0
हरि पन्त
पोखरा २३ जेठ ।
जोनमै उत्कृष्ट हुन सफल लायन्स क्लव अफ पोखरा पिस चौतारीको जिम्मेवारी नयाँ नेतृत्वले प्राप्त गरेको छ । लायन वर्ष २०१४÷०१५ का डा. विष्णुप्रसाद चापागाइँ नेतृत्वको टोलीले २०१५÷०१६ का लागि निर्वाचित धनञ्जय पौडेल नेतृत्वको टोलीलाई शनिबार आफ्नो पदभार हस्तान्तरण गरेको थियो । अध्यक्ष पौडेल नेतृत्वको टोली केही अघि निर्वाचित भएको थियो । पौडेललाई पदभार हस्तान्तरण गर्दै २०१४÷०१५ का अध्यक्ष डा. चापागाइँले पिस चौतारीले यसअघि गरेका राम्रा कार्यलाई निरन्तरता र थप नयाँ रचनात्मक कार्य नयाँ नेतृत्वले गर्ने विश्वास व्यक्त गरे । डा. चापागाइँको कार्यकालमा स्व. गोविन्द चापागाइँ स्वास्थ्य उपचार कोष, पिस चौतारी दैवी प्रकोप कोष, पिस चौतारी टोयोकावा शान्तिकोष  लगायतको कोषहरु स्थापना गरिएको छ । डा.चापागाइँ जोनकै उत्कृष्ट अध्यक्ष समेत घोषित हुँदै क्लवलाई नै उत्कृष्ट बनाउन सफल भएका थिए । उनको नेतृत्वमा रहेका सचिव मगनलाल श्रेष्ठ समेत जोनकै उत्कृष्ट सचिव घोषित भएका छन् । आफ्नो कार्यकालमा महत्वपूर्ण सहयोग गर्नेहरुलाई सम्मान एवं मायाको चिनो प्रदान गर्दै डा. चापागाइँले आफ्नो कार्यकालमा भए गरेका नयाँ कार्यको चर्चा गरेका थिए । डा.चापागाइँले आफ्नो कार्यकालमा सर्वोत्कृष्ट काम गर्ने कोषाध्यक्ष निरबहादुर थापालाई विशेष सम्मान गरेका थिए ।

पदभार ग्रहण गर्दै २०१५÷ ०१६ का लागि निर्वाचित अध्यक्ष पौडेलले सबै सदस्य तथा डिष्ट्रिक्टको सल्लाह र सुझाव अनुरुप अघि बढ्ने प्रतिवद्धता जनाए । उनले पिस चौतारीलाई सफल बनाउन र यहाँसम्म ल्याउन यसअघिका नेतृत्वलाई जून सहयोग प्राप्त भएको थियो त्यो सहयोग आफ्नो टीमले पनि पाउने अपेक्षा गरे । अध्यक्ष पौडेलले भूकम्पबाट पीडित अभिभावकविहीन २० बाल बालिकाको सम्पूर्ण खर्च व्यहोर्ने गरि बालबिालिका समेट्न लागिएको जानकारी दिए । ती बालिबालिका का लागि नयाँ संस्था स्थापना समेत गरिने उनले बताए । उनका अनुुसार क्लवको तर्फबाट भूकम्पका कारण क्षतिग्रस्त भएको एक सामुदायिक विद्यालय भवन र कुनै एक गाउँका घरहरु निर्माण गरिने भएको छ । त्यसका लागि संयोजक समेत तोकिएको र विवरण संकलन गर्ने काम भइरहेको बताइन्छ । उनले आफ्नो कार्यकालमा उत्कृष्ट हुनका लागि मूल्याङ्कनका आधारहरु समेत प्रस्तुत गरेका थिए । अध्यक्ष  पौडेलले निवर्तमान अध्यक्ष डा.चापागाइलाई दोशल्ला र मायाको चिनोद्वारा सम्मान समेत गरेका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं रिजन चियर पर्सन मोहनबाबु खड्काले डिष्ट्रिक्टकै उत्कृष्ट १० क्लवमा पिस चौतारी परेको भन्दै यस क्लले गरेका रचनात्मक कार्यलाई अन्य क्लवले अवलम्व गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा क्लवका पूर्व अध्यक्षहरु विनोद ढुङ्गाना, मेघनाथ काफ्ले, दुर्गा प्रसाद हुमागाइँ, जोन चियर पर्सन तेजनारायण पराजुली, निवर्तमान कोषाध्यक्ष निरबहादुर थापा, निवर्तमान सचिव मगनलाल श्रेष्ठ, वर्तमान सचिव प्रेमप्रसाद दाहाल, निवर्तमान तृतीय उपाध्यक्ष जीवनबहादुर क्षेत्री लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top