0
घाचोक–१, कास्कीमा जन्मेका स्रष्टाको नाम हो टेकनाथ पोखरेल । माता कुन्ती पोखरेल र पिता हरिलाल पोखरेलको कोखबाट जन्मेका टेकनाथ नेपाली वाङ्मयको क्षेत्रमा टेकनाथ पीडितका नामले परिचित छन् । वि.सं. २०४१ सालदेखि साहित्य यात्रामा लागेका लेखकका हालसम्म पद्य पुष्पाञ्जली (कवितासङ्ग्रह–२०५०), तर्पणका अञ्जुली (शोककाव्य–२०५१), घाम(छायाँका तरेलीहरू (कवितासङ्ग्रह–२०५७), तोता(मैना (खण्डकाव्य(२०६१), आमाहरू (कवितासङ्ग्रह–२०६९) लगायतका काव्यकृतिहरू यस अगाडि नै प्रकाशित भइसकेका छन् । सिर्जना पुरस्कार–२०६८ बाट सम्मानितसमेत भइसकेका पीडितले सिर्जना, हिमशिखर, हेमजाका कविताहरू, चन्द्रज्योति स्मारिकालगायतका विभिन्न पत्रपत्रिकाहरूको सम्पादनको जिम्मेवारी पनि वहन गरिसकेका छन् । सिर्जना साहित्य सदनका तत्कालीन संस्थापक सचिव तथा वर्तमान संरक्षक सदस्य, हेमजा साहित्य प्रतिष्ठान, नेपाली भाषा शिक्षक परिषद् कास्कीका आजीवन सदस्य र नेपाली लेखक सङ्घका सदस्यसमेत रहेका पीडितले १४ वर्षको निजामती सेवा अवधिपछि अवकाश लिएर हाल प्राध्यापन पेशामा क्रियाशील रहदै आएका छन् । पृथ्वीनारायण क्याम्पस पोखरामा छ वर्ष प्राध्यापन गराएका पीडित हाल चन्द्रज्योति उच्च माध्यमिक विद्यालय तनहुँको उच्च मा.वि. संयोजकका रुपमा रहेर प्राध्यापन गराउँदै आएका छन् ।वि.सं. २०७२ सालको नयाँ बिहानी सँगसँगै पीडित आफ्नो नयाँ कृति यात्रा (कथासङ्ग्रह–२०७२) लिएर बजारमा आएका छन् । सधै कविता र काव्यमा रमाएका पीडित वाङ्मयिक यात्राको झण्डै रजत वर्षको अवसर पारेर आख्यान विधामा आकर्षित भएका छन् । यसो त उनले यसभन्दा अगाडि आख्यान विधामा कलम नचलाएका भने होइनन् । फुटकर रुपमा केही रचना प्रकाशन गर्दै आएको भए पनि यो उनको पहिलो आख्यान कृति हो । २०५६ सालमा छोटो आयामको (हेर्दा लघुकथा जस्तो लाग्ने) कथा खिस्रिक्कदेखि लिएर २०७२ वैशाखसम्म लेखिएका, केही पत्रपत्रिकाहरूमा प्रकाशन भएका र केही अप्रकाशित कथासहित जम्मा २१ थान कथा प्रस्तुत सङ्ग्रहमा सङ्गृहीत भएका छन् ।  टेकनाथ कसरी पीडित बने ? त्यो चासो र चिन्ताको कुरा होइन तर प्रस्तुत सङ्ग्रहका कथाहरू अध्ययन गर्दै जाँदा उनलाई यही हाम्रो गाउँ, समाज, टोल र बस्तीको परिवेशले पीडित बताएको रहेछ की ! भन्ने अनुमान प्रस्तुत कथासङ्ग्रह अध्ययनपछि गर्न सकिन्छ । त्यो परिवेशको सिर्जना गर्न प्रस्तुत कथाहरू सवल रहेका छन् । पीडितले सङ्ग्रहमा समावेश गरेका कथाहरूमा कुनै नयाँ विषयवस्तु समावेश छैनन् । एक समय पीडित निजामती कर्मचारी थिए । निजामती कर्मचारीका कुरा आउँदा उनकै जीवनमा घटेका घटना हुन् कि ? भन्ने भान हुन्छ । कुनै समय पीडित प्राध्यापक थिए र अझै पनि छन् । रिखे माडसाब, हेडसर र सिफारिस जस्ता कथा पढ्दा यि सबै कथा उनकै जीवनका घटना हुन् कि ? भन्ने अनुभुत हुन्छ । किन भने इमान्दार, श्रमजीवि र मेहेनती व्यक्तिले आजको दुनियाँमा स्थान पाउन मुस्किल छ । त्यसैले अन्याय र अत्याचार नसहने बानीका कारण पाउनु परेको दुःख, पीडा र वेदना उनका कथामा पाइन्छ । कथाहरूमा निजामती कर्मचारीका क्षेत्रका विकृति, शिक्षाका क्षेत्रमा भएका विकृति र विसङ्गती, राजनीतिक प्रभावले थिलोथिलो पारेको कर्मचारीतन्त्रलाई थोरबहुत चिरफार गरिएको छ । यहाँ चाकडी नगर्नाले माडसाबहरू र हेडसरहरूलाई चिन्ता परेको छ । त्यसैले यी कथा उनका आफ्नै विषय जस्ता लाग्छन् ।  उनका आफ्ना विषयजस्ता लाग्ने कथा मात्र होइन, हाम्रै गाउँ समाजका विभिन्न पात्रहरूका जीवनमा घटेका घटनाहरू पनि उनका कथाका विषयवस्तु बनेका छन् । कयौं नेपाली दाजुभाइहरू आफ्नो घर परिवारको खुशीका लागि, सुन्दर भविष्यका सपना साचेर परदेश गएका छन् । ती परदेशिएकाका पीडा एक ठाउँमा छन् । त्यही मौका पारेर मन एकातिर र ज्यान एकातिर भएका प्रेमीकाहरूका जीवनमा आएका विपत्तिका क्षणहरू र मनका अन्तरवेदनाहरूलाई पनि उनले कथामा प्रस्तुत गरेका छन् । पूर्व प्रेमीले पटक–पटक प्रेमिकाको सामिप्यतामा आउन खोजेर अप्ठ्यारो पारेका विषयवस्तु उनका कथामा छन् । गाउँमा मान्छे मरे भने मलामी पाइदैन । वृद्ध र केटाकेटीबाहेक युवा जवानहरू देखिदैनन् । कोही रहरमा सहर पसेका छन् । कोही दुई चार पैसा कमाउन विदेश पलायन भएका छन् । हाम्रै गाउँटोलमा श्रीमान विदेश गएर, सहरमा गएर दुई चार पैसा कमाएर पठाएका । विदेशी भूमिमा रहेर वर्षौैवर्षसम्मको कमाई घर परिवार भन्दै पठाउँदै गरेका र घर आउँदा न श्रीमती न सम्पत्ति भएका घटनाहरू कयौं घटेका छन् यसर्थ उनी सचेत कथाकार हुन् । यसरी उनले विषयगत विविधता भएका कथाहरू समावेश गरेर कृति अध्ययनका क्रममा रुचिकर लाग्ने बनाएका छन् ।पीडितका कथामा गाउँ घरमा देखिएका विकृति र विसङ्गत पक्षको चिरफार मात्र गरिएको छैन । केही कथामा युद्धकालिन परिवेशको चित्रण पाइन्छ । उनको  अनुत्तरित प्रश्नहरू कथाले देशले भोगेर आएको द्वन्द्वको परिवेशको प्रतिनिधित्व गरेको पाइन्छ । कथामा स्कुलमा पढाउने गरेको शिक्षकलाई सेनाले अपहरण शैलीमा लगेको सन्दर्भ आएको छ । सोही कारण उनको भाइ पनि माओवादी सेनामा लागेको छ । आफैले जन्माएका बाबुले आफ्नै छोरो घरमा नआइदिए हुन्थ्यो भन्ने अपेक्षा गरेका छन् । एकातर्फ द्वन्द्वको पीडा छ, अर्कोतर्फ बालसुलभपन पनि देखाइएको छ । पछिल्लो समय देशमा सहीदको संख्या मौलाउँदै गएको छ ।
 सानो नाबालकले सोधेको छ ः बा, बा ! सहीद भनेको को हो ? (पृ.३२) त्यही मौलाएको सहीद भन्ने शब्दको जवाफ दिने सन्दर्भ निकै कारुणिकता व्यक्त भएको छ । पीडित आफ्नो कथा सङ्ग्रहमा कतै निडर कथाकार बनेर निस्केका छन् । कतै सामाजिक यथार्थवादी कथाकार बनेर प्रस्तुत भएका छन् । उनी यो गाउँ समाजमा असल पात्र नपाएर चिन्तित भएका छन् । पात्रको खोजी कथाले त्यही भाव व्यक्त गरेको छ । कथा लेख्नका लागि पात्र खोज्दै हिडेका कथाकारले असल पात्र नपाएर दिक्क परेका छन् । उनी धेरै हिड्छन् खोज्छन्, दिमाख लगाउँछन् तर पात्र पाउँदैनन् त्यो पीडा प्रस्तुत कथामा व्यक्त भएको छ । किन भने समाजमा असल आचरण र चरित्र भएका पात्रहरू नै पाइदैनन् ।  भन्ने सन्देश कथाले दिएको छ । कृतिमा समावेश गरिएका खोसिएको खुशी र यात्रा जस्ता कथाहरू पनि उत्कृष्ट सामाजिक सन्देशमुलक कथा हुन् । उनका कथामा प्रेम कहानीहरू पनि आएका छन् । जोसँग प्रेम गर्न चाहेको छ त्यो व्यक्तिसँग प्रेमसम्बन्ध प्रगाढ हुन सकेन भने जिन्दगी सबल हुँदैन भन्ने सन्देश उनका कथामा पाइन्छ । जीवनका हरेक पक्षले सकरात्मक प्रेमको अपेक्षा गरेको हुन्छ भनेर धेरै जसो कथामा प्रेमका सन्दर्भहरू आएका छन् । जिन्दगीको हरेक यात्रामा असल साथी भएन भने यात्रा सफल हुँदैन भन्ने सन्देश उनका कथामा पाइन्छ । जसरी उनका कथामा द्वन्द्वकालिन पीडाको चित्कार समावेश गरिएको छ । जसरी सामाजिक यथार्थवाद प्रस्तुत गरिएको छ त्यसैगरी कथाका माध्यमबाट व्यङ्ग्य पनि प्रहार गरिएको छ । कृतिका कुकुर र खिस्रिक्क दुवै कथाहरू व्यङ्ग्यप्रधान कथाहरू हुन् । जन्मदिने बाबुआमा भन्दा कुकुरको माया धेरै भएका छोराछोरीका कारण अधिकांश बाबुआमाले दुःख पाएका छन् भन्ने सन्देश उनको कुकुर कथामा पाइन्छ । यसैगरी उनको पछिल्लो समय लेखिएको कथा हो सन्तमाया, छयाङ र भूकम्प । १९९० सालपछिको ठूलो विनाशकारी भूकम्पका कारण पीडित बनेका लाखौं नेपालीको पीडाको कथा प्रस्तुत कथामा समावेश रहेको छ । जे जस्तो परे तापनि जीवन जिउनु छ । जिउनका लागि सङ्घर्ष गर्नुपर्छ भन्ने खालको सन्देश प्रस्तुत कथाले दिएको छ ।  कथाका सीमाहरू ः समग्रमा कृतिका राम्रा नराम्रा पक्ष सबैका हुन्छन् । आफूलाई जुन सुकै विषयमा विज्ञता भएको ठानेता पनि, सचेत हुँदाहुँदै  सामान्य त्रुटि भइनै हाल्छन् । यस्तै पीडितका कृतिमा झिनामसिना केही समस्याहरू देखिएका छन् । उनका कथाहरूमा कहीँकहीँ वाक्य गठनमा त्रुटि र अस्पष्टता देखिन्छ । जस्तो ‘भुइँचालोमा परेर खुट्टा गुमाएकी शकुन्तलाकी छोरी आमासँग सुत्छे, स्टीलको अर्को खुट्टा कहिले लाउने आमा ?’ (पृ. ९४) । पात्रविधानमा केही समस्या देखिएका छन् । यो समस्या उनको आख्यान विधाको पहिलो कृति भएकाले हुनसक्छ । उनका अधिकांश कथाहरूमा संवाद र द्वन्द्व पक्षको कमी रहेको छ । कथाहरू संवादमा भन्दा वर्णन पक्षमा बढी केन्द्रीत रहेका छन् । जसबाट कथाहरू निबन्धात्मक पाराका बन्न पुगेका छन् ।  पीडितका कथामा प्रयोग गरिएको भाषाशैली सरल, सहज र सरस रहेको छ । सामान्य र वौद्धिक दुवै पाठकले एकै बसाइमा पढेर कथाको सारतत्व ग्रहण गर्न सक्ने भाषाको प्रयोग नै उनका कथाको सवल पक्ष हो । उनका कथाहरू पढेपछि छोड्न मन लाग्दैन । ग्रामीण भेकको चरित्र चित्रण उनका कथामा पाइन्छ । पीडितका कथाका विषयवस्तु आफू जन्मेको, हुर्केको, बाँचेको र हासखेल गरेको परिवेशमा घुमेका छन् त्यसैले कथामा आञ्चलिकताको प्रभाव देखिन्छ । केही कथाहरू पढ्दा संस्मरण जस्ता लाग्ने संस्मरणात्मक शैलीको प्रयोग कथामा भएको पाइन्छ । उनका कथामा कताकति आलङ्कारिक भाषाको पनि सवल प्रयोग छ यो उनको सवल पक्ष हो । यस्तै उनी व्यङ्ग्यवादी कथाकारका रुपमा पनि प्रस्तुत भएका छन् । कवि मन भएकाले नै हुनुपर्छ कतै कथामा कविता पनि प्रस्तुत गरेका छन् । यसले उनको काव्यप्रवृत्तिलाई सङ्केत गरेको छ । पहिलो पटक प्रस्तुत कृति पढ्नेहरूलाई उनको बहुआयामिकताबारे प्रष्टयाउनका लागि सघाएको छ । अध्ययनका क्रममा कुनै उल्झन फेला पर्दैन । सहजै अनुभुत गर्न सकिने, आफ्नै गाउँ टोलमा भइरहेका, हुँदै आएका र भइरहने घटनाहरूको नालिवेली नै उनका कथाका विषयवस्तु बनेकोले कथाहरू सरल रहेका छन् । कथाकार पीडितको सवल पक्ष भनेको कथा लेखनमा देखिएको निडरपन हो । यसबाट उनको विषयवस्तुलाई प्रस्तुत गर्न सक्ने सामथ्र्यको लेखाजोखा गर्न सकिन्छ । उनका कथामा चाकडी, चाप्लुसी र ज्यूहजुरको पुकार नगरीे आफूलाई निडर कथाकारका रुपमा प्रस्तुत गरेका छन् । उनका कथामा जीवन भोगाइका परिस्थितिहरू आएका छन् । देशको वर्तमान परिवेश, शिक्षा, स्वास्थ्य र रोजगारीदेखि लिएर विविध विषयमा देखिएका समस्याहरूलाई छताछुल्ल पारिएको छ । नातावाद र कृपावादले गाँजेको समाजको चित्रण गरिएको छ । देशमा मौलाएको बेरोजगारी र आर्थिक कठिनाइले जनजीवनमा पारेको प्रभावलाई व्यक्त गरिएको छ । युवा विदेश पलायन भएर स्वदेश रित्तिएको पीडा व्यक्त गरिएको छ । देशमा राजनीतिले पारेको नकरात्मक प्रभावको प्रस्तुति, राष्टूवादी चेतना र आशावादी दृष्टिकोण नै उनका प्रवृत्तिगत विशेषता हुन् । यसर्थ कथाकार टेकनाथ पीडित सबल कथाकार हुन् भन्न सकिन्छ । 
सन्दर्भ सूचीः
प्रस्तुत समालोचना तयार पार्न सहयोग लिइएका सम्पूर्ण पुस्तकहरू ।
पीडित, टेकनाथ ( २०७२) यात्रा,  पोखरा ः श्रीमती इन्द्रा पोखरेल ।

Post a Comment

 
Top