गोल्डेन न्यूज संवाददाता
नेपाल क्योकुशिन बुदोकाई कराँते बागमारा डोजोका २५ जना खेलाडीहरुको प्रमोशन भएको छ । डोजोको आयोजनामा शनिवार आयोजित एक कार्यक्रमका बीच उनीहरुको प्रमोशन गरिएको हो । डोजोले प्रत्येक ६ महिनामा प्रमोशन कार्यक्रम गर्ने गरेको डोजोका प्रमुख प्रशिक्षक शंकर रिमालले गोल्डेन न्यूजलाई जानकारी दिए । शनिवार प्रमोशन भएका खेलाडीमध्ये १० जनाले एल्लो बेल्टका लागि टेष्ट दिएका छन् । यस्तै ५÷५ जनाले ग्रिन, ह्वाईट र ब्राउन (फष्ट क्यू) बेल्टका लागि प्रतिश्पर्धा गरेका थिए । पोखरामा रहेका ६ वटा डोजो मध्ये बागमारा डोजो तेश्रो स्थानमा रहेको डोजो हो भने यसले थुप्रै राष्ट्रिय तथा जिल्ला स्तरीय मेडल तथा शिल्डहरु जितिसकेको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको पोखरा खेलकुद महोत्सवमा पनि यो डोजो तेश्रो भएको थियो । शनिवार भएको कार्यक्रममा प्रमुख अतिथि तथा क्योकुशिन बुदोकाई कराँते संघका केन्द्रिय सदस्य तथा पश्चिमाञ्चल प्रमुख दिपक गोदारले खेलाडीहरुको प्रमोशनले कराँते खेलको विकासमा थप टेवा पुग्ने बताए । यस्तै नियमित अभ्यासका कारण खेलाडीहरुको स्वास्थ्य स्वस्थ हुनुका साथै पठनपाठन र अन्य सामाजिक क्रियाकलापमा समेत निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए । शनिवारका प्रतिस्पर्धीहरुको नतिजा आगामी शनिवार आउने र सोही दिन बेल्ट वितरण गरिने बागमारा उपडोजोले जनाएको छ ।
Post a Comment