गोल्डेन न्यूज संवाददाता
पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक तीन तीन महिनामा सञ्चलन गर्दै आएको तत्स्थानीय समता कला कार्यशालको ४८ औ शृङ्खला शनिबार कास्कीको घाचोक गाविसमा सम्पन्न भयो । कला सिर्जनापछि सभा नायक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य नगेन सिंह ठकुरीले कोठाभित्रको परिवेशलाई त्यागेर तत्स्थानमा पुगेर कला सिर्जना गर्नु जटिल भए पनि जनजीवन र प्रकृतिसंग साक्षात्कार गर्न पाउँदा खुशी लागेको बताए । कला कार्यशालामा सहभागी वरिष्ठ कलाकार बुद्धि गुरुङले भूकम्पपछिको समय गाउँको जीवनलाई क्यानभासमा उतार्ने अवसर मिलेको हुँदा गाउँघरको यात्रामा सरिक भएको बताए । घाचोकको कला कार्यशालामा प्राज्ञ सभा सदस्य नगेनसिंह ठकुरी, वरिष्ठ कलाकार गोपाल श्रेष्ठ, बुद्धि गुरुङ, लोकप्रसाद गुरुङ, पदम घले, मिलन शेरचन, सूर्य बरायली, डिम्पल तुलाचन, ज्योति गुरुङ, थमनसिंह सुनार, मनोज तामाङ, उमेद पौडेल, देवेन्द्र गुरुङ, गोपाल दराई, हेमकान्ती गुरुङ, एस.वि. गुरुङ, मिना गुरुङ र ओसुबा गुरुङ लगायतका कलाकारहरुले प्रकृति, समाज र मानव जीवनमा आधारित दुई दर्जनभन्दा बढी कला सिर्जना गरेका थिए । परिवारका अध्यक्ष सुरेश रानाभाटको सभापतित्वमा सम्पन्न उक्त कला कार्यशालाको सञ्चालन हेमकान्ती गुरुङले गरेकी थिइन भने स्वागत र धन्यवाद ज्ञापन कला संयोजक मिलन शेरचनले गरेकी थिइन ।
Post a Comment