत गर्नुका साथै स्वस्ती वाचन समेत गरिएइको थियो ।

Post a Comment

 
Top